सेनालाई सतर्क रहन सरकारको निर्देशन :

काठमार्डौ, ९ वैशाख , माओवादीले गर्न लागेको आन्दोलनलाई लक्षित गरी सरकारले सेनालाई सतर्क रहन निर्देशन दिएको छ । माओवादी आन्दोलन नियन्त्रणबाहिर गएमा परिस्थितिको सामनाको लागि तयार हुन निर्देशन दिइएको हो । सरकारले सैन्य नेतृत्वलाई माओवादीले जबरजस्ती सत्ता कब्जा गर्न खोजे हस्तक्षेपकारी भूमिका निभाउन पनि अनौपचारिक रूपमा निर्देशन दिएको स्रोतले बतायो । सेनाले सरकारलाई माओवादीले आन्दोलनमा मुठभेड गर्न खोजेको र परिस्थितिको फाइदा उठाउँदै सत्ता कब्जा गर्ने रणनीति बनाएको बि्रफिङ गरेको स्रोतको दाबी छ । सैनिक अधिकारीहरूले सरकारको निर्देशन पालना गर्न सेना तयार रहेको जवाफ दिएको बुभिएको छ । सेनाले विधिसम्मत ढंगले सरकारले दिएको निर्देशन मान्ने प्रतिबद्धता जनाएको पनि स्रोतले बतायो । माओवादीले यही वैशाख १८ गतेदखि आन्दोलन गर्ने तयारी गरेको छ । आन्दोलनलाई सामना गर्ने विषयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा तीनवटै सुरक्षा प्रमुखहरू सहभागी थिए । उपप्रधानमन्त्री विजय गच्छदारले बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीको आन्दोलन हिंसात्मक भए जनताको सुरक्षा गर्न सरकार सक्षम भएको बताए । यसैबीच मजदुर दिवसका अवसरमा १८ वैशाखमा माओवादीले गर्न लागेको जनप्रदर्शनलाई लक्षित गरी सरकारले सबै सुरक्षानिकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । माओवादीको प्रदर्शन हिंसात्मक हुनसक्ने भन्दै मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सबै सुरक्षानिकायलाई सतर्क रहन निर्देशन दिएको हो । मन्त्रिपरिषद्को बैठकले सबै प्रकारको सुरक्षा रणनीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शंकर पोखरेलले बताए । बैठकले माओवादीले देशभर सञ्चालन गरेको 'आत्मरक्षा प्रशिक्षण' शान्तिसम्झौताविपरीत भएको भन्दै तत्काल रोक्न आग्रह गर्ने निर्णय गरेको प्रवक्ता पोख्रेलले बताए ।

source:nayapatrika