प्रधानमन्त्रीको टेलिफोन दाहालले उठाएनन् :

काठमाडौ, २०६६ मंसिर १ - राजनीतिक गतिरोध अन्त्यको उपाय खोज्न प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार बिहान गरेको टेलिफोन माओवादी अध्यक्ष पुष्पकमल दाहालले उठाएनन् ।
सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमलाई लिएर लगातार संसद अवरुद्ध गरेपछि निकासका लागि सभामुख सुवासचन्द्र नेम्वाङसँग छलफल चलिरहेका बेला प्रधानमन्त्रीले दाहाललाई टेलिफोन गरेका थिए । 'सभामुख पनि साथै रहेका बेला प्रधानमन्त्रीले प्रचण्डजीलाई फोन गर्नुभएको थियो' प्रधानमन्त्रीका प्रेश सल्लाहकार विष्णु रिजालले कान्तिपुरलाई भने, 'प्रचण्डका सहयोगीले 'कलब्याक' गर्ने भनेका थिए तर फोन आएन ।'
माओवादीका कारण बजेट पारित हुन नसकेपछि समस्या सुल्झाउनेबारे छलफल गर्न सभामुख नेम्वाङ बिहान बालुवाटार गएका थिए । छलफलमा सभामुखले सहमतिका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

source:kantipur