भारत ! नेपालको आन्तरिक मामलामा नबोल : वाइसिएल :

के छ दूताबासमा बुझाइएको ज्ञापनपत्रमा ?-

काठमाडौं, जेठ २४ (नागरिक)- वाइसिएलले भारत सरकार र भारतीय कूटनीतिज्ञद्वारा नेपालको आन्तरिक मामलामा बोल्नु राजनीतिक हस्तक्षेप हो भन्दै त्यस्ता अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उसले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले सोहीअनुरूप व्यवहार गर्न भारत सरकारलाई सजग पनि गराएको छ। भारतीय राजदूतलाई वाइसिएलले सोमबार बुझाएको ज्ञापनपत्रमा उसले कन्चनपुर, सुस्ता, पशुपतिनगरलगायतका नेपालका विभिन्न स्थानमा भारतले नेपाली भूमि अतिक्रमण गरी सीमास्तम्भ गाडेको उल्लेख गर्दै यस्तो कार्य तुरुन्त रोक्न पनि भारतीय सरकारलाई भनेको छ।

ज्ञापनपत्रको पूर्ण पाठ-
महामहिम राजदूत ज्यू,
भारतीय राजदूतावास,
लैनचौर, काठमाडौ।

विषयः ज्ञापन–पत्र

महोदय,
नेपाल र भारतका जनताको बीचमा परापूर्वकालदेखि नै अत्यन्तै सुमधर सम्वन्ध रहँदै आएको छ। लाखौको संख्यामा नेपालीहरू भारतका विभिन्न क्षेत्रहरूमा आफ्नो व्यावसायसहित स्थायी र अस्थायी बसोवास गरी आएका छन् भने भारतीय नागरिकहरू प्नि नेपालमा सोही तरिकाले बसोवास गरिआएका छन्। यसमा यदाकदा सामान्य समास्या देखा परेता पनि गम्भीर प्रकृतिका समस्याहरू देखापरेका थिएनन्।

समानता र भातृत्वको आधारमा आपसी सहकार्यबाटै सम्बन्धहरू विकास र विस्तार गर्दै आएको कुरा दिनको घाम झैं छर्लङ छ। तर, केही समययता भारतको मेघालयमा नेपालीभाषीहरूमाथि उच्शृङ्खल समूहद्वारा भएको ज्यादती, आगजनी, बर्बरता, हत्या र लुटपाटका घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस क्रममा झण्डै १९ जनाको हत्या र हजारौंको संख्यामा विस्थापित भएका छन्। यसले पूरै सभ्य दुनियालाई स्तब्ध पारेको छ। यी र यस्तै नेपालीहरूले झेल्नु परेका जल्दा वल्दा सवालहरूलाई तपसिलबमोजिम यो ज्ञापनपत्रमार्फत पेश गरेका छौं :

१. मेघालयमा वर्षौंदेखि बस्दै आएका र आफ्नो श्रम सिपले भारतीय माटो मलिलो बनाएका नेपालीभाषीमथि अनाहकमा बर्बर आक्रमण गरी १९ जनाको क्रुरतापुर्वक हत्या गरीएको घट्नाप्रति घोर भर्त्सना गर्दै यस्ता घट्नाहरूलाई तत्काल रोकी नेपाली भाषीहरूको सम्मानपुर्वक वाँच्न पाउने अधिकारको ग्यारेण्टी गरियोस् भनी आग्रह गर्दछौं।

२. नेपाली जनता र नेपालको तर्फबाट नेपालीभाषीहरू उपर भएको अमानवीय ज्यादतीको बारेमा भारतीय पक्षको ध्यानाकर्षण गराउदा पनि भारतको आन्तरिक मामिलामा नबोल्न, टिप्पणी नगर्न भनी नेपालीलाई दिएको चेतावनीप्रति खेद प्रकट गर्दछौ। र, भारतलाई उसले नेपालको आन्तरिक मामिलामाथि जे गर्दै आएको छ त्यसको स्मरण गराउन चाहन्छौं।

३. भारतले कन्चनपुर, सुस्ता, पशुपतिनगरलगायतका नेपालका विभिन्न स्थानमा हाम्रो भूमि अतिक्रमण गरेको छ र नेपाली भूमिमा सीमास्तम्भहरू गाडेको छ। हामी अतिक्रमणको यस्तो कार्य तुरुन्त रोक्न भारतीय सरकारसित आग्रह गर्दछौं।

४. ती भारतीय नागरिकहरू नेपालीभाषी भएकै कारणले विस्थापित हुनुपरेको छ। यो दर्दनाक स्थितिको अन्त्य गर्दै, जातीय तथा भाषिक सद्भाव कायम गर्न, अन्यायमा परेका नेपालीभाषीहरूलाई न्यायोचित क्षतिपूर्तिसहित पीडकउपर अविलम्व कडा कार्वाही तथा अंगभंग र घाइतेको निशुल्क उपाचार र क्षतिपूर्तिको व्यवस्था गर्न भारत सरकारको ध्यानाकर्षण गराउँछौं।

५. नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सीमा सुरक्षा बलद्वारा मोरङमा भएको स्थानीय जनताको हत्या, सिमावर्ती धनुषा जिल्ला दुवही मैनाथपुरमा क.देवेन्द्र यादव, बेचन दास र जोगीन्दर सहनीलाई गरिएको गिरफ्तार तथा देशभरिनै सिमावर्ती इलाकामा नेपाली जनताहरू उपर भईरहेको दुर्व्यवहार, धरपकड, गिरफ्तार र धाक धम्कीले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। त्यस्ता घट्नाहरू प्रति घोर भर्त्सना गर्दै त्यस्ता क्रियाकलाप अविलम्व रोक्न सम्बन्धित पक्षलाई जोडदार माग गर्दछौ।

६. भारतद्वारा एकतर्फी रूपमा सप्तरी जिल्लाको गोवरगाढामा निर्माण गरिएको ८ किलोमिटर लामो पाइलट च्यानल प्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ। यसबाट कोशी धार पश्चिमतिर कटान गर्ने र नेपालको दर्जनौ गाउँहरू वर्षायाममा डुवाउ पर्ने छन्। यसले सन् २००२को गुगल म्याप नै परिर्वतन हुनेछ। यसबाट सप्तरीको भारदह, जोगनिया, हनुमान नगर, इनरुवा, रम्पापुर, मल्हानिया, सकरपुरा, गोवरगाढा, तिलाठी, लौनिया, लगायत एक दर्जन गाउँ डुबानमा पर्नेछन्। नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएकोले सोहीअनुरूप व्यवहार गर्न भारत सरकारलाई हामी सजग गराउँछौं।

७. भारत सरकार र भारतीय कूटनीतिक व्यक्तिहरूद्धारा नेपालको आन्तरिक मामलामा कूटनीतिक मर्यादा विपरित बोल्नु राजनीतिक हस्तक्षेप भएकाले त्यस्तो कूटनीतिक मर्यादा विपरीत अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

महोदय,
उपरोक्त समस्याहरू नै वर्तमान नेपाल र नेपाली जनताले झेलिरहेका असमान र हेपाहा कार्यलाई अन्त्य गरी पञ्चशीलका आधारमा समानताको व्यवहारको अपेक्षा गर्दछौं। अन्यथा नेपाली जनतामा हुर्किने विरोधी भावनाले कसैलाई पनि फाइदा गर्ने छैन।

२४ जेठ, २०६७
क्रान्तिकारी अभिवादनसहित!

गणेशमान पुन
संयोजक

बोधार्थ
१. प्रधान मन्त्री, भारत सरकार
२. मुख्य मन्त्री, मेघालय राज्य सरकार
३. परराष्ट्र मन्त्री, नेपाल सरकार

source:nagarik