दाहाल फर्किए, कोइराला आइतबार फर्कने
काठमाडौँ, मंसिर ३ (नागरिक)- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अप्राकृतिक रूपमा बनेको वर्तमान गठबन्धनको सरकार छिट्टै भंग हुने दाबी गरेका छन्।
उपचारका लागि सिंगापुरमा रहेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँगको राजनीतिक भेट गरी बुधबार स्वदेश फर्केका दाहालले प्राकृतिक रूपमा नयाँ सत्ता गठबन्धन हुने बताए।
राजनीतिक गतिरोध अन्त गर्ने कोइरालामा आत्मविश्वास देखिएको उनले बताए। दोस्रो चरण आन्दोलनको अन्तसँगै मंसिर ५ गेतसम्म दिएको अल्टिमेटमभित्रै सहमतिका लागि प्रयास गरिने उनले बताए।
'अहिले अप्राकृतिक, कृत्रिम गठबन्धन हो। यो गठबन्धनको खेल छिट्टै भंग हुन्छ', उनले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग भने- 'स्वभाविक रूपमा प्राकृतिक रूपमा नयाँ गठबन्धन हुन्छ। केही दिनपछि हुन्छ।'
राष्ट्रपतिको कदमलाई बीचको बाटो खोजेर समाधान गर्नेमा कोइराला उत्साहित भएको उनले बताए। कोइराला आइतबार स्वदेश फर्किएपछि वृस्तृत आन्तरिक छलफल गरेर राजनीतिक गतिरोध अन्त गर्ने दाहालले बताए।
राष्ट्रपतिलाई अपजस नहुने गरी सहमति खोज्न कोइराला सहमत भएको उनले बताए। 'राष्ट्रपतिलाई अपजस नआउने गरी कहीँ न कहीँ गल्ति भएको भन्ने भाव झल्किने गरी मध्यमार्ग आओस् भन्ने छ', दाहालले भने।
नेपालविज्ञ भारतीय प्राध्यापक एसडी मुनीको पहलमा कोइराला-दाहालबीच सिंगापुरमा राजनीतिक भेटघाट भएको हो। 'पार्टीको आन्तरिक भेटघाट'का लागि भन्दै दाहाल सोमबारे पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख कृष्णबहादुर महारासँग सिंगापुर प्रस्थान गरेका थिए।
source:nagariknews