
काठमाडौ, २०६६ मंसिर ३० - निहिता-शोभराजको प्रेम प्रसंगले साढे एक वर्ष पहिले धेरैको ध्यान तानेको थियो । विभिन्न ज्यान मुद्दा र तस्करीको अभियोगमा मुद्दा खेपिरहेका ६४ वर्षे फ्रान्सेली नागरिक चाल्र्स शोभराजले आफूभन्दा ४४ वर्ष कान्छी नेपाली युवती निहिता विश्वाससँग जेलभित्र गरेको भनिएको प्रेम विवाहको घटनाले धेरैको मनमा शंका उब्जाएको थियो, शोभराजको चालबाजीको रूपमा । त्यस्तै शंका निर्देशक नारायण पुरीलाई समेत परेछ । अहिले त्यही विषयलाई लिएर चलचित्र 'बादशाह' बनाउने भएका छन् । 'शोभराज र निहिताको केसले मलाई पनि स्ट्राइक गर्यो । यसबारेमा आएका विभिन्न समाचार र घटनाको अध्ययनपछि फिल्म बनाउन लागेको हुँ' आइतबार चलचित्रको शुभ मुहूर्तपछि पुरीले भने, 'तस्करका पनि प्रशंसक हुन सक्लान् तर सीमित लोभको भरमा कसैलाई फसाएको हुनसक्छ, त्यसको सत्यतथ्य पत्ता लगाउनु राज्यको दायित्व हो ।'ॐ नमः शिवाय फिल्मसको ब्यानरमा दीपक रमणको प्रस्तुति रहेको चलचित्र 'बादशाह' मा नायक राजेश हमाल अपराधीको रूपमा शीर्ष भूमिकामा देखिने छन् । सोही अवसरमा सुमन दाहालको निर्देशनमा बन्न लागेको अर्को चलचित्र 'मन परेपछि' को पनि शुभ मुहूर्त गरियो । भिन्न शैलीमा गरिएको मुहूर्तमा पहिलो क्ल्याप सटमा सडक बालबालिकालाई न्यायो कपडा र खाजा बाँडेर 'इन्ड क्ल्याप' गरिएको थियो । प्रेम कथामा आधारित 'मन परेपछि' चलचित्रमा निखिल उप्रेती, रमित ढुंगाना, अशोक शर्मासहित नव नायिका कल्पना शाही मुख्य भूमिका रहनेछन् ।
source.kantipur