काठमाडौं, २ मंसिर भ्रष्टाचारमा नेपालले रेकर्ड ब्रेक गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले जर्मनीको बर्लिनमा मंगलबार सार्वजनिक गरेको सन् २००९ को वाषिर्क प्रतिवेदनअनुसार नेपाल इतिहासमै सबैभन्दा भ्रष्ट भएको छ ।
टिआईले तयार पारेको एक सय ८० देशको सूचीमा नेपाल एक सय ४३ औँ स्थानमा छ । गतवर्ष एक सय २१ औँ स्थानमा रहेको नेपालमा भ्रष्टाचार बढेकाले २२ स्थान तल झरेको छ ।
सन् २००९ को प्रतिवेदनअनुसार सबैभन्दा कम भ्रष्टाचार भएको न्युजिल्यान्ड एक नम्बरमा छ भने सबैभन्दा बढी भ्रष्टाचार भएको सोमालिया एक सय ८० औँ नम्बरमा छ ।
यसपालि सबैभन्दा कम भ्रष्टाचार हुने देशका रूपमा दर्ज भएको न्युजिल्यान्डले कुल १० मा ९.४ अंक पाएको छ भने नेपालले २.३ मात्र । नेपालको यति खराब रेकर्ड राजाको शासनकालमा पनि बनेको थिएन । राजाको सक्रिय शासनकालमा नेपालले २००५ र २००६ मा लगातार २.५ अंक पाएको थियो । लोकतन्त्र आएपछिको पहिलो वर्ष सन् २००७ मा पनि नेपालले २.५ अंक पाएको थियो भने गतवर्ष स्थिति सुधारेर २.८ अंक पाएको थियो । तर, यसपालि भने स्थिति सबैभन्दा बिगारेर नेपालले २.३ मात्रै पाएको छ ।गतवर्षसम्म नेपाल दक्षिण एसियामा पाँचौँ नम्बरमा थियो । तर, यसपालि बंगलादेश र पाकिस्तानले समेत सुधार गरेर नेपालभन्दा माथिल्लो स्थान बनाएका छन् । अब दक्षिण एसियामा अफगानिस्तानभन्दा मात्र नेपालको अवस्था राम्रो छ ।यसपालि दक्षिण एसियाका सबैभन्दा राम्रो भुटान ४९ औँ, भारत ८४ औँ, श्रीलंका ९७ औँ र पाकिस्तान तथा बंगलादेश एक सय ३९ औँ स्थानमा छन् । १.३ अंकका साथ अफगानिस्तान एक सय ७९ औँ स्थानमा छ ।
शाहवंशीय राजतन्त्र फालेर गणतन्त्र स्थापना भए पनि नेपालमा भ्रष्टाचार भने कम हुन नसकेको ठहर टिआईले गरेको छ । 'गणतन्त्र स्थापना भयो, देश तुलनात्मक रूपले शान्त पनि भएको छ, तर भ्रष्टाचारको चुनौती भने नेपालमा थप बढेको छ,' प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार बंगलादेश, जापान, टोंगा एन्ड बनौटुले यसवर्ष भ्रष्टाचार कम गरेर धेरै राम्रो उदाहरण बनाएका छन् । भ्रष्टाचार बढाएर रेकर्ड बिगार्नेमा नेपालका अतिरिक्त मलेसिया, द माल्दिभ्स र अफगानिस्तान छन् । टिआईले विभिन्न १३ वटा शीर्षकमा सर्भे गरेर प्रतिवेदन बनाएको जनाएको छ ।
र्यांक देश अंक :
१. न्युजिल्यान्ड ९.४
२. डेनमार्क ९.३
३. सिंगापुर ९.२
४. स्विडेन ९.२
५. स्विट्जरल्यान्ड ९.०
६. फिनल्यान्ड ८.९
७. नेदरल्यान्ड ८.९
८. अस्ट्रेलिया ८.७
९. क्यानडा ८.७
१०. आइल्यान्ड ८.७
११. नर्वे ८.६