लन्डन, २०६६ मंसिर १७ - पाकिस्तानीद्वारा सञ्चालित लन्डनस्थित एक कलेज बन्द भएपछि त्यसमा अध्ययनरत करिब सय नेपाली विद्यार्थी बिचल्लीमा परेका छन् । कानुन उल्लंघन गरेको भन्दै 'सेकोस लन्डन कलेज' मा होम अफिसले ताला लगाइदिएपछि अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । यो कलेज सन् १९९८ मा स्थापना गरिएको थियो ।
बिचल्लीमा परेका विद्यार्थीहरू अर्को कलेज खोज्ने पिरलोले चिन्तित मात्र छैनन्, नयाँ कलेज भर्ना हुन फेरि भारी रकम (३ देखि ५ हजार पाउन्डसम्म) जुटाउनुपर्ने समस्याले विक्षिप्त छन् ।
'के गर्ने, कसो गर्ने, मैले त सोच्नै सकेको छैन,' कलेजमा 'ओटीएचएम डिप्लोमा' पढ्न सेप्टेम्बर १७ मा बेलायत आएकी अनुष्का (नाम परिवर्तन) ले भनिन्, 'सुरुमा कलेज व्यवस्थापनले समस्या हाम्रो हो, छिट्टै मिलाउँछौं भनेर आशा देखाइरह्यो तर अन्तिममा कलेजमा ताला नै लागेपछि हामी बिचल्लीमा पर्यौं ।' यूके बोर्डर एजेन्सी पदाधिकारीले अघिल्लो साता कलेजमा ताला लगाइसकेपछि 'विद्यार्थीलाई ६० दिनभित्र अर्को विकल्प खोज्न सुझाव दिँदै' सूचना टाँसेको उनले जनाइन् । नेपालमा वाषिर्क कलेज शुल्कबापत २५ सय पाउन्ड र बेलायत आइसकेपछि रजिस्ट्रेसन र परीक्षा शुल्क भनी थप २ सय ४० पाउन्ड तिरिसकेकी उनलाई अब बुझाएको रकम फिर्ता होला भन्ने आशा मरेको छ । 'कलेज ताला लागेपछि अब कसलाई कहाँ गएर समात्ने,' उनको दुःखेसो छ, 'काम अझै पाएको छैन, नेपालबाट ल्याएको दुई हजार डलरको ट्राभल चेक सकिएपछि थप २ सय पाउन्ड मगाइसकें, स्थिति दयनीय छ ।'
उनको अगस्ट पहिलो सातामै भिसा लागेको थियो । तर दुर्भाग्य, अगस्ट अन्तिम साता कलेज 'सस्पेन्ड' भयो भन्ने खबर आए पनि उनी यूके आइन् समस्या सुल्झिने आसमा । भन्छिन्, 'परिस्थितिले अहिले खान मन लाग्दैन, निद्रा लाग्दैन । यतिसम्म कि कहिलेकाहीं त दिमागले नै काम गर्न छोडे जस्तो लाग्छ ।'
होम अफिसले लाइसेन्स लिँदा गरेका सर्तहरू पूरा नगरे कलेजको 'स्पोन्सरसिप लाइसेन्स' खारेजी गरिदिन सक्छ । मापदण्डविपरीत कोटाभन्दा बढी विद्यार्थी झिकाएको, कलेजमा गैरकानुनी बसिरहेका शिक्षक राखेको, कक्षाकोठा र भौतिक पूर्वाधार अपर्याप्त, कर छलेको आदि कारण दर्शाउँदै होम अफिसले सो कलेज अगस्ट मध्यसाता नै निलम्बन (सस्पेन्ड) गरिदिएको विद्यार्थीको भनाइ छ ।
source:kantipur