कैलाली घटनाबाट पाठ सिक्नुपर्छ :

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कैलालीको डुँडेझारीमा भएको घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन् । बिहीबार देखि शुरु भएको सुदूरपश्चिम महोत्सवको धनगढीमा बिहीबार उदघाटन गर्दै उनले उक्त घटनामा राजनीतिक दलहरु दोषी रहेको बताए । केन्द्रीयस्तरमा सहमतिको खोजी भइरहेको बेलामा भएको डुँडेझारी घटना दुखद भएकोले यसबाट पाठ सिक्दै अब यस्ता घटना दोहोरिन नदिनेतर्फ सबै सचेत हुनुपर्ने उनले उल्लेख गरे ।
सरकारको निर्देशन अनुसार काम गर्ने सुरक्षाकर्मीले आत्तिनुपर्ने कुनै कारण नभएको बताउँदै उनले आपू उक्त घटनामा कसैलाई पनि दोष लगाउने पक्षमा नरहेको बताए । उनले भने-'दोष कहीँ छ भने त्यो राजनीतिक दलहरुमा छ ।'
शान्त र सरल भाषामा प्रस्तुत भएका दाहालले बारम्वार संबिधान बनाउन र शान्ति प्रकृयालाई निस्कर्षमा पुर्‍याउनका लागि सहमतिको राजनीति अनिवार्य रहेकोमा जोड दिए । उनले राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास भईरहेको जनाए । एकातिरबाट संबिधान सभाको विघटन गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले जनतालाई सतर्क र चनाखो भएर खवरदारी खवरदारी गरिरहन आग्रह गरे । माओवादीले संबिधान बनाउन नदिएको आरोपको खण्डन गर्दै उनले भने-'हामी शान्ति प्रकृया , संबिधान निमार्ण र आर्थिक समृद्धीको लागि जहिले पनि प्रतिवद्ध छौं ।'हामी सम्भावना र चुनौतिको जटिल मोडमा छौ,' उनले भने- निष्कर्षमा पुग्न लागेको शान्ति प्रकृया पुनःदुर्घटनामा पर्न सक्ने भएकाले सबै सचेत रहनुपर्छ ।'
महोत्सवमा दाहाललाई २० किलोको मालाले स्वागत गरिएको थियो । आयोजक सस्था कैलाली उद्योग बाणिज्य संघले बर्षनी यस क्षेत्रमा समस्यालाई समटेर प्रमुख अतिथीलाई जति बुंदे माग पत्र प्रस्तुत गर्छन त्यतिकै किलोको माला प्रमुख अतिथीलाई लगाउने चलन समेत बसाएको छ । यसअघि २१ सुत्रीय माग सहित २१ किलोको माला प्रमुख अतिथीलाई लगाइन्थ्यो भने यस बर्ष २० वटा मात्रै माग राखिएछ । अप्टिकल फाइवरको माग पुरा भएकोले १ किलोको वजन घटेको आयोजक संस्थाका अध्यक्ष दिनेश भण्डारी बताए ।

source:kantipur