दाहालको नेतृत्वमा राष्ट्रिय सरकार बन्न सक्दैन : सुशील :

नेपाली कङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सरकार बन्न नसक्ने दाबी गरेका छन्। वर्तमान सरकारमै आएर आफ्नो स्थान लिन पनि उनले माओवादीलाई आग्रह गरे।
प्रेस युनियन बाराद्वारा बुधबार कलैयामा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले भने- प्रचण्डको नेतृत्वमा राष्ट्रिय सरकार सम्भव छैन।'वर्तमान सरकार नै बहुमतको सरकार भएकाले यसैमा सबै सहभागी हुनु पर्छ', उनले भने- नेपालमा स्थिरता बढ्दै जाँदा छिमेकी मुलुकको चलखेल बढेको छ, नेपालीको समस्या नेपाली आफैंले समाधान गर्नुपर्छ।
परराष्ट्र मन्त्री सुजाता कोइरालालले सङ्घीयताको बारेमा दिएको अभिव्यक्ति व्यक्तिगत भएको बताउँदै त्यो पार्टीको धारणा नभएको उनले बताएका छन्। सुजाताले केही दिनअघि सङ्घीयताको विषयमा जनमत सङ्ग्रह गरिनुपर्ने धारणा राखेकी थिइन्।
एक अर्को प्रसङ्गमा कोइरालाले लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गर्न नहुने बताएका छन्। उनीहरुको रुचि र योग्यताअनुसार अन्य क्षेत्रमा लैजानुपर्ने उनको भनाई छ। व्यवस्थापनका लागि सिन्धुलीबाट सुरु भएको लडाकु व्यवस्थापनको अभियान सकरात्मक भएको पनि उनले सुनाए।

source:nagariknews