काठमाडौं, वैशाख १२ - युवाहरुको लागि छुट्टै लडाकु संगठन बनाएको माओवादीले आइतबार राजधानीमा शिक्षकको समेत लडाकु दस्ता बनाएको छ ।
'भोलेन्यिर्स टिचर्स अफ नेपाल' नामक दस्ताका शिक्षकहरुलाई वाईसीएल जस्तै आन्दोलनको समयमा प्रतिरक्षाका लागि शारिरीक अभ्यास भन्दै 'अर्ध सैन्य' तालिम दिन सुरु गरिएको छ ।
राजधानीको खन्ना गार्मेन्टमा आइतबारदेखि सुरु भएको तालिममा उपत्यका सरकारी तथा निजी विद्यालयका कविर पाँच सय शिक्षकको सहभागिता रहेको तालिममा सहभागी एक शिक्षकले जानकारी दिए । 'हामीलाई तीन दिनसम्म तालिम दिइन्छ' नाम नबताउने सर्तमा उनले ई-कान्तिपुरसँग आइतबार साँझ भने, 'सरकार आन्दोलनको समय कसरी प्रस्तुत हुन्छ, त्यसरी नै शिक्षक पनि परिचालन हुन्छ, तर यो सामान्य प्रतिरक्षा तालिम हो ।'
शिक्षक दस्ताका उपाध्यक्ष गोपाल पाण्डेले शिक्षकहरुलाई लठ्ठी चलाउन सिकाइरहेको उनले बताए । पाण्डेले केही महिना अघि चितवन शक्तिखोरस्थित माओवादी लडाकुको चौथो डिभिजनमा सैन्य प्रशिक्षण लिएका थिए । उनीसँगै नेवाःराज्यबाट अन्य ९ जनाले तालिम दिँदै छन् ।
समय अनुसार शिक्षक पनि परिचालन हुनु पर्ने भएकाले तालिम लिएको उनले बताए । उक्त दस्ताले निजी विद्यालयमा रहेको विकृति र विसंगतिविरुद्धसमेत नयाँ रणनीति तयार गरेर लड्ने ती सहभागीले उल्लेख गरे ।माओवादीले मजदुर दिवस अर्थात मे १ मा राजधानीसहित देशभर प्रदर्शन गर्ने तयारीस्वरुप युवा, सर्वसाधारण तथा शिक्षकहरुलाई युद्ध कला प्रशिक्षण दिइरहेको छ ।
source:kantipur