स्यालुट नगरेको भन्दै सभासद्ले हवल्दार कुटे -

बुटवल माघ ११- आफूलाई स्यालुट नगरेको भन्दै ड्यूटीमा खटिएका प्रहरी हवल्दारलाई सभासद् ओमप्रकाश यादव गुल्जारीले कुटपिट गरेका छन्। यादव रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभाको चुनावमा मधेशी जनअधिकार फोरमबाट निर्वाचित भएका हुन्।उनले प्रहरी हवल्दारको कठालो समातेर लात्तीले हानेका थिए। गाउँमा रहेका मठ–मन्दिर र मस्जिदको विवरण सङ्कलन गरेर सीमावर्ती गाउँ तिलकपुरको एउटा चिया पसलमा चिया पिउँदै गरेका हवल्दार प्रकाश गुप्तालाई आफ्ना सहयोगीलाई बोलाउन लगाएर अश्लील शब्द प्रयोग गर्दै कुटपिट गरेको मर्यादपुर प्रहरी चौकीले जनाएको छ।‘तैंले मलाई चिन्दैनस्, यो कोट र लोगो देखेको छैनस् भन्दै मलाई लात्तीले हान्नुभयो'- हवल्दार गुप्ताले नागरिकसित भने। उनले सभासद् यादवलाई आफूले अपमान गरेको नभई नचिनेकाले 'स्यालुट' नगरेको बताए। ‘मैले के गल्ती गरेको छु र तपाईंले मलाई हातपात गर्नुहुन्छ भन्दाभन्दै उहाँले कठालो समात्न छाड्नु भएन्', हवल्दार गुप्ताले भने- मलाई कुटपिट गरे पनि सभासद्सँग प्रतिकार गर्दा नेपाल प्रहरीको बेइज्जत होला भनेर मैले केही गरिन्।सभासद् यादवले प्रहरी हवल्दारले आफूलाई दुर्व्यवहार गरेको भन्दै तत्काल रुपन्देहीका एसपी छविलाल जोशीलाई टेलिफोन गरी कारबाही गर्न माग गरेका थिए।सभासद्ले दुर्व्यवहार गरेको भन्दै फोन गरेपछि एसपी जोशीले तत्काल मर्यादपुर चौकीका इन्चार्ज असइ नोखबहादुर थापालाई हवल्दारलाई पक्राउ गरी ल्याउन निर्देशन दिएका थिए। असइको रिपोर्टिङपछि एसपी जोशी पनि आश्चर्यचकित भएका थिए।बर्दी लगाएर ड्यूटीमा रहेका प्रहरी हवल्दारलाई कुटपिट गरेको घटनाको स्थानीय बासिन्दाले विरोध गरेपछि सभासद् यादव त्यहाँबाट हिँडेका थिए। उनी रुपन्देहीको गोनहा गाविसका बासिन्दा हुन्।

source - nagariknews