काठमाडैं, असार ९- पाँच वर्षदेखि सर्वोच्च अदालतमा बहस भइरहेको फ्रान्सेली नागरिक चार्ल्स सोभराजको मुद्दामाथि असार ३० गते फैसला हुने भएको छ।
न्यायधीशद्वय रामकुमार प्रसाद शाह र गौरी ढकालको संयुक्त इजलासले बुधबार यो निर्णय गरेको हो।
अमेरिकी नागरिक कोन्निजो ब्रोनचिजलाई मारेको अभियोगमा २०३२ सालमा दायर भएको मुद्दामाथि २८ वर्षपछि काठमाडौं जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो। उक्त फैसलालाई पुनरावेदन अदालत पाटनले समेत सदर गरेपछि सो निर्णयविरुद्ध सोभराजले २०६२ कात्तिक २४ गते मुद्दा दायर गरेका थिए।
शोभराज पक्षका वकीलहरुलाई असार २२ गतेभित्र बहस नोट बुझाउन आदेश दिदैं सर्वोच्चले त्यसको एकसातापछि अन्तिम निर्णय सुनाउने जानकारी दिएको छ।
जाली राहदानी प्रयोगको अभियोग पनि खेपिरहेका शोभराजलाई सो मुद्दामा भने पाटन अदालतले सफाइ दिएको थियो। पाटनको उक्त निर्णयविरुद्ध सरकार सर्वोच्च अदालत पुगेपछि पुन पुनरावदेन अदालत पाटनमा फर्काइएको थियो।
करिब १ वर्षअघि पाटनले सो मुद्दामा शोभराजलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजाय र दुई हजार रुपैया" जरिवाना गरेको थियो। पुनरावेदनको फैसलाविरुद्ध फेरि चार्ल्स ०६६ साउन ८ गते सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए। कर्तब्य ज्यान र जाली राहदानी दुवै मुद्दाको फैसला असार ३० मै सुनाइने छ। उनको पक्षबाट बरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला, अधिवक्ता सकुन्तला थापा र रामबन्धु शर्माले बहस गरेका थिए।
चार्ल्सविरुद्ध परेको कर्तब्य ज्यान सम्बन्धी अर्को मुद्दा भक्तपुर जिल्ला अदालतमा विचाराधीन छ। भक्तपुरको सा"गामा क्यानाडियन नागरिक लरेन्ट अरमान्ड क्यारियलको हत्याको अभियोगमा उनीविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो।
source:nagarik