'जेठ १४ मै संविधान नबनेपनि डरलाग्दो स्थिति आउदैन' :

दाङ, २०६६ पुस २४ -संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले जेठ १४ भित्र संबिधान बन्न नसके पनि देशमा 'त्यस्तो कुनै डरलाग्दो स्थिति नआउने' बताएका छन् । उनले राजनीतिक दलहरु एकजुट हुन सक्ने हो भने देशमा जस्तोसुकै कठिन परिस्थिति आएपनि सामना गर्न सकिने बताए । तर उनले अनेक मतभेदका बाबजुद पनि तोकिएकै समयमा संबिधान जारी गर्न दलहरु प्रतिबद्ध रहेको बताए । समयमै संबिधान जारी गर्न र संसद् अवरुद्ध हुन नदिन आफू क्रियाशिल र सचेत रहेको उनको भनाइ थियो ।अब कुनै पनि हालतमा देश पछाडि र्फकन नसक्ने पनि उनले बताए । सामुदायिक वन महासंघको केन्द्रीय बिशेष महाधिबेशनको शुक्रबार दाङको तुलसीपुरमा उद्घाटन गर्दै उनले देश जसरी पनि अग्रगमनतर्फ जाने दावी गरे । कोही कसैले प्रतिगामी कुरा गर्दैमा देशले उल्टो बाटो नलिने बताउँदै उनले एक दुई नेताले राजतन्त्रको पक्षमा या संघीयताको बिरोधमा ताली बजाउँदैमा देशले उल्टो गति लिन नसक्ने धारणा व्यक्त गरे । दलहरुबीच उच्च स्तरको समझदारी हुनुपर्नेमा जोड दिंदै उनले कोही दल एक्लै हिडेर कतै पुग्न नसकिने बिचार व्यक्त गरे । भोलिसम्म चल्ने अधिबेशनले २०५२ सालमा बनेको बन उपभोक्ता सम्वन्धि बिधानलाई समयसापेक्ष परिवर्तन गरी लोकतान्त्रिक तथा समावेशी बनाउने बताइएको छ ।

source:kantipur