मुलुककै अग्लो पुलमा बन्जी जम्पको तयारी :

पर्वत , अषाढ २४ -  जिविसको पहलमा मुलुककै अग्लो झोलुंगे पुलमा बन्जी जम्पको तयारी भइरहेको छ ।

सदरमुकामदेखि कटुवाचौपारी गाविस जोड्ने मोदीखोला पुलमा बन्जी जम्पको अध्ययनमा सम्भावना देखिएकाले  जिविसले पहल थालेको हो । १ सय ३५ मिटर अग्लो र ३ सय ४४ मिटर लामो यो पुलमा बन्जी जम्प निर्माण योजना जिविस परिषद्बाट पारित भइसकेको छ । यसमा उद्योगी, व्यवसायी, पुल उपभोक्ता सक्रिय देखिएका छन् ।
चार महिनाअघि पर्यटन बोर्डका सहसचिव लक्षमण भट्टराई र भोटेकोसी बन्जी जम्पका लागनीकर्ता विष्णु न्यौपानेसहितको टोलीले स्थलगत अध्ययन गरी पुलमा जम्पको सम्भावना प्रस्ट्याएका थिए ।  एक वर्षभित्र निर्माण सम्पन्न गर्ने उद्देश्य रहेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवशर्मा पौडेलले बताए । निर्माणमा विशेष गरेर जिविस, पर्वत पर्यटन प्रवर्द्धन केन्द्र, पुल निर्माण उपभोक्ता समिति लागिपरेका हुन् ।
'सर्त राखेर बन्जी जम्प निर्माणका लागि टेन्डर आह्वान गर्छौं,' पौडेलले भने । कास्कीको पोखराबाट दुई घन्टाको यातायात दुरीमा रहेको यो जिल्लामा पर्यटकको आगमन शुन्य छ । तर बन्जी जम्प निर्माणपछि पोखरा केन्दि्रत पर्यटकको भीड लाग्ने सबैको ठम्याइ छ । यहाँ निर्माण भएपछि बन्जी जम्प नेपालकै दोस्रो हुनेछ ।

source:kantipur