लक्ष्मणपुर बाँध, २०६६ पुस २८ -भारतीय सुरक्षासाथ लक्ष्मणपुर क्षेत्र पुगेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्यहाँ नेपाली सीमा सरोकारबारे केही बोलेनन् । नेपाल फर्केपछि बाँकेको नरैनापुरको कोणसभामा भने उनले भारतविरुद्ध चर्को भाषण गरे ।अन्तर्राष्ट्रिय मापदण्डविपरीत लक्ष्मणपुर बाँध निर्माण गरेर भारतले नेपाली स्वाधीनतामाथि ठाडो प्रहार गरेको उनको भनाइ थियो । श्रेष्ठ नेपाली बाटो हुँदाहुँदै भारतीय भूमि भएर सोमबार लक्ष्मणपुर बाँध अवलोकन गर्न गएका थिए । त्यस क्रममा होलियास्थित दसगजामा अवलोकन गर्न भ्याएका उनले नेपाली सीमा मिचिएको/नमिचिएकोबारे त्यहाँ कुनै प्रतिक्रिया जनाएनन् । लक्ष्मणपुर बाँध अवलोकनपछि उनी नजिकैको एसएसबी क्याम्प फर्केका थिए ।त्यहाँ एसएसबी प्रमुख एनसी काल्पोलसँग सौहार्दपूर्ण वातावरणमा हात मिलाएर उनी नेपाल फर्किए । एसएसबी प्रमुख एनसीले लक्ष्मणपुर बाँध नेपालका लागि कुनै समस्या नभएको बरु यसलाई राजनीतिक मुद्दा बनाइएको प्रतिक्रिया दिइरहँदा नेता श्रेष्ठले कुनै उत्तर दिएनन् । राष्ट्रिय स्वाधीनताको लडाइँ लड्ने दाबी गरेका श्रेष्ठ भारतीय भूमिमा छँदा उनले भारतीय गतिविधिविरुद्ध कुनै प्रतिक्रिया जनाएनन् । 'नेपाली भूभागलाई क्षति पुर्याउन भारतले सुनियोजित ढंगले लक्ष्मणपुर बाँध निर्माण गरेको छ,' यता नरैनपुरको सभामा उनले भने, 'निःसर्त रूपमा विगतका सन्धि सम्झौता खारेज गर्दै बाँध अविलम्ब भत्काउनुपर्छ ।'नेपाली सीमा मिचेर राष्ट्रिय अस्तित्वमाथि बारम्बार 'हमला' गरेकाले भारतले माफी माग्नुपर्ने उनको भनाइ थियो । नेपाली पक्षको स्वीकृति नलिई भारतले मनोमानी ढंगले लक्ष्मणपुर बाँध बनाएर डुबान समस्या सिर्जना गरेको श्रेष्ठले बताए ।नेपाली बाटो भएरै लक्ष्मणपुर बाँध र डुबान प्रभावित क्षेत्र पुगिने भए पनि श्रेष्ठ करिब नब्बे किलोमिटर भारतीय भूमि भएर त्यहाँ गएका हुन् । नेपाल र भारत सीमावर्ती क्षेत्र रुपैडिहा नाकाबाट प्रवेश गरी भारतीय बजार बाबागञ्ज, नबाबगञ्ज हुँदै साढे तीन घन्टा यात्रा गरी उनी लक्ष्मणपुर बाँध पुगेका थिए । त्यस क्रममा श्रेष्ठलाई भारतीय प्रहरी र सीमा सुरक्षा बल (एसएसबी) ले अगाडि र पछाडिबाट स्कर्टिङ गर्दै भीआईपी सुरक्षा दिएका थिए । अरू बेला सर्वसाधारण नेपालीलाई समेत सवारी साधनसहित भारतीय भूमि प्रयोग गर्न बन्देज लगाउने भारतीय प्रहरी र एसएसबीले श्रेष्ठको गाडीलाई रोकेनन् । नेपाली बाटो अप्ठ्यारो भएकाले कूटनीतिक पहलमार्फत भारतीय भूमि प्रयोग गरेको माओवादी नेताहरूको प्रतिक्रिया छ । नेता श्रेष्ठसँगै सभासद तिलक परियार, अशोक रोकाया र पट्टु थारू पनि लक्ष्मणपुर बाँध अवलोकन गर्न गएका थिए । सन् १९८१ मा लक्ष्मणपुर बाँध निर्माण कार्य सुरु गरेर भारतले ४ वर्षमा योजना सकेको थियो । दुई सय ८४ मिटर लामो उक्त बाँधमा १४ फलामे गेट छन् । प्राविधिकका अनुसार बाँधबाट प्रतिसेकेन्ड चार हजार नौ सय ९० क्यु मेक्स पानी बग्छ । वर्षातका बेला भारतले बाँधको गेट बन्द गरिदिने हुँदा नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।
source:kantipur