दाहाल झन् आक्रामक / दुई दिनपछि कडा आन्दोलन गर्ने :

काठमाडौं, वैशाख २५ - अनिश्चितकालीन आमहडताल स्थगन गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल झन् आक्रामक देखिएका छन् ।
आन्दोलन स्थगन गरेको जानकारी गराउन शनिबार खुलामञ्चमा गरिएको जनसभामा उनले सरकारको मात्र होइन, बुद्धिजिवी र पत्रकारहरुको पनि आलोचना गरे ।
हडताल स्थगनपछि नेतृत्व आलोचित भइरहेका बेला दाहालले आन्दोलन स्थगन मात्र भएको तर नरोकिएको भनी कार्यकर्तालाई आश्वस्त पारे । उनले दुई दिनभित्र सरकारले आफूहरुको लचकताप्रति दिने प्रतिक्रियाका आधारमा नै आन्दोलन तय गर्ने बताए । 'यदि साँच्चै सरकारवादीहरु अलिकति पनि शान्तिको पक्षमा हो, संविधानसभाबाट संविधान बनोस् भन्ने पक्षमा हो भने हामीले आमहडताल फिर्ता लिएर संघर्षको स्वरुप बदलेको समयमा उनीहरुले तुरुन्तै सकारात्मक जवाफ दिउन्, नेपाली जनताले हेर्नेछन्,' दाहालले भने, 'तर दुई दिनभित्र त्यो जवाफ देखिएन भने कडा रुपमा उत्रन बाध्य हुनेछौं, त्यो बेला ढिला भइसकेको हुने छ ।'
दाहालले माओवादीले हडताल फिर्ता लिएपछि अव प्रतिक्रिया लचकता देखाउने पालो सरकारको भएको बताए । उनले प्रतिक्रिया नआएसम्म सरकारसँग वार्तासमेत नबस्ने बताए । 'आम राजनीतिक हडताल स्थगित गरिएको यो अवधिमा सहमति साँच्चै चाहेको भने अब फूटबल सरकारवादी पार्टीहरुको कोटमा फालिएको छ, फूटबलको जवाफ जस्तो आउँछ, त्यहीअनुसार प्रहार हुनेछ,' दाहालले भने ।
दाहालले माओवादीको राजनीतिक हडताल कसैको दबाबमा फिर्ता नलिएको जिकिर गरे । 'शान्ति र्‍यालीको दबामा आन्दोलन फिर्ता लिइयो भनियो, तर हामीले जनताप्रति जिम्मेवार बोध भएर हामीले आन्दोलन स्थगत गरेका हौं, फिर्ता लिएका छैनौं ।'



पुष्पकमल दाहालले भने:
  -    मई दिवसदेखि यहाँसम्म आइपुग्दा हामीले केह नियाँ रेकर्ड र इतिहास बनायौं । हडताल अभूतपूर्व रह्यो ।
-    हाम्रो उदेश्य संविधानसभामार्फत संविधान बनाउनु थियो । शान्ति र संविधानको नारा अन्र्तगत हामीले नौलो र अभूतपूर्व हडताल गर्‍यौं ।
-    नेपाली जनताले नचाहेका, नरुचाएका मन्त्रीहरुले यस्तो शान्तिपूर्ण हडताल ३ सय ६५ दिननै भए पनि के भयो र भनेको सुन्यौं ।
-    हामी कम्युनिष्ट जस्तालाई तस्तै गर्छौं, जतिबेला उनीहरु हडताल चाहन्छन्, हामी गर्दैनौं, जूनबेला उनीहरु हडताल चाहदैनन्, तब हामी गर्छौं ।
-    हामी जनताप्रति संवेदनशील भएकाले हामीले आमहडताललाई हालका लागि स्थगित गरेका हौं । अर्को जनताप्रति परेको अप्ठ्यारो परेकाले जनतामाथि जनता भीडाउने षड्यन्त्रकाविरुद्ध हामीले फिर्ता लियौं ।
-    ठूलो पार्टी भएका नाताले हामीले जनताप्रतिको जिम्मेदारी महसुस गरेका छौं । आन्दोलनको स्वरुप बदलेका थियौं, तर आन्दोलनको मोर्चाबाट टाढा भएका छौं ।
-    यसबेला हामी जिल्ला जिल्लामा प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने, उपत्यकामा पनि सरकारलाई केन्द्रित गरेर सिंहदरवार घेराउ कार्यक्रम भने भइरहन्छ ।
-    हामीले चाहेजस्तो शान्ति र संविधान यो रिहर्सल जेठ अगाडि नै सांच्चै नाटकको मञ्चन गरिने छ । संघर्षको स्वरुप फेरिएको छ रोकिएको छ । सरकारका विरुद्ध आन्दोलन केन्द्रित हुने छ ।
-    धैर्य र संयम सडकमा देखाएको शालिनता अर्को हडतालमा जनविद्रोहमा परिणत हुनेछ ।
-    तेश्रो आन्दोलन रोकिने छैन ।
-    शान्ति र्‍यालीको दबाबमा होइन, हामीले कसैको दबाबमा होइन, आन्दोलन नरोकेको ।
-    केही प्रतिक्रियावादीहरु गुण्डाहरु हुन्छन् शान्ति र्‍याली रोक्नु भनेको थियो, उहाहरुले शान्ति र संविधानका बिषयमा मात्रै कुरा राख्ने भनेका थिए, कैयौं कलाकार र बुद्धिजिवीहरुको नियत राम्रै थियो ।
-    धेरै ठाउँमा माओवादी आतंककारी मुर्दाबाद भनियो, प्रचण्डलाई फाँसी दे भनियो । प्रचण्डलाई मारेर शान्ति आउँछ । यो शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र थियो ।
-    सरकारमा रहेका दलहरु संघीयतामा जाने पक्षमा छैनन्, लडाईँ यहाँ छ । सरकारमा रहेका दलहरु धर्मनिरपेक्षता चाहँदैनन्, त्यसका लागि लडाईँ परेको छ ।
-    सुकिला मुकिलाहरुलाई धर्म निरपेक्षता मन परेको छैन, संविधानसभामा माओवादी ठूलो भएकाले यसलाई राख्ने कि नराख्ने भनेर ठूलो विवाद छ ।
-    जनआन्दोलनमा हामीले काठमाडौंमा राजधानी आए । यो कसैले भनेनन् बाहिरबाट आएका भनिएन । तीनै ले संविधानसभा, संघीयता ल्याए । कुन स्वार्थले काम गरेको छ, तिनै जनता आज आउदा बाहिरका मान्छे आए भनेर प्रचार गरियो ।
-    नेपालको शान्ति प्रक्रिया नारायणहिटी, सिंहदरवार र बालुवाटारबाट जन्मिएको होइन, त्यसको रक्षा गर्न जनता आएका हुन् । ती आउदा यहाका बुद्धिजिवीहरुले अपमानित गरे ।
-    सरकारमा रहेका पार्टीहरु इतिहासको चक्का पछाडी धकेल्ने प्रयत्न गरिरहेका छन् । भक्तपुरमा कसले गोली चलायो, यसको हिसाव जनताले लिनेछन् ।
-    गुण्डाहरुले आतंक मच्चाँउदा स्थानीयवासी देख्ने यो भन्दा धिक्कार र बेइमानी के हुन सक्छ ।
-    आन्दोलनको स्वरुप बदल्नु निरन्तरतामा क्रमभङ्ग नै हो ।
-    हिजो फासी दे भन्नेहरुले मन्त्री र सरकारमा रहेका दलहरुले बधाई दिए । यदि तिमीहरुले शान्ति र संविधानको पक्षमा निर्णय गर्न ढिलाइ गरे यो टेलर हुनेछ, रियल फिल्म पछि देख्नेछौ ।
-    बुद्धिजिवीहरुको हविगत पनि के हुन्छ । त्यसको एक एक हिसाव किताव जनताले लेखेर राखेको छ । यीनीहरुले के-के लेखेका छन् ।
-    मधेसी दलहरु किन संघीयताविरोधीसँग घुँडा टेकेर बसिरहेका छन् ।
-    आन्दोलन फिर्ता लिंदा बधाई आएको छ । आउनुपर्ने ठाउबाट पनि आएको छ नआउने पर्ने ठाउबाट पनि आएको छ । यसको हिसाव राखेका छौं, हामीले ।
-    सरकारवादीहरु यदि शान्ति र संविधानको पक्षमा हो भने दुई दिनभित्र प्रतिक्रिया देउ, हामी वार्तामा आउदैनौं, त्यो प्रतिक्रिया हेरेपछि मात्र हामी वार्तामा त्यसरी नै जान्छौं ।
-    जोस र उत्साहका साथ देशैभरी र उपत्यकामा भएको आन्दोलनमा बिचलित नभइ लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्दछु ।
-    सरकारवादीहरुलाई सुझाव देऊ कुटनीतिज्ञहरु, सहमतिका लागि ।
-    फूटबल सरकारवादीको कोर्टमा छ उनीहरुले कसरी फर्काउंछन् हेर्न बाँकी छ ।
-    पार्टी झुक्यो कि भन्नेतिर ध्यान नदिन आग्रह गर्दछु । तेश्रो जनआन्दोलन जारी छ ।
अमृता थापा मगर
-    माओवादीको आन्दोलनले मन्त्रीहरु सिंहदरवारमा नै सुत्न बाध्य भए । जनताले लगाएको कर्फ्युले उनीहरुलाई छापमार बनायो । उनीहरुका भिजिलान्ते खुँडा खुकुरी बोकेर दूलो पस्न बाध्य बनायौं ।
-    यो सरकारले सुन्तली धामीलाई न्याय दिन सक्यो ? विधवालाई ५० हजार दिने भनेर अपमान गर्‍यो ।
-    निगुरो खोज्न गएका दलितहरुलाई बलात्कार गरेर मार्‍यो यो सरकारले, के यही हो हामीले खोजेको लोकतन्त्र ?
सर्वोत्तम डंगोल
-    हिजो शान्ति र्‍यालीमा सहभागीहरु कांग्रेस र एमालेका गुण्डाहरु थिए ।
-    मिडियाहरुले सामान्ती आँखाले माओवादीलाई हेरे । उनीहरुले माओवादीको आन्दोलनमा काठमाडौंका नेवारहरुलाई देखेनन् ।
माओवादीका जनसभामा राजधानीसहित छिमेकी जिल्लाबाट पनि धेरै कार्यकर्ता सहभागी भए । आमहडताल फिर्ता लिएपछि कार्यकर्तामा आक्रोस बढ्ने आशंकामा माओवादीले यसअघि बेग्लाबेग्लै ठाउँमा सभा गरेको थियो । राजधानीका विभिन्न ठाउँबाट निस्किएको माओवादी जुलुस खुलामञ्चमा पुगेको थियो ।    

source:kantipur