काठमाडौं, वैशाख १४ - माओवादी सेनाले आफ्ना लडाकुहरुलाई सम्भावित घट्नाहरुलाई मध्यनजर गर्दै उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । साथै सबै कमाण्डर तथा सदस्यहरुलाई शिविरमा बोलाएको छ ।
माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन 'पासाङ'ले मंगलबार बिज्ञप्ति जारी गरी राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर घर विदामा गएका सम्पूर्ण जनमुक्ति सेनाका कमाण्डर तथा सदस्यहरुलाई सम्बन्धित डिभिजनले तुरुन्तै बोलाई दैनिक काम कार्यमा हाजिरी गराउन र अबका केही दिनसम्म कसैलाई पनि विदा-छुट्टी)मा नपठाउन निर्देशन दिएका हुन् ।'संभावित आईपर्ने घटनाहरुलाई मध्यनजर गरि उच्च सतर्कतामा रही, सबै रक्षात्मक उपायहरुलाई भरपुर प्रयोग गरि प्रतिरोधात्मक तयारीमा रही निरन्तर पहलकदमी आफ्नो हातमा राखि राख्न, सबै शान्ति प्रकृया विरोधि हर्कतलाई निस्तेज पार्न एवं सुचना संचारलाई चुस्तदुरुस्त बनाई, आफ्ना इलाका र क्षेत्रलाई पहुँचमा राख्न पनि निर्देशन गरिएको छ' बिज्ञप्तिमा भनिएकौ छ ।
शान्ति र संविधान निर्माणको लागि घोषणा गरिएको शान्तिपूर्ण आन्दोलनप्रति माओवादी सैनाको नैतिक समर्थन रहेतापनि शान्ति सम्झौताको दायरा भित्र रही त्यसको पालना गर्नु आफ्नो मूल जिम्मेवारी ठानेको पनि बिज्ञप्तिमा उल्लेख छ ।साथै विगत आन्दोलनको वेला झैं यसपटक पनि भौतिक सहभागि नरही तटस्थको भूमिका निर्वाह गर्न पनि निर्देशन दिइएकौ छ । 'झुठ्ठा र निराधार आरोप र हल्लाहरुलाई हामी सम्पूर्ण रुपले खारेज गर्न चाहन्छौं' उनले बिभिन्न सञ्चार माध्यमहरुमा माओवादी सेना आन्दोलनमा आएको समाचार प्रकाशित भएको उल्लेख गर्दै बिज्ञप्तिमा भनेका छन्, 'यो शान्ति प्रकृयालाई भाँड्नका लागि गरिएको सुनियोजित हर्कत हो ।'
source:kantipur