जापानमा प्रशिक्षार्थी कामदार पठाउन सरकारले बनाएको निर्देशिका पारित भएपछि रोजगारीका लागि त्यहाँ जाने बाटो खुला भएको छ । निर्देशिका श्रम मन्त्रालयले सोमबार पारित गरेको हो ।
'आजदेखि कामदार पठाउन खुला भएको छ,' श्रममन्त्री मोहम्मद अफताव आलमले कान्तिपुरसँग भने, 'अब कामदार पठाउने अनुमति पाएका कम्पनीले माग ल्याएर पठाउन सक्छन् ।' उनका अनुसार अब ५० हजार रुपैयाँमा नेपाली कम्पनीमार्फत कामदार जापान जान सक्छन् । पठाउने कम्पनीलाई तिर्नुपर्ने ५० हजार रुपैयाँ प्रवर्द्धनबाहेक प्रशिक्षार्थी कामदारले कल्याणकारी कोषमा तिर्नुपर्ने रकमका साथै जानुअघि लिनुपर्ने दुईमहिने तालिम र बिमा शुल्क आफैंले बेहोर्नुपर्ने छ ।
अहिले कल्याणकारी कोषमा एउटा कामदारले १ हजार रुपैयाँ तिर्नुपर्छ । बिमा रकम १ हजार ६ सयको हाराहारीमा तिर्नुपर्छ । त्यस्तै तालिम शुल्क करिब १० हजार रुपैयाँ लाग्ने मन्त्रालयका एक अधिकारीले बताए । 'यस आधारमा जापान जानेले करिब ६३ हजार रुपैयाँ तिर्नुपर्छ,' उनले भने ।
व्यवसायीका अनुसार सरोकारवाला पक्षको सहयोग र राम्रो बजार प्रवर्द्धन भए पहिलो वर्ष नै १० हजारको हाराहारीमा कामदार पठाउन सकिन्छ । 'अहिले जापानले वाषिर्क ६०/७० हजार कामदार लैजान्छ,' वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलक रानाभाटले भने, 'त्यसमा ८० प्रतिशत चीनका छन् । जापानीहरू हाल नेपाली कामदार लैजान उत्साही छन् । राम्रो बजार प्रवर्द्धन भयो भने केही वर्षमै चीनको बजार लिन सकिन्छ ।'
'यसमा भिसा र टिकट शुल्क कामदार लैजाने कम्पनीले तिर्छ,' सहसचिव पूर्णचन्द्र भट्टराईले भने । कामदार लैजाने कम्पनीले नतिर्ने विशेष अवस्था आए कामदारले तिर्नुपर्ने निर्देशिकामा छ । यसबारे जापानस्थित नेपाली दूतावासलाई भने जानकारी गराउनुपर्ने छ ।
source:kantipur