लन्डन, २०६६ मंसिर २६ - कलेजबाट ठगिएका, हेपिएका र काम नपाएर सास्ती खेपिरहेका नेपाली विद्यार्थीसामु महँगो विश्वविद्यालय पढ्ने नेपालीकै भने बेग्लै सान छ । काम पार्टटाइम, हैसियत विद्यार्थी नै हो, तर तिनलाई साथीभाइमाझ 'युनी' विद्यार्थी भनेर परिचय दिँदा गर्व लाग्छ । कारण, त्यहाँको शिक्षा सबै नेपालीको पहुँचभित्र पर्दैन ।
लन्डन साउथ ब्याङ युनिभर्सिटीमा 'फुड, सेफ्टी एन्ड कन्ट्रोल' विषयमा मास्टर्स गरिरहेका तीर्थ कँडेल विद्यार्थी हैसियतमा पनि सानले बाँचेका छन् । नेपाल, जर्मनी हुँदै गतिलो शिक्षाका लागि लन्डन आइपुगेका उनलाई यहाँ शैक्षिक संस्थाकै कारण कहिल्यै विचलित हुनु परेन । 'फराकिला कक्षा कोठा, पर्याप्त लाइब्रेरी, मिलनसार सहपाठी र अनुभवी लेक्चररहरूको पढाउने शैलीले मलाई वाषिर्क ९ हजार पाउन्ड तिर्न कुनै पछुतो छैन,' कँडेल भन्छन्- 'कामभन्दा पढाइ मेरो प्राथमिकता छ ।'
थेम्स भ्याली युनिभर्सिटी, लन्डनमा वाषिर्क ७ हजार ८ सय पाउन्ड तिरेर हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेकी अस्मिता ताम्राकारका सुरुका करिब दस महिना मज्जाले बिते । पकेट खर्चका लागि साताको २० घन्टा कामबाहेक बाँकी समय उनी अध्ययनमै बिताउँछिन् । 'एसाइनमेन्ट' बुझाउनैपर्ने, ३ चोटि गयल भए 'वार्निङ लेटर' को सामना गरेर अन्तिममा निष्कासित नै हुनुपर्ने झन्झटबाट जोगिन उनको एकमात्र विकल्प छ- पढाइ ।
'कमाउने लोभमा काममा लाग्नेबित्तिकै पढाइ पिकअप गर्न नसकिने भएकाले घरबाटै पैसा मगाएर फि तिरिरहेकी छु,' ताम्राकार भन्छिन्, 'घरको आर्थिक अवस्था कम हुनेले त आँट गर्न पनि गार्हो रैछ ।' कक्षाकोठामा बढीमा १०/१५ जनामात्र हुने र त्योमाथि विशाल पुस्तकालय एवं लेक्चररहरूको पढाउने शैलीले उनलाई अध्ययनतर्फ प्रेरित गरिरहेको छ ।
भर्खर युके ओइरिएका नयाँ विद्यार्थीले कलेजमा भोगिरहेका समस्या हुन्- कलेजभर दुई-तीनवटा मात्र कोठा भएर विद्यार्थीको ठेलमठेल, उभिएर पढ्नुपर्ने बाध्यता, गतिला र विदेशी लेक्चररको नाकमुखै नदेखिनु, पुस्तकालय नहुनु, क्यान्टिन अभाव र सातामा दुई दिन हाजिर मात्र गरे सुख पाइनु । यस्ता सामान्य कलेजका अगाडि हजारौं पाउन्ड खन्याउनुपर्ने विश्वविद्यालय पढ्ने नेपाली विद्यार्थीको भने तामझाम बेग्लै छ ।
'हाम्रोमा चार तलाको लाइब्रेरी मात्र छ, कम्प्युटर ल्याबको बेग्लै भवन छ, डेटाबेसका लागि इ-लर्निङ पर्याप्त छ', सन् २००४ सेसनमा 'बीए इन बिजनेस स्टडिज' सुरु गरी हाल 'क्वान्टिटेटिभ फाइनान्स' मा मास्टर्स गरिरहेका साउथ ब्याङ युनिभर्सिटीका सरोज ताम्राकार भन्छन्- 'आवश्यक सुविधाबाट हामी कहिल्यै विमुख हुनुपर्दैन तर ग्रहण गर्न सक्नु/नसक्नु विद्यार्थीमा भर पर्छ ।' ५ वर्षमा झन्डै ५० हजार पाउन्ड लगानी गर्नुको पछाडि ताम्राकारको एउटै स्वार्थ छ- गुणस्तरीय शिक्षा । बीएमा दुई सय प्लस विद्यार्थीमध्ये सर्वोत्कृष्ट नतिजा -टपर) ल्याउन सफल उनी भन्छन्- 'यहाँ हुने धेरै प्राक्टिकल, एसाइनमेन्ट र पि्रजेन्टेसनले राम्रो पढ्न सकिन्छ जसबाट गन्तव्य सुनिश्चित छ, इज्जत छ ।'
अन्य विश्वविद्यालयमा पनि भौतिक पूर्वाधार सन्तोषजनक छन्, शैक्षिक गुणस्तरमा कुनै शंका छैन । 'हाम्रोमा कम्प्युटर ल्याबमात्र तीनवटा छन्, लाइब्रेरी, इ-लाइब्रेरी व्यवस्था छ । नेपाली विद्यार्थीका लागि भनेर क्यान्टिनमा नेपाली नै सेफ छन् । विद्यार्थी बढीमा दसजना मात्र हुने भएकाले पढाएको मज्जाले बुझिन्छ । स्टुडेन्ट सर्भिसेस् डिपार्टमेन्टले विद्यार्थीका कल्याणकारी काममा सधैँ चासो दिने रैछ', तीन सय वर्ष पुरानो ऐतिहासिक भवनमा अवस्थित निजी विश्वविद्यालय लिमकोकविङमा एमबीए पढ्न १७ सेप्टेम्बरमा युके आएका तोयाबहादुर कार्की भन्छन्- 'नेपालमा बढी थेयुरिटिकल हुन्थ्यो, यहाँ त्यो नहुने, शैली फरक पाएँ ।'
उक्त विश्वविद्यालयबाट डिग्री पास गरेपछि हाल ८ हजार ५ सय पाउण्ड तिरेर त्यहीं एमबीए गरिरहेकी जोसिका क्षेत्री पनि पढाइबाट सन्तुष्ट छिन् । 'नेपालमा रटाएर पढाइन्थ्यो तर यहाँ प्राक्टिकल धेरै भएकाले बुझ्न सहज लाग्यो', उनी भन्छिन्- 'यहाँका प्राध्यापकहरू पनि धेरै सहयोगी र मिलनसार पाएँ ।' बेलायती शिक्षाको बेग्लै प्रतिष्ठा बुझेकी जोसिका एमबीए सकेपछि पनि नेपाल जाने सुरमा भने छैनन् । 'देशको अस्थिर अवस्थाले जान मनै लाग्दैन, नेपालमा त काम पाउन पनि मुश्किल । बरु योग्यताको कदर यहीं हुन्छ ।'
पढाइ नियमित, गुणस्तर राम्रोशुल्क महँगोमात्र होइन, अध्ययनको गुणस्तर राम्रो हुने भएर पनि पढ्न खोज्नेहरू विश्वविद्यालय धाउँछन् । प्राध्यापनका क्षेत्रमा करिब १६ वर्ष बिताइसकेका लिड्स विश्वविद्यालय, युकेमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी -ओबिई) रिसर्च इन्टेन्सिभ, एडमसन क्राइटेरिया हाइ, फाइनान्सियल बेस 'सोलिड' हुने भएकाले 'फाइनान्सियल फिचर' मा प्राध्यापकले चिन्ता लिनु नपर्दा विद्यार्थी लाभान्वित हुने बताउँछन् ।
चारवटा विश्वविद्यालयमा प्राध्यापन गरिसकेका सुवेदीका अनुसार यहाँको शिक्षा गुणस्तरीय हुनुमा लेक्चरका साथसाथै ट्युटोरियल -सानो समूहमा पढाइने) व्यवस्था, विशाल लाइब्रेरी, विभिन्न सभा समारोह, गोष्ठी वा समसामयिक विषयमा 'एक्स्टर्नल स्पिकर' बाट हुने प्रवचन प्रमुख कारण छ ।
'समय दिन सक्ने हाइल्ली मोटिभेटेड प्राध्यापक, राजनीति नहुने, भाइस चान्सलर, हेड अफ डिपार्ट, डिन सबै खुल्ला प्रतियोगिताबाट छनोट हुने, आवश्यक इलेक्ट्रोनिक डेटाबेस सब्स्क्राइभ गर्न सकिने व्यवस्थाले पनि विद्यार्थी अध्ययनबाट लाभान्वित र उत्साहित हुन्छन्,' सुवेदीको अनुभव छ ।
आफू कक्षा जानुपूर्व तयारीका लागि लाइब्रेरीमा दिनभर समय व्यतित गर्ने डा. सुवेदी विश्वविद्यालयमा प्राध्यापकहरूको पनि नियमित मूल्यांकन हुने बताउँछन् । 'प्राध्यापकले वर्षभर जति जर्नल प्रकाशन गर्न सक्यो, उसको त्यो आधारले पदोन्नति र मूल्यांकन गरिन्छ,' उनी भन्छन् ।
यहाँका विश्वविद्यालयमा पढ्ने वातावरण निकै हुन्छ । नेपालजस्तो भाडा विवाद, शुल्क विवाद वा डिन-उपकुलपतिको नियुक्ति प्रकरणमा हडताल हुने परम्परा छैन यहाँ । 'यहाँ विद्यार्थी युनियन छ तर उनीहरूको हडताल कहिल्यै देखिएन । लेक्चरर व्यस्त छन्, तर तिनले कहिल्यै कोर्स नसकेको भेटिएन,' कँडेल भन्छन्- 'फेल भएँ भनेर एकै पेपरमा अल्झेर बस्न पाइन्न, पास हुन नसके सबै पेपर दोहोर्याउनुपर्छ ।'
आफू पढेको विश्वविद्यालयमा हाजिरी नियमित हुनुपर्ने, आइडी कार्डले मात्र प्रवेश मिल्ने र त्यसबाट विद्यार्थीको उपस्थिति कहिले, कुन बेला भयो सबै रेकर्ड हुने भएकाले पनि कलेजजस्तो अर्काले सही धस्काइदिन नमिल्ने कँडेल सुनाउँछन् ।
पछिल्लो समयझैं खाडीमा दुई वर्ष श्रम गरेर 'कमाउन' इन्डियन सर्टिफिकेटबाट यता छिरेका वा अंग्रेजी बोल्नै नजान्ने विद्याथ्र्ाीलाई कलेजले लिए जसरी विश्वविद्यालयमा भर्ना पाउन गार्हो छ । ३ वर्षअघि युके ब्रान्चका रूपमा सेन्ट्रल लन्डन पिकाडेलीमा स्थापित निजी विश्वविद्यालय 'लिमकोकविङ युनिभर्सिटी' का इन्टरनेसनल डेभलप्मेन्ट डाइरेक्टर अमोल गुरुङ भन्छन्- 'हाम्रोमा भर्ना हुन डिग्रीका लागि आईएलटिएस्मा ६ र मास्टर्सका लागि ६ दसमलव ५ स्कोर साथै प्लस् टु उत्तीर्ण अनिवार्य छ ।' आठ मुलुकमा ११ विश्वविद्यालय सञ्चालन गरिरहेको लिमकोकविङमा हाल १ सय ५० राष्ट्रका ३० हजार विद्यार्थी छन् । विश्वविद्यालय पढ्ने विद्यार्थीले कामको खोजीमा भौंतारिनु परेको अनुभव साँचेका छैनन् । राम्रो पढ्ने विद्यार्थीलाई 'युनी' ले नै रोजगारी दिने प्रचलन यहाँ छ । 'आएदेखि काम अभाव भएन तर अध्ययनकै लागि समय छुट्याउनु पर्दा धेरै अफर छुटे,' अनलाइन सपिङ विजनेस 'गिफ्ट आयो डट कम' चलाइरहेका ताम्राकार भन्छन् । लिमकोकविङले आफ्नै पुराना विद्यार्थीलाई रोजगारीका लागि प्राथमिकता दिने गरेको निर्देशक गुरुङ बताउँछन् । त्यसो त उनी आफैं त्यहीं विश्वविद्यालयका उत्पादन हुन् । त्यहीं काम पाएकी जोसिका भन्छिन्- 'मैले डिग्री सकेपछि यहीं काम पाएँ । राम्रो विश्वविद्यालय पढिसकेपछि काम नपाइने भन्ने हुँदोरहेनछ ।'
source:nagariknews