काठमाडौ, अषाढ ११ - अब मध्यम वर्गीय नेपालीले पनि कार चढ्न पाउने भएका छन् । ठूलो आर्थिक भार उठाउन नसक्ने ग्राहक लक्षित गरी
भारतमा बनाइएका कार 'नानो' साउन मध्यतिर नेपाली बजारमा आउने भएको छ । यो परीक्षणका लागि ल्याउन लागिएको हो ।
भारतीय कम्पनी टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार बिक्री वितरणअघि ५ नानो परीक्षणका लागि ल्याइनेछ । 'परीक्षणका लागि ल्याइने कारका लागि प्रतीतपत्रसमेत खोलिसकेका छौं,' ट्रेडिङका प्रमुख कार्यकारी शम्भुप्रसाद दाहालले भने ।
सुरुमा १० देखि १५ नानो कार भित्र्याउने कम्पनीको लक्ष्य छ । त्यसैले अन्य नानो चढ्न चाहनेले भने आगामी माघ महिनासम्म प्रतीक्षा गर्नुपर्ने कम्पनीले जनाएको छ । 'बुकिङका आधारमा बिस्तारै कारको संख्या बढाइनेछ,' दाहालले भने । नेपालमा व्यावसायिक रूपमा नानोको बिक्री वितरण माघदेखि नै गरिने उनले जानकारी दिए । नेपाली बजार नानोका लागि पहिलो अन्तर्राष्ट्रिय बजार हो । यसपछि बंगलादेश र श्रीलंकामा निर्यात गर्ने कम्पनीको लक्ष्य छ ।
कम्पनीले यसअघि नै नेपाली बजारमा नानो ल्याउने लक्ष्य राखेको थियो । तर उत्पादन कटौतीका कारण योजना पछाडि सरेको हो ।
'करिब १ हजार ग्राहकले नानोबारे सोधखोज गरेका छन्,' उनले भने 'प्रत्येक दिन चार/पाँच ग्राहकले फोनबाटै कार कहिले ल्याउने भनेर सोधिरहेका छन् ।'
source:kantipur