गोर्खाली' भन्नासाथ बेकह्याम राजी :

पंकजविक्रम नेम्वाङ - जोहानसबर्ग विश्वकप र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को वार्षिक साधारणसभाको चटारोमा थियो। हामी फिफा प्रतिनिधिको लन्चस्थलमा थियौं। झट्ट मेरा आँखा एउटा परिचित अनुहारमा अडियो। विश्व फुटबलका लोकप्रिय खेलाडी डेभिड बेकह्याम।
मनपर्ने खेलाडी देखेपछि भेटौं भेटौं लाग्यो। नजिकै पुग्दा उनी प्रशंसकबाट घेरिइसकेका थिए। सँगै फोटो खिच्ने लालसा थियो।भीड छिचोलेर छेउमै
पुग्दा उनका अंगरक्षक र सहायकले रोके। एउटा फोटोमात्र लिने अनुनय गर्दा पनि मानेनन्। म जसरी पनि बेकह्याम छेउ पुग्न चाहन्थें। ठेलमठेल थियो।

बेकह्यामले सुन्छन् भनेर चर्को स्वरमा कराएँ, 'म गोर्खाहरूको देशबाट आएको हुँ, म तपाईंसँग फोटो खिच्न चाहन्छु।' मेरो कुरा सुन्नासाथ बेकह्याम 'ओ स्योर' भन्दै फोटो खिच्न राजी भए। मलाई गोर्खाली भएकामा गौरव लाग्यो।

यसपटक दक्षिण अफ्रिकाको यात्रा पशुपतिको जात्रा सिद्राको व्यापार भयो। फिफाको ६०औं साधारणसभामा भाग लिन पुगेको हाम्रो टोलीले विश्वकप उद्घाटन खेल हेर्न पाउने कार्यक्रम तय भएको सुन्नासाथ म उत्साही थिएँ। एन्फा अध्यक्ष गणेश थापा नेतृत्वको चार सदस्यीय टोलीमा विजयनारायण मानन्धर, खेमबहादुर गुरुङ र र मेरो पहिलो अफ्रिका यात्रा थियो। टेलिभिजनको पर्दामा विश्वकपको मज्जा लिएको मेरा लागि प्रत्यक्ष हेर्ने अवसर सपनातुल्य थियो।

विश्वकप फुटबल सुरु भएको दिन, जेठ २८ शुक्रबार अपराह्न पौने २ बजे जोहानसबर्गस्थित सकरसिटी रंगशाला पुग्दा त्यो सपनाको अर्को संसार जस्तो लाग्यो। ८४ हजार ४ सय ९० दर्शकमध्ये म एक थिएँ। भुभुजेलाको एकसरो आवाज, आयोजक टोलीको जर्सी लगाएका समर्थकको पहेँलपुर ताँती र फुटबलका महान् हस्तीहरूको बाक्लो उपस्थितिबीच हामी नेपालको झन्डा बोकेर बसेका थियौं।

रंगशालामा उपस्थित दर्शकहरू हामीलाई उत्सुकतापूर्वक हेर्दै थिए। हाम्रो झन्डा र ढाकाटोपी देखेपछि केहीले जिज्ञासा पनि राखे। 'कुनै दिन विश्वकपको मैदानमा हाम्रो भन्ण्डा यसैगरी फहराउने छौं भन्ने सन्देश दिन लिएर आएको' भन्दा उनीहरू शुभकामना दिन्थे।

भव्य र व्यवस्थित उद्घाटन समारोहलगत्तै आयोजक र मेक्सिकोबीच खेल सुुरु भयो। दुवै टिम बराबर हुँदा घरेलु दर्शक निराश भएको बुझ्न कठिन थिएन। तर, दर्शकले देखाएको संयम र खेल भावना देखेपछि मैले हाम्रो रंगशाला सम्झेँ। जहाँ बारम्बार दर्शकको उच्छृखलताले समस्या ल्याउँछ। हाम्रो मैदानमा ढुंगा र पानीका बोतल बर्सिएको मैले पटक पटक देखेको छु।

सकरसिटी कति भलाद्‍मी थियो भने त्यहाँ फुटबलबाहेक अरू कुनै चासो थिएन। त्यहाँको फुटबल स्तर हेर्दा हामी कैयौं वर्ष पछि रहेको अनुभूति भयो। फुटबल सम्बद्ध संस्थाको चासोमा मात्र हामीकहाँ खेल हुन्छ, त्यहाँ हरेक मान्छेको रगतमै फुटबल भएजस्तो लाग्थ्यो। हामीकहाँ धेरैले फुटबललाई जितहारको सामान्य खेल ठान्छन्, त्यहाँ सबैको जीवनशैली बनेको अनुभूति हुन्थ्यो।

फुटबल एन्फाको मात्रै चासो हो भन्ने सोच राख्ने नेपाल सरकारले यसको विकासका लागि पूर्वाधार खडा गर्ने, गाउँगाउँमा अभियान चलाएर प्रतिभा खोज्ने र एन्फाले चलाएको देशव्यापी अभियानमा साझेदार बन्ने हो भने हाम्रो फुटबलले पनि फड्को मार्न सक्छ। सबैलाई फुटबलप्रति संवेदनशील बनाउने हो भने आशलाग्दो परिणाम आउन सक्छ।

(दक्षिण अफ्रिका पुगेर फर्केका एन्फा केन्द्रीय सदस्य नेम्वाङसँग संवाददाता राजु अधिकारीले गरेको कुराकानीमा आधारित।)

source:nagarik