काठमाडौं, असार २२ (नागरिक)- मुलुकको कानुन विपरीत विदेशमा लगानीका लागि आह्वान गरेको आरोपमा
महावीर कन्सल्ट्यान्सीमा राजस्व अनुसन्धान विभागले सोमबार छापा मारेको छ।
कानुनले नेपालीलाई विदेशमा व्यवसाय गर्ने पुँजी लैजान रोकेको छ। क्यानडामा लगानीका लागि आग्रह गर्ने यो कन्सल्ट्यान्सीबाट विभागले कम्प्युटर जफत गरेको छ। कम्पनीका कार्यालय प्रमुख दुर्गा पौडेललाई विभागले बयानका लागि बुधबार डाकेको एक अधिकारीले नागरिकलाई बताए।
कन्सल्ट्यान्सीले क्यानडामा १ लाख २० हजार डलर लगानी गर्नेलाई परिवारसहित स्थायी बसोवास र व्यवसायको अवसर भन्दै राष्ट्रिय दैनिकहरूमा विज्ञापन गरेको थियो। विज्ञापनमा उल्लिखित सूचनाअनुसारको कार्य गैरकानुनी हुने जानकारी राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको थियो।
विदेशमा लगानी प्रतिबन्ध लगाउने ऐन २०१९ र विदेशी विनियम नियमन गर्ने ऐन २०२१ ले नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाएको छ। केही वर्षअघिको बजेटमा विदेशमा नेपालीलाई लगानी खुला गर्ने प्रतिबद्धता गरिए पनि कानुनी बाटो खुला गरिएको छैन। केही दिनअघि अर्थ मन्त्री सुरेन्द्र पाण्डेले अहिले विदेशमा लगानी खुला गर्न नसकिने बताएका थिए। पुँजी खाता परिवर्त्य नभएको अवस्थामा विदेशमा लगिने विदेशी मुद्रा अवैध रुपमा जाने गर्छ। यस्तो कार्य मुलुकको कानुनी व्यवस्था विपरीत हो।
तर, बानेश्वरमा रहेको महावीर कन्सल्टेन्सीले सार्वजनिक सूचनामार्फत विदेशमा लगानीका लागि आह्वान गरेपछि करिब ७ सय नेपाली सम्पर्कमा पुगेका छन्। अहिलेसम्म कुनै पनि नेपालीलाई क्यानडा पठाइनसकेको विभागका अधिकारीहरुले भेट्टाएका छन्।
कन्सल्टेन्सीले क्यानडामा लगानीको रकम बढेर २ लाख १५ हजार डलर पुग्नसक्ने जनाउँदै छिटो सम्पर्क राख्न आह्वान गरेको छ। यसले भिसा नपाएसम्म कुनै शुल्क नलाग्ने पनि जनाएको छ। शैक्षिक योग्यता र अंग्रेजी भाषाको ज्ञान नभएकाले पनि लगानी गर्न सक्ने कन्सल्टेन्सीले बताएको छ।
सूचनामा क्यानेडियाली डलर ८ लाख मूल्य बराबरको धन सम्पत्ति, घरजग्गा, सेयर, मुद्दति खाता हुने नेपाली त्यहाँ लगानीका लागि योग्य हुने र भिसासमेत पाउने उल्लेख छ। विगतमा भिसा नलागेकालाई सम्पर्क गर्नसमेत भनिएको छ।
source:nagarik