स्वीट्जरल्यान्डको नियोनमा शुक्रबार भएको 'ड्र' अनुसार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा इटालीका क्लबलाई गाह्रो हुने भएको छ । अन्तिम सोह्रमा इटालीका तीन क्लबले कठिन प्रतिद्वन्द्वी पाएको छन् । क्वाटरफाइनल प्रवेशका लागि एसी मिलानले म्यानचेस्टर युनाइटेडसँग खेल्नुपर्नेछ । त्यस्तै सिरि 'ए' च्याम्पियन इन्टरमिलानले चेल्सीको सामना गर्नेछ । फियोरेन्टिनाले जर्मन महारथी वायर्न म्युनिख प्रतिद्वन्द्वी पाएको छ । आर्सनलले पोर्टोको चुनौती बेहोर्नेछ । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले उपाधि रक्षाको यात्रामा जर्मन क्लब स्टुटगार्टलाई पन्छाउनु पर्नेछ । त्यस्तै रियल म्याडि्रडले लियोन र ओलम्पियकोसले बोर्डेसँग खेल्नेछन् । अन्तिम आठको स्थान सुरक्षित गर्न रुसी क्लब सिएसकेए मस्कोले स्पेनी सेभिललाई हराउनु पर्नेछ । सोही कार्यक्रममा भएको युरोपा लिगको 'ड्र' अनुसार उपाधिको बलियो दाबेदार लिभरपुलले उनिरेय उर्जिसेन र युभेन्ट्सले आयक्ससँग भिड्ने छन् । युरोपा लिगको नकआउट चरणमा ३२ क्लब खेल्नेछन् ।
source:kantipur