कारवाही बिनै मुक्त भए नागाल्याण्डका गृहमन्त्री :

काठमाडौँ, असार १६- भारतको नागाल्यान्ड राज्यका गृहमन्त्री इमकोङ एल इमचेन ७ घण्टा प्रहरी नियन्त्रणमा
रहेपछि मुक्त भएका छन्। नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ पाँच सय र हजारका नोट सहित उनी काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ परेका थिए। नेपालको कानुनअनुसार विदेशी मुद्रा अपचलन अन्तर्गत राजस्व अनुसन्धान विभागले उनलाई कारबाही गर्न सक्थ्यो।
नेपालको कानुन अनुसार उनलाई पक्राउ परेको नगदको तीन गुणा जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्थ्यो। उनलाई कुन प्रक्रियाबाट मुक्त गरिएको हो सो भने खुलाइएको छैन।

बिहान साढे १० बजेतिर विमानस्थल प्रहरीले उनलाई पक्राउ गरी बरामद ९ लाख भारुको विषयमा सोधपुछ गरेको थियो। जेट एयरवेजमार्फत् परिवार सहित दिल्ली जान विमानस्थल पुगेका इमचेनको लगेजबाट भारतीय रुपैयाँ बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी नागाल्यान्डका गृहमन्त्री रहेको खुलेपछि प्रहरीले भारतीय दूताबासलाई जानकारी दिएको थियो। प्रहरीले उनलाई विमानस्थल सुरक्षा गार्डका प्रमुख डीआइजी रमेशशेखर बज्राचार्यको कोठामा राखेको थियो।

स्रोतका अनुसार पक्राउ परेका इमचेनले आफू पारिवारिक भेटघाट र घुमघामका लागि नेपाल आएको र नेपाली कानुन बारे जानकारी नभएकाले गल्ती भएको बताएका थिए।

उनलाई पक्राउ गरेलगत्तै कारवाही प्रक्रिया अघि बढाउने वा छोड्ने भन्ने विषयमा गृहमन्त्रालयबाट प्रस्ट निर्देशन नआउँदा अनुसन्धानमा खटिएका प्रहरी अधिकारी अन्यौलमा थिए। स्रोतका अनुसार ३ बजे उनलाई मुक्त गर्न गृहबाट निर्देशन आएपछि प्रहरीले जेट एयरकै साढे ४ बजेको फ्लाइटबाट उनलाई दिल्ली पठाएको छ।

भारतको केन्द्रीय बैँकले समेत भारतबाहिर पाँच सय र हजारको नोट प्रयोग गर्न एक दशकअघिदेखि प्रतिबन्ध लगाएको छ। नक्कली नोटको कारोबार बन्द गर्न भारतीय सरकारले नै नेपाल सरकारलाई पाँच सय र हजार दरको भारतीय नोटमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको हो।

मुख्य सचिव लालथराले विदा मनाउन परिवारका साथ उनी नेपाल गएको बताएका छन्। उनले गृहमन्त्रीले अज्ञानता मै भए पनि गल्ती गरेको स्वीकार गर्दै नगद राखेर उनलाई चाहिँ रिहा गर्नका लागि भारतीय गृह मन्त्रालयसित आग्रह गरिरहेको टाइम्सनाउलाई बताएका छन्।

टाइम्स नाउले राज्यका गृहमन्त्रीलाई विदेश भ्रमण गर्दा नियम थाहा नभएको बताउनु अनौठो भएको टिप्पणी गरेको छ। उसले लेखेको छ- भारतीय राज्यका मन्त्रीहरुलाई राज्य अधिकारीहरुले नेपालमा पालना गर्नुपर्ने नियमहरुका बारे जानकारी दिने गरिन्छ। इमचेनलाई पनि यसबारे जानकारी दिएको हुनुपर्छ।

source:nagarik