एकीकृत माओवादी वरिष्ठ नेताहरूले एकैदिन भारतद्वारा अतिक्रमित सीमाका पाँच ठाउँमा उभिएर भूमि फिर्ता गर्न भारतलाई चुनौती दिएका छन् । उनीहरूले मिचिएको भूमि फिर्ता नगरिए कडा संघर्ष गर्ने चेतावनीसमेत दिए ।
चौथो चरण आन्दोलन राष्ट्रिय स्वाधीनताका लागि भन्दै माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य 'किरण', डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ 'प्रकाश' र महासचिव रामबहादुर थापा 'बादल' सीमाक्षेत्र अवलोकन गर्न गएका थिए ।
टनकपुर बाँधः टनकपुर बाँध क्षेत्रमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'पैदल मार्च' गरेका छन् । सोमबार बिहान कञ्चनपुरको ब्रह्मदेव क्षेत्रका बासिन्दासहित उनले टनकपुर बाँध क्षेत्रको पैदल मार्च गरेका हुन् ।
अध्यक्ष प्रचण्ड टनकपुर बाँध बनाउँदा अतिक्रमण गरिएको कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पैदल मार्च गरेका हुन् । प्रजातन्त्र पुनस्र्थापनापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०४८ मंसिरमा भारत भ्रमण गर्दा टनकपुर बाँधका लागि दिएको नेपाली भूमिमा प्रचण्डले पैदल मार्च गरेका हुन् ।नेपाल-भारत सीमा स्तम्भ नं. २ र ३ बीचको नेपाली भूमिमा टनकपुर बाँधका लागि एफ-लक्स बन्ड बनेको छ । माओवादी अध्यक्ष प्रचण्डले सोमबार बिहान ९ बजे स्थानीय बासिन्दासहित सोही टनकपुर बाँधको एफ-लक्स बन्डको अवलोकन गरेका छन् । ५७७ मिटर लामो एफ-लक्स बन्डसहित माओवादी अध्यक्ष प्रचण्डले दुई किलोमिटर पैदल मार्च गरे । भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली सर्वसाधारणलाई आवतजावत गर्न रोक लगाएको सो क्षेत्रका स्थानीय बासिन्दाले पनि पदैल मार्च गरेका हुन् ।
source:nayapatrika