जेठ ७ - तराईमा सशस्त्र सघर्षगर्दे आएको अखिल तराई मुक्ति मोर्चाले सकारसँग आत्मसर्मपण गरेको छ।
मोर्चाका केन्द्रीय अध्यक्ष विवेक चौधरीको सहित डेढ सय कार्यकर्ताले पर्सा जिविसमा आयोजित एक कार्यक्रममा शान्तिमन्त्री रकम चेम्जोङ समक्ष हतियार बुझाएका हुन्।
मोर्चाका नेता तथा कार्यकर्ताले एक-एक गरी नलकटुवा, पेस्तोल, थ्रीनट थ्री, टुवेल बोर लगायतका १८ थान बन्दुक , ३ थान सकेट बम र दुई वोरा बारुद बुझाएका हुन्। मोर्चाले वैशाख २४ गते राजधानीमा सरकारसँग भएको ६ बुँदे सहमति अनुसार हतियार बुझाएको जनाएको छ। वार्तामा बसेको दुई साताभित्रै मोर्चाले देखाएको विश्वासले सरकार उत्साहित भएको छ।
'हामीले सरकारको विश्वास गरेर आफूसँग भएका हतियार बुभायौं', मोर्चाका अध्यक्ष विवेक चौधरीले भने- 'सरकारले पनि हामीसँग गरेका सहमति पालना गर्ने आशा लिएका छौं।'
विश्वासको वातावरण बन्दै गएमा आफना कार्यकर्तासँग बचेखुचेका हतियार समेत समर्पण गर्ने उनले बताए। 'हामीलाई सरकार 'पोजेटीभ' छ जस्तो लागेको छ', उनले भने- 'हामीसंग गरेका सहमती सरकारले पुरा गरेमा शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न चाहन्छौ।'
कार्यक्रममा शान्तिमन्त्री रकम चेम्जोङले सहमती अनुरुप हतियार बुझाएकोमा मोर्चाका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै स्वागत गरे। सरकार सहमतीमा पालनमा पछि नपर्ने उनले बताए। उनले तराईका अन्य हतियारधारी समूहलाई पनि वार्तामा आउन आग्रह गरे।
हतियार बुझाएका कार्यकर्ताको अनुहार हसिलो
काधमा बन्दुक बोकेर सभाकक्षमा जाउन्जेल उनीहरुको अनुहार उदास-उदास थियो। नेपाल सरकार समक्ष बन्दुक बिसाएर कुर्सीमा बसे लग्ात्तै उनीहरु हँसिला देखिए। ती मध्ये कतिपयले शान्तपूर्ण राजनीतिमार्फत् विकास कार्यमा लाग्ने बताए भने कतिपयले आफ्नो छुटेको पढाई पुरा गर्ने उल्लेख गरे।
'मलाई अझै पढ्न रहर छ', वीरगन्जस्थित विपिसी कलेजमा १२ पढ्दै गर्दा ४ वर्षअघि मोर्चामा लागेका पिन्टुकुमारले भने- 'अब पढाई पुरा गरौं जस्तो लागेको छ।' त्यस्तै अर्का कार्यकर्ता रामेश्वर गुप्ताले पनि शान्तिपूर्ण राजनीतिमार्फत् जीवन जिउने आशा देखाए। 'हामीले सरकारलाई विश्वास गरेर हतियार विसाएका छौं', शान्तीपूर्ण बाटोमा हिँड्ने हाम्रो इच्छालाई उसले तुषरापात नगरोस्।'
हतियार विसाए लगत्तै सशस्त्र समूहका कार्यकर्ता एक-आपसमा हाँस्दै रमाएका दृष्य निक्कै रमाईलो देखिएको थियो।
source:nagarik