विदुर (नुवाकोट), मंसिर २३- नुवाकोटमा मङ्गलबार मन्त्री भन्दै देखाएको कालो झण्डा अर्कै नेतालाई परेपछि माओवादीका कार्यकर्ता आफैं लाजले भुतुक्क भए। नेपाली कङ्ग्रेसको नेपाल सांस्कृतिक सङ्घको सांस्कृतिक सभामा अतिथि बन्न आएका नेता डा. रामशरण महतलाई कालो झण्डा देखाएपछि उनीहरु खिन्न भएका हुन।
सङ्घको सांस्कृतिक सभामा अतिथिका रुपमा ऊर्जा मन्त्री डा. प्रकाशशरण महत आउँदै गरेको खबर पाएपछि ७० जनाको सङ्ख्यामा विदुर चोकमा हातमा कालोझण्डासहित उपस्थित माओवादी कार्यकर्ताले प्रहरीको सुरक्षासाथ आएका पूर्व मन्त्री तथा कङ्ग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतलाई प्रकाशशरण भन्ठानेर कालो झण्डा देखाएका थिए।
'ऊर्जा मन्त्री डा. महत आएको ठानेर कालो झण्डा देखाइयो तर दाइ महत पो परेछन्'- कालो झण्डा देखाउने कार्यमा संलग्न गणेश अधिकारीको प्रतिक्रिया थियो।
source:nagariknews