माओवादी आन्दोलन सत्ताकै लागि : बाबुराम भट्टराई :

काठमाडौं, वैशाख २० - माओवादी नेता बाबुराम भट्टराईले आफूहरुले सत्ताकै लागि आन्दोलन गरेको बताएका छन्।
उनले सुन्धारामा आयोजित सभामा बोल्दै उत्पीडितहरुको मुक्तिका लागि सत्ता चाहिने भएकाले आफ्नो आन्दोलन त्यसैका लागि केन्द्रित भएको बताए।
शान्ति, संविधान र राष्ट्रिय संयुक्त सरकारका लागि आफ्नो आन्दोलन केन्द्रित रहेको भनाइ पनि उनको थियो। विदेशीले समेत ३ लाख नाघेको भनेका र आफूहरुको अनुमानमा पनि ३ लाखभन्दा बढी जनता मे दिवसका दिन उत्रेको दाबी गर्दै उनले सरकारले भने त्यसलाई डेढ लाखमात्र भनेको गुनासो पनि उनको थियो।
सरकारले आफ्नो समर्थनमा २२ दल रहेको बताउँदै आए पनि १०-१२ दलबाहेक अरु आफ्नो समर्थनमा आइसकेको दाबी पनि उनको रह्यो।
प्रधान मन्त्री माधवकुमार नेपालले म समस्या समाधानमा बाधक भन्दिन भनेका तर थिम्पूबाट फर्केपछि सेना परिचालन गर्छु भनेका बताए। र, भने- त्यो आकाशवाणी कहाँबाट आयो ? उनले भने- हामी सहमतिबाट संविधान निर्माण गर्ने कि कसैको उक्साहटमा लागेर समस्या चर्काउने ?
अहिले पनि देशलाई द्वन्द्व र मुठभेडबाट बचाउने हो भने अहिले पनि हामीले राखेका एजेण्डामा सहमति जनाउनुपर्छ, उनले भने- त्यसका लागि सबैभन्दा पहिले प्रधान मन्त्रीले राजिनामा दिनुपर्छ र संयुक्त राष्ट्रिय सरकारका लागि ढोका खोलिदिनुपर्छ। तर कङ्ग्रेस र एमालेका नेताहरु सहमति गर्न तयार देखिएका छैनन्।
जनताले जहिले पनि सडकबाटै आन्दोलन गरेर अधिकार लिएको भन्दै उनले अहिले पनि सडकबाटै जे पनि गर्न सकिने बताए। सरकारले राजिनामा नदिए अझै पनि यो आन्दोलन सशक्त बनाउन तयार रहेको उनको भनाइ छ।
प्रदर्शनकारी केही दिनमा थाक्ने र फर्कने अन्य विरोधी दलले अनुमान गरेका बताउँदै उनले आधा पेट खाएर भए पनि माग पूरा नभएसम्म सबै जना सडकमै बस्ने बताए। सरकारले केही जासुस घुसाएर आन्दोलन भड्काउने र हिंसात्मक बनाउने प्रयास गरेको भन्दै उनले त्यसो गरे जनताले नङ्ग्याउने चेतावनी पनि दिए।
अनि सेना र प्रहरीलाई आपसमा नलड्न र मिलेर जान आग्रह गरे। कसैले भड्काएर जनतालाई बन्दूक सोझ्याउन भने त्यो बन्दून आदेश दिनेतिर नै सोझ्याउन पनि उनले भने। काठमाडौंका नेवार समुदायलाई आन्दोलनमा सहभागिता जनाउन उनले पनि आग्रह गरे। मे दिवसका दिन आयोजित सभामा माओवादी अध्यक्षले पनि काठमाडौंका नेवार समुदायलाई आन्दोलनमा होमिन भनेका थिए।

source:nagarik