कांग्रेस उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा तथा एमाले नेता भरतमोहन अधिकारीले शुक्रबार झन्डै २ घन्टा राजदूत गिस्लेसनको निवासमै पुगेर गोप्य बैठक गरेका हुन् । नेपालस्थित अमेरिकी राजदूत स्कट एच डेलिसी, बेलायती राजदूत एन्ड्रयु हल, डेनमार्कका राजदूत फिन थिल्स्टेड,
न्सेली राजदूत गिल हेनरी ग्राउल्ट, जर्मन राजदूत भेरेना रोदेम र फिनल्यान्डकी चार्ज डे अफेयर्स पिर्को लिस्सा क्योस्टोलिया पनि वार्तामा सहभागी थिए ।
'नेपालमा जारी आमहडताल अन्त्य गर्न प्रमुख दलहरू माओवादी, कांग्रेस र एमालेले पहल गर्नुपर्छ,' राजदूतहरूको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एमाले नेता अधिकारीले भेटपछि संवाददातालाई भने, 'मिलेर सहमतिका साथ जानुस् भन्ने नै राजदूतहरूको भनाइ थियो ।'
राजदूतहरूले माओवादीद्वारा जारी आमहडताल फिर्ता लिन महरालाई आग्रह गरेका थिए । देशलाई मुठभेडतिर लैजान नहुनेसमेत उनीहरूले बताएका थिए । स्रोतका अनुसार राजदूत गिस्लेसनले नेताहरूलाई शान्तिप्रक्रियाबारे छलफल गर्न भन्दै आफ्नो निवासमा बोलाएका थिए ।
source:nayapatrika