काठमाडौं, चैत्र २९ - बिना टेण्डर मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) भारतमा छाप्न दिने निर्णय फिर्ता लिन माग गर्दै माओवादीले भोलि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ ।
सरकारले नेपाली जनता र माओवादीको दबाबमा एमआरपी भारतमा छाप्न दिने निर्णय फिर्ता लिएको भन्दै उसले यसलाई सकारात्मक भएको टिप्पणी गरेको छ । 'एमआरपीकै बारेमा बन्द राखेकाले त्यसलाई अहिलेदेखि नै फिर्ता लिएका छौं,' कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने ।आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एमआरपी भारतमा छाप्न दिने निर्णय फिर्ता लिएको थियो ।
एमआरपी भारतमा छाप्न दिने निर्णय विधि प्रक्रिया उलंघन गर्दै सरकारले जबरजस्ती गरेको दाहालले बताए । 'यो एउटा त विधि प्रक्रियाका दृष्टिकोणले पनि गलत भयो, अर्को राष्ट्रिय सुरक्षाको अत्यन्त संवेदशनशील बिषयलाई यसले गम्भिर रुपले आघात पुर्याएको थियो' दाहालले भने, 'नेपालको इतिहासमा अन्यन्तै आघात पुर्याएको कलंकको रुपमा यो रहेको थियो ।'
दाहालले सरकारले राजीनामा दिएर शान्ति र संविधान निर्माण गर्ने बाटो खोलिदिन समेत आग्रह गरे ।