काठमाडौं, मंसिर ८ (नागरिक)– बिनोद भण्डारीले अन्तिम बलमा छक्का प्रहार गरेपछि नेपालले एसीसी ट्वान्टी - २० कपमा कुवेतलाई बल आउटमा पराजित गरेको छ। नेपालले बल आउटमा कुवेतलाई ३-२ ले पराजित गरेको हो। बल आउटमा नेपालका लागि दीपेन्द्र चौधरी, कप्तान पारस खड्का र शक्ति गौचनले स्टम्प हिट गरेका थिए।
तर पूर्वकप्तान विनोद दास र सञ्जन रेग्मीको निशाना चुकेको थियो। १ सय २४ रनको लक्ष्य पाएको नेपालले सात विकेट गुमाई एक सय २३ रन मात्र बनाउन सकेपछि खेल टाइ भएको थियो। नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका भण्डारीले अन्तिम बलमा छक्का प्रहार गरेपछि नेपालले खेल टाइ बनाएको थियो। नेपालका लागि महबुब आलामले सर्वाधिक ३२ रन बनाएका थिए। त्यस्तै दीपेन्द्र १६, पारस १४, ज्ञानेन्द्र मल्ल १०, शरद भेषाबकर १, विनोद दास ६ र वसन्त रेग्मी १२ रन बनाइ आउट भएका थिए। महेश क्षेत्री ५ रनमा अविजित रहे।
यस अघि टस जितेर ब्याटिङ गरेको कुवेत १९.१ ओभरमा १ सय २३ रनमा सीमित भएको थियो। युएईको अबुदाबीस्थित शेख जायेद रङ्गशालामा कुवेतले ५ ओभरमा ५१ रन जोड्दै राम्रो सुरुआत् गरे पनि नेपाली बलरहरु त्यसपछि हाबी भएका थिए। काम चलाउ बलर दीपेन्द्र चौधरीले ४ विकेट लिँदै कुवेत इनिङको नाटकिय पतन गराएका थिए। उनले सो क्रममा ३ ओभरमा ११ रन मात्र खर्चेका थिए।
त्यस्तै वसन्त रेग्मीले २ तथा सञ्जम रेग्मी, महबुब आलम र विनोद दासले १–१ विकेटले लिएका थिए। नेपाल पहिलो खेलमा आइतबार मलेसियासँग ६ विकेटले पराजित भएका थियो।
source:nagariknews