मेची-महाकाली रेलमार्गको खाका तयार :

भारतीय परामर्शदाता कम्पनी राइट्स लिमिटेडले भारतको रेल सञ्जालमा जोड्ने गरी मेची-महाकाली रेलमार्गमा ६ अन्तरसीमा विन्दु निर्माणको प्रस्ताव राखेको छ। महत्वाकांक्षी रेल सञ्जालको सम्भाव्यता अध्ययन गरिरहेको राइट्सले मेची-महाकाली र काठमाडौं-पोखरा विद्युतीय रेलमार्गको प्राम्भक खाका तयार पारेको छ। यसबारेमा नेपाली अधिका र सरोकारवालालाई कम्पनीले कार्ययोजना प्रस्तुत गरेको छ। राइट्सका प्रतिनिधिले मेची-महाकाली रेलमार्गलाई भारतीय रेल सञ्जालमा जोड्न आधिकारिक प्रस्ताव गरिएको बताए। यो सञ्जालमा काकडभिट्टा-न्यु जलपाइगुडी, विराटनगर-जोगबनी, जनकपुर र बर्दिबास-जयनगर, वीरगञ्ज-रक्सौल, भैरहवा-सुनौली र नेपालगञ्ज-रुपैडिया अन्तरसीमा विन्दु छन्।
'हाम्रो सम्भाव्यता अध्ययनपछि दुवै देशका सीमामा रहेका छ-छ सहरलाई रेल सञ्जालमा जोड्न संस्थागत योजना बनाएका छौं,' राइट्सका प्रतिनिधि पिके गुप्ताले एक कार्यक्रममा भने। १ हजार १ सय किलोमिटरको मेची-महाकाली र १ सय ९० किमीको काठमाडौं-पोखरा मार्ग निर्माणबाट दुवै देशका अन्तरसीमा विन्दु संयोजन गर्न सहयोग गर्ने उनले बताए।
दुवै रेलमार्गको लम्बाइ करिब १ हजार ४ सय किमी हुनेछ। राइट्सले सुरुमा तीन वैकल्पिक सिमांकन अध्ययन गर्ने जनाएको छ। अध्ययन योजनाअनुसार आवागमन माग सर्वेक्षणमा आधारित रहेर एउटा उच्चतम सिमांकन सम्पन्न गरिने र त्यसपछि अन्तिममा छानिएको सिमांकन तयार गरिनेछ।'वातावरणीय, सामाजिक र भौगोलिक अध्ययन एकसाथ गर्छौं। यसबाट प्राप्त उपलब्धिलाई आवश्यक ठाउँमा सिमांकन परिवर्तनका लागि प्रयोग गर्न सक्छौं,' गुप्ताले भने।
राइट्सले सम्भाव्यता अध्ययनको उद्देश्यको खाकासमेत तयार गरेको छ। अध्ययनमा रेल प्रणालीका लागि सिमांकन, प्राम्भक इन्जिनियरिङ योजना, आवागमन सर्वेक्षण, वर्तमान भविष्यको यातायात माग, रेल सञ्चालन योजना बनाउने, विद्युतीकरण, संकेत र सञ्चार प्रणाली समेटिएका छन्।
त्यसै गरी अध्ययनमा मार्ग, पुल, उर्जा आपूर्ति व्यवस्थापन, आकासे विद्युतीय लाइन, संकेत र सञ्चार प्रणालीको अनुमानित लागत, प्राविधिक र आर्थिक अध्ययनको मूल्य निर्धारण, वातावरण र सामाजिक-आर्थिक प्रभाव मूल्यांकन तथा प्रभाव व्यवस्थापन योजनाका सुझाव समेटिएका छन्। अध्ययनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सहभागी छन्। गुप्ताका अनुसार अन्तर्राष्ट्रिय विज्ञले सिमांकन खाका इन्जिनियर, कोच र वागन विज्ञ, आर्थिक र वित्तीय विश्लेषक तथा टनेल इन्जिनियरको नेतृतव लिनेछन्। नेपाली विज्ञले यातायात इन्जिनियर, पुल संरचना इन्जिनियर, आर्थिक तथा वित्तीय विश्लेषक, सामाजिक विज्ञ, वृहत सर्वेक्षण इन्जिनियर, नक्शा विज्ञ र भूप्राविधिक इन्जिनियरका लागि सहनेतृत्व लिनेछन्।
अध्ययन गत नोभेम्बर १६ मा सुरु गरेर अन्तिम प्रतिवेदन सन् २०१० जुलाइ दोस्रो सातामा बुझाइनेछ। अध्ययन सुरु भएको एक महिनाभित्र प्राम्भक प्रतिवेदन तयार गर्ने लक्ष्य कम्पनीको छ। प्राम्भक प्रतिवेदन बुझाएको तीन महिनाभित्र मध्यावधि प्रतिवेदन बुझाइनेछ। सम्भाव्यता प्रतिवेदनको मस्यौदा आगामी जुन १५ सम्ममा तयार गरेर त्यसको एक महिनापछि अन्तिम प्रतिवेदन बुझाउने राइट्सले जनाएको छ।

source:nagariknews