भूकम्पमा हजारौँ मरेको आशङ्का :

हैटीको राजधानी पोर्टयु पि्रन्समा गएको शक्तिशाली भूकम्पमा हजारौँ मानिस मरेको आशङ्का गरिएको छ । बीबीसी, सीएनएनलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार भूकम्पले राजधानीका ठूलाठूला भौतिक संरचनाहरू भत्काएकाले हजारौँ मानिस पुरिएका छन् भने हजारौँ घाइते भएका छन् ।७.३ रेक्टर स्केल मापन गरिएको भूकम्पले संयुक्त राष्ट्रसङ्घीय कार्यालय, राष्ट्रपति भवन, आरामदायी होटललगायत राजधानी सहरका कैयौँ भवन भत्काइदिएको छ । महाभूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । त्यहाँ ठूलो झट्कापछि पनि २३ वटा सानासाना झट्का महसुस गरिएको बताइएको छ । भग्नावशेषमा पुरिएकाहरूबारे यकिन विवरण प्राप्त भइनसकेको तथा घाइतेहरूको सङ्ख्या पनि अत्यधिक रहेको समाचारमा जनाइएको छ । सञ्चार उपकरण तथा संरचना ध्वस्त भएकाले ३० लाख जनसङ्ख्या रहेको राजधानीमा कतिजनाको ज्यान गयो र कतिजना घाइते भए भन्नेबारे वास्तविक तथ्याङ्क प्राप्त गर्न अत्यन्त कठिन भएको छ । अन्तर्राष्ट्रिय रेडक्रसका प्रवक्ता पल कनालीका अनुसार भूकम्पबाट तीस लाख मानिस प्रभावित भएको अनुमान गरिएको छ । वास्तविक क्षतिको विवरण पूर्णरूपमा प्राप्त गर्न अरू एक/दुई दिन लाग्नेछ । उत्तर अमेरिकी गरिब मुलुक हैटीका भूकम्पपीडितका लागि अमेरिकालगायत मुलुकले राहत सामग्री सङ्कलनका साथै खोजी तथा उद्धार टोली पठाउने भएका छन् । मङ्गलबार गएको विनाशकारी भूकम्प दुई सय वर्षपछिको अति शक्तिशाली भएको बताइएको छ । विश्वमा हालसम्म दर्जनौँ महाभूकम्प गएका छन् । ती भूकम्पमा परी २० लाखभन्दा बढी मानिसको ज्यान गएको अनुमान गरिएको छ । भूकम्पबाट चीन सबभन्दा बढी प्रभावित बनेको छ ।सन् १९५६ को जनवरी २३ मा चीनको सान्सीमा गएको आठ रेक्टर स्केलको भूकम्पले आठ लाख ३० हजार मानिसको ज्यान गएको थियो । त्यस्तै सन् १९७६ को जुलाई २७ मा चीनकै ताङ्सानमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा दुई लाख ५५ हजार मानिसले ज्यान गुमाएका थिए ।सन् ११३८ को अगस्ट ९ मा सिरियामा गएको महाभूकम्पमा दुई लाख ३० हजार मानिस मरेका थिए । त्यस्तै सन् ८५६ डिसेम्बर २२ मा इरानमा गएको भूकम्पले दुई लाख मानिसको ज्यान लिएको थियो ।सन् १९०८ को डिसेम्बर २८ मा इटालीमा गएको भूकम्पमा एक लाख मानिस मरेका थिए । त्यस्तै १९४८ मा तत्कालीन सोभियत सङ्घमा गएको भूकम्पमा एक लाख १० हजार मानिसले ज्यान गुमाएका थिए । त्यस्तै सन् १९२३ को सेप्टेम्बरमा जापानमा गएको भूकम्पमा एक लाख ४३ हजार मानिसको ज्यान गएको थियो भने सन् २००४ को डिसेम्बर २६ मा सुमात्रामा गएको भूकम्पमा दुई लाख २५ हजार मानिस मरेका थिए ।

source:gorakhapatra