काठमाडौ, अषाढ ३२ - प्रेमी जोडीहरूले प्रेम बगैंचाको माग गर्दै बिहीबार रत्नपार्क तथा रानीपोखरी
एकाइलाई पत्र लेखेका छन् । एकान्त र सुरक्षित स्थलमा यस्तो खालको पार्कको स्थापना हुनुपर्ने र त्यसको नाउँ 'प्रेम बगैंचा' राखिनुपर्ने उनीहरूको माग छ ।
'महानगरमा जोडीका लागि सुरक्षित स्थल छैन' प्रेमीहरूद्वारा प्रेषित पत्रमा छ- 'रत्नपार्क, बाइसधारा पार्क र शंखपार्कमा समेत प्रेम साटासाट गर्ने वातावरण छैन ।' उनीहरूले पत्रमा सुरक्षाकर्मी, आगन्तुक र गलत प्रवृत्तिका व्यक्तिको निगरानीका कारणले पार्कमा समेत बस्न नसकिने गुनासो गरेका छन् ।
'ठूलाबडाका छोराछोरी प्रेमको आनन्द लिन रकम खर्चेर रिसोर्ट, महँगा होटेल, विभिन्न क्लब र केशरमहलको स्वप्न बगैंचा पुग्छन्,' पत्रमा छ, 'गरिब प्रेमी-प्रेमिकाका लागि भने कहीं ठाउँ छैन ।' रत्नपार्क कार्यालयका अधिकारीले यसका लागि पहल गरिदिएमा प्रेमी जोडीले मुटुदेखि धन्यवाद दिने उक्त पत्रमा उल्लेख छ ।
एकाइका प्रमुख हरिशरण केसीले प्रेमीहरूको आग्रह अनुरूप प्रयास गर्ने कान्तिपुरलाई बताए । प्रेमी जोडीको परिकल्पना अनुरूप रत्नपार्कको उत्तरतिरको डेढ रोपनी खाली जग्ग्ाालाई 'प्रेम कुना -लभर्स कर्नर)' को रूपमा विकसित गर्न सकिने उनले बताए ।
पार्ककै कर्मचारीहरूका अनुसार प्रेमी जोडीहरू बाध्यतावस रत्नपार्क र रानीपोखरीबीचमा रहेको शान्ति बाटिकामा पोखरीतिर मुख फर्काएर बसिरहेका हुन्छन् । उनीहरूका अनुसार केशरमहलको स्वप्न बगैंचामा प्रवेश शुल्क ८० रुपैयाँ तिरेर जाने सबैको क्षमता हुन्न ।
'उनीहरूको दृष्टिकोणबाट यो राम्रो प्रस्ताव हो,' केसीले भने,' विकृतिसँग डराएर परिवर्तन आउँदैन, राम्रो व्यवस्थापन गरेर उनीहरूको माग पूरा गर्न सकिन्छ ।' पार्क वरिपरि ढोका र ढलान गरेर बस्ने स्थल बनाइदिएमात्र पुग्ने उनले बताए । यो पत्रले रत्नपार्कलगायत महानगर अन्र्तगत रहेको सबै पार्कको स्थिति बारे समेत प्रश्न उठाएको उनले बताए ।
स्थलगत रिपोर्टिङको क्रममा बढ्दो जनघनत्व अनुरूप अधिकांश पार्कको पूर्वाधार विकास भएको देखिएन । २०२१ सालमा ४२ रोपनी जग्ग्ाामा निर्मित रत्नपार्कको भौतिक संरचना परिवर्तन भएको छैन । दुई सफाइ कर्मचारी र तीन नगर सुरक्षाकर्मीले यति ठूलो क्षेत्रको देखभाल गर्ने अवस्था पनि छैन । जथाभावी पसल र खुला बारले गर्दा उक्त स्थल पार्क कम र बस बिसौनी बढी देखिन्छ । वरिपरि फोहोरको थुप्रो देखिन्छ ।
एकाइ प्रमुख केसीका अनुसार वरिपरि खुला रहेकाले फुटपाथे पसलेहरू र चौबीस घन्टे हुने आवागमनलाई रोक्न नसक्दा यस्तो देखिएको छ । 'नगर सुरक्षाकर्मी आएर खुद्रे पसलेलाई समाएर लान्छ, हजारदेखि १ हजार ५ सय रुपैयाँ जरिवाना गरेर छाड्छ,' उनले भने, 'उनीहरू फेरि आइहाल्छन् ।' उनका अनुसार फोहोर निकै बढ्न थालेपछि महानगरपालिकाले १० अतिरिक्त सरसफाइ कर्मचारी पठाउने गरेको छ । एकाइले यस समस्याको स्थायी समाधानका लागि पूरै बारको घेरा हाल्नुपर्ने प्रस्ताव विभागसमक्ष राखिसकेको छ । केसीका अनुसार गत वर्षको बजेटमा छुट्टयाइएको २० लाख रुपैयाँले पूरै बेर्न सकिएन ।
दक्षिणतिर बार राख्न बाँकी रहेकाले आगामी बजेटमा ३५ लाख रुपैयाँको माग गरिएको उनले जानकारी दिए । 'पूर्वाधार खडा भएपछि टिकट काउन्टर र पार्कभित्र भाडामा क्यान्टिनसमेत राख्न दिनेछौं,' उनले भने,' न्यूनतम प्रवेश शुल्क ५ रुपैयाँ राखिए पनि पार्कले आफ्नै आयले खर्च धान्न सक्छ ।' उक्त पार्कमा दैनिक हजारांैको संख्यामा पाहुना र पर्यटक आउँछन् ।
काठमाडौ महानगरपालिका अन्तर्गत रहेको अर्को पार्क बालाजु बाइसधारा उद्यान एकाइ १ सय ५९ रोपनी जग्गामा फैलिएको छ । प्रति व्यक्ति प्रवेश शुल्क ५ रुपैयाँ रहेको उक्त पार्कमा दैनिक कम्तीमा ५ सय आगन्तुक आउँछन् । त्यहाँ थुप्रै सरसफाइ र सुरक्षाकर्मीसहित ३५ जना कर्मचारी भए पनि फराकिलो स्थलको भरपुर उपयोग र आवागमन अनुरूपको व्यवस्था त्यहाँ पनि छैन ।
झण्डै २४ रोपनी क्षेत्रफलमा फैलिएको धुम्बाराहीको शंख पार्क भने वरिपरि फलामे बारले घेरिएको हुनाले तुलनात्मक रूपमा सुरक्षित देखिन्छ । त्यहाँ नगर सुरक्षाकर्मी सहित ९ कर्मचारी छन् । वर्षमा एकपल्ट खोलिने करिब ५ रोपनीमा फैलिएको लैनचौरस्थित सहिद स्मृति पार्कको पूरा प्रयोग हुन सकेको छैन ।
विभागका प्रमुख शान्तराम पोखरेलले प्रायजसो पार्क अव्यस्थित र लथालिङ्ग भएकाले विभिन्न संघ-संस्थाको सहयोगले भौतिक संरचना सुधार गर्ने योजनामा लागेको बताए । पोखरेलले सबै वर्गको माग अनुरूप बदलिंदो परिवेश अनुरूप पार्कको विकास गर्दै लाने बताए ।
source:kantipur