दाहाल फेरि अज्ञातस्थलतर्फ :

हङकङ,, २०६६ पुस २३ -माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेपाली जनसरोकार समाज द्वारा आयोजित करिब डेढ घण्टाको औपचारिक कार्यक्रममा उपस्थित जनसभालाई सम्बोधन गरे पछि अज्ञातस्थलतर्फ हानिएका छन् । जनसभापछि कार्यकर्ता प्रशिक्षण हुने भनिएपनि समयअभाव बताउँदै उक्त कार्यक्रम रद्द गरिएको हो । दाहाल विदेश विभाग प्रमुख कृष्णबहादुर महराका साथ बिहीबार बिहान ड्रागन एयरको उडानबाट ६ बजरे ४० मिनेटमा यहाँ आइपुगेका थिए । दाहाललाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट यहाँस्थित महाबाणिज्यदूतावासको गाडीले चिम सा चोयस्थित होटल होलिडे इनमा छाडेको थियो । केही समय आरामपछि करिब पौने नौ बजे दाहाल महराका साथ गैर आवासीय संघ (एनआरएन) र नेपाल चेम्बर अफ कमर्श हङकङले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भए । झण्डै एक घण्टाको उक्त कार्यक्रमपछि उनी जोर्डनस्थित सिनो चिर प्लाजामा आयोजित जनसभामा सहभागी भएका थिए । एयरपोर्ट देखि सभाहल सम्म दूतावासको सरकारी गाडी चढेका उनले कार्यक्रम सकिएपछि भने उक्त गाडी नचाहिने बताउँदै आयोजकले व्यवस्था गरेका गाडीमा अज्ञातस्थलतर्फ हानिएका हुन । यसभन्दा अघिल्लोभ्रमणमा उनले दूतावासको गाडी एयरपोर्टबाटै फर्काएका थिए । करिब चारमहिनाअघिको भ्रमणका बेला हङकङ विधान परिषद्का सभामुख लगायतका चिनियँा नेतालाई भेटेका उनले अहिले पनि यस्तै कुनै गोप्य वार्ता हुनसक्ने बताइएको छ । कान्तिपुरसँगको छोटो कुराकानीमा उनी आफैले आफ्नो भ्रमणको उद्देश्य कार्यकर्ता प्रशिक्षण नभएको बताए । 'हामी कार्यकर्ता प्रशिक्षणमा आएका होइनौं, दाहालले भने, 'चिनियाँ नेताहरु सँग हाम्रो कुनै गोप्य वार्ता पनि छैन् ।'

source: kantipur