भक्तपुर, अषाढ २६ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रपतिले दिएको समयमा पनि सहमति र बहुमतीय प्रणालीबाट सरकार गठन नभए
राष्ट्रपतिले नै अर्को बिकल्प सोच्नु पर्ने बताएका छन् ।
प्रभात उच्च माविले उतिर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनले बिकल्पको रुपमा राष्ट्रपतिले नै तीन महिना भित्र बहुमत जुटाउने गरी कुनै दललाई जिम्मेवारी दिएर सरकार गठन गर्नुपर्ने बताए । 'मुलुकलाई सरकार बिहिन बनाउनु भएन,' उनले भने- 'बुहमत र सहमतीबाट बन्दैन भने राष्ट्रपतिले कुनै पार्टीलाई दिन सक्छ, उसले तीन महिना भित्र बहुमत पुर्याउनु पर्ने हुन्छ, नपुर्याएर स्वत सरकार ढल्छ ।' काम चलाउ सरकार भएपनि मन्त्रीहरु मन्त्रालय जान छाडेको उनले बताए । राष्ट्रपतिले सरकार बनाएर मुलुकलाई निकास दिनु पर्नेमा उनले जोड दिए । राष्ट्रपतिले आफनो अधिकार प्रयोग गर्ने बेला आएको उनले बताए ।
माधवकुमार नेपालको सरकार असफल भएपछि प्रमुख प्रतिपक्ष माओबादीको नेतृत्वमा सरकार गठन हुनुपर्ने भएपनि उसले आफनो कार्यकर्ताको व्यवहारले अन्य पार्टीले अस्वीकार गरेको उनले बताए ।
दलहरु बीच असमझदारी बढदै गएकाले तोकिएको समय भित्र सरकार गठन नहुने उनले दाबी गरे । 'तीन दल बीच एउटाले अर्कोलाई फसाउन सकिन्छ कि भनेर दैनिक जसो बैठक र छलफल गर्ने गरेको छ,' उनले भने- 'कोही फस्न चाहँदैन, आफनो नेतृत्वमा सरकार गठन मात्रै खोजिरहेका छन् ।'
एमालले नै माधवकुमार नेपालको सरकारलाई असफल बनाएको टिप्पनी गर्दै उनले फेरी झलनाथ खनालले सरकारको नेतृत्व माग्नु लज्जासपद र गैह्र जिम्मेवार रहेको बताए ।
बिजुक्छेले माओबादी नेतृत्वको सरकारलाई अन्य दलले नस्वीकार्ने भएकाले मधेशवादी दलको सहयोगमा काग्रेसको नेतृत्वमा सरकार गठन हुने सम्भावना देखेको बताए । काग्रेसको नेतृत्वमा सरकार गठन हुने दुइ वटा कारण आफूले पत्ता लगाएको उनले जानकारी दिए । 'काग्रेस दोस्रो ठूलो पार्टी हो, अनि मधेसबादी दलले कम्यूनिष्टलाई सहयोग गर्दैनन, काग्रेसलाई नै गर्छन् ।'
गत जेठ १४ गते तीन दल बीच भएको सम्झौताको पहिलो बुँदा माओबादीले कार्यन्वयन गर्नु भनेको आत्म हत्या गर्नु सरह भएकाले यसलाई माओबादीले कार्यन्वयन नगर्ने ठोकुवा गरे ।
माओबादीले अघि सारेको सेना समायोजनको खाकालाई गलत भएको टिप्पनी गर्दै उनले माओबादी लडाकूलाई लडाकुलाई समूहगत नभई नेपाली सेनाको मापदण्ड अनुसार योग्यताको आधारमा समायोजना गर्न सकिने बताए । 'कुनै पनि नेपाली नागरिकलाई सेनामा जाने अधिकार छ तर, सेनाको मापदण्ड पुरा गर्नु पर्छ,' उनले भने ।
source:kantipur