टेप सार्वजनिक भएको भोलिपल्ट पेरिसडाँडाको केन्द्रीय समिति बैठकमा दाहालले 'मिडियाले आफ्नो भनाइ बंग्याएको' भन्दै स्पष्टिकरण दिए। तर, उनको भनाइ नसिद्धिँदै भट्टराईले भनिहाले, 'त्यहाँ जसरी प्रस्तुत भयो, त्यो मेरो ३० वर्षे करियर सिध्याउने चाल हो भन्ने बुझेको छु।'
'भारतले मलाई मात्र प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको होइन, अध्यक्षलाई पनि राखेको हो। त्यहाँ दुवै कुरा राखिदिएको भए हुन्थ्यो', मंलबारको बैठकमा भट्टराईले दाहालविरूद्ध लगातार 'अफेन्स' गरिरहे, 'प्रशिक्षणमा मलाई जसरी हाँसोको पात्र बनाइयो, त्यसमा दुःख लागेको छ।'
भोजराज भाट, काठमाडौं- २०६५ भदौमा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्दा बाबुराम भट्टराईले उनलाई 'नेपाली लेनिन' को संज्ञा दिएका थिए। तिनै 'नेपाली लेनिन'ले आफूलाई छुरा धसेको आरोप लगाएका छन् अहिले भट्टराईले। ललितपुरको खन्ना गार्मेन्टमा आइतबार अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय पदाधिकारीमाझ दाहालले राखेका अभिव्यक्ति नियोजित रूपमै बोलिएको भट्टराई पक्षधरको जिकिर छ।युद्धकालमा पनि यस्तै अभिव्यक्ति आएको प्रसंग जोड्दै उनले भने, 'ममाथि बारम्बार लाञ्छना लगाउने काम भएको छ, म पार्टीचाहिँ फुटाउन्न, बाहिर पनि जान्न, बरु पत्रिका चलाएर-लेखेर बस्छु।' भट्टराईको भाषणले बैठक हल स्तब्ध भएको थियो। माओवादी बैठकहरूमा भट्टराईले दाहालप्रति यस्तो आक्रामक भाषण गरेको सम्भवतः यो पहिलोपटक हो।सत्ता समीकरणको जोडघटाउ चलिरहेका बेला दाहालको टेप प्रकरणले पार्टीभित्रको विवाद छताछुल्ल भएको छ। पार्टीभित्र र बाहिर भावी प्रधानमन्त्रीका रूपमा बाबुरामलाई प्रक्षेपण गरिएका बेला टेपप्रकरणलगत्तै केन्द्रीय समितिले दाहाल नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउन निर्णय गर्यो। पार्टीको यो लाइनबारे बाबुराम पक्षधरको खासै गुनासो छैन। हेडक्वार्टरबाट नियोजित रूपमा चरित्र हत्या गर्न खोजेकोमा भने पार्टीभित्रै जोडदार आवाज उठाउने उनीहरूको तयारी छ। हुन त माओवादीको केन्द्रीय समितिमा बाबुराम पक्षधरको संख्या अल्पमत छ। तर यसपटक बाबुराम पक्षधर नभए पनि 'अध्यक्षले त्यसरी बोल्न हुँदैनथ्यो' भन्नेहरूको बहुमत छ। यस आधारमा पनि दाहाललाई नैतिक संकट पर्ने निश्चित छ।
source:nagariknews