माओवादीले जारी राखेको सदन अवरोध, स्वायत्त गणराज्य घोषणा कार्यक्रम र खाद्यान्न र जमिन कब्जाप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ। अमेरिकी राजदूतवासका कार्यवाहक राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री माधवकुमार नेपालसितको भेटमा अमेरिकाको यस्तो चिन्ता जाहेर गरेका हुन्।
शुक्रबार भएको भेटबारे शनिबार दूतावासद्वारा जारी विज्ञप्तिमा माओवादीको गतिविधिले शान्ति प्रक्रियालाई कमजोर पार्ने उल्लेख छ।भेटका क्रममा कार्यवाहक राजदूतले नेपाल सरकार तथा यहाँका राजनैतिक नेतृत्वले सहमतिका लागि सकारात्मक र रचनात्मक प्रयास गर्नुपर्नेमा जोड दिएको वक्तव्यमा उल्लेख छ।
बेनेटद्वारा चिन्ता:
यसैबीच राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तका नेपाल प्रतिनिधि रिचर्ड बेनेटले बाराका पत्रकार वीरेन्द्र शाहको हत्याका आरोपी अझै एकीकृत माओवादीको जिम्मेवार पदमा आसिन रहेकोप्रति चिन्ता व्यक्त गरेका छन्।
माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरासँग शुक्रबार भेटेर बेनेटले चिन्ता व्यक्त गरेका हुन्। हत्याका प्रमुख आरोपी लालबहादुर चौधरी, कुन्दन फौजदारलगायतलाई पार्टीले बारा जिल्ला समिति सचिवालय सदस्यमा राखेको खुलासापछि बेनेटको प्रतिक्रिया आएको हो।'मैले पहिले पनि एकीकृत माओवादी नेतृत्वसमक्ष पत्रकार शाहको मुद्दा पटकपटक उठाइसकेको छु, मलाई आरोपीहरू पार्टीबाट निस्कासित गरिसकेको बताइएको थियो,' बेनेटले महरासँग भनेका छन्, 'तर, उनीहरूलाई पार्टीमा पदोन्नती गरिएको खबरले आश्चर्यमा परेको छु।'
उच्चायुक्तको नेपाल कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिअनुसार महराले बेनेटलाई यस विषयमा पार्टी नेतृत्वले सोधपुछ गर्ने बताएका थिए। माओवादीको यस्तो व्यवहारप्रति नेपाल पत्रकार महासंघले भत्सर्ना गरेको छ।
source:nagariknews