नेताहरुलाई लाग्यो प्रधान मन्त्रीको चुनाव :

काठमाडौं, साउन ६ - भोलि शुक्रबार हुने प्रधान मन्त्रीको चुनावमा यतिखेर प्राय: सबै दलका नेता ब्यस्त छन्। त्यसमा पनि क्रमश: माओवादी, एमाले र कङ्ग्रेस
अनि मधेशी दलहरु बढी नै दौडधूप र बैठकहरुमा ब्यस्त देखिएका छन्। आज खासगरी माओवादी नेताहरुलाई चुनावले बढी ब्यस्त बनायो। माओवादी नेताहरु अध्यक्ष पुष्पकमल दाहालसहित विभिन्न दलका नेतासँग भेट गरेका गर्‍यै छन्। उनीहरुले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग राप्रपाकै संसदीय दलको कार्यालयमा भेटेर प्रधान मन्त्रीको चुनावमा सहयोग गर्न आग्रह गरे।
त्यसैगरी उनीहरुले आजै सद्‍भावना पार्टी र जनमुक्ति पार्टीका नेतासँग भेटेर सहयोग गर्न अनुरोध गरेका थिए। यसरी नै उनीहरुले अन्य साना तथा मधेशवादी दलसँग पनि भेट गरे भने साँझसम्म अन्य धेरै दलसँग भेट्ने योजना रहेको थाहा भएको छ।

त्यसैगरी हिँजो प्रधान मन्त्रीको उम्मेद्‍वारी फिर्ता लिएका एमाले अध्यक्ष झलनाथ खनालले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर भोलिको निर्वाचन दुर्घटनाग्रस्त हुने दाबी गरे। उनले यही अवस्थामा माओवादी र कङ्ग्रेस कुनै दललाई पनि समर्थन नगर्ने जनाउँदै भोलिको चुनावले न सहमतीय, न बहुमतीय नै प्रधान मन्त्री चुन्न सक्ने दाबी पनि गरे। यो दलका नेताहरु माओवादी र कङ्ग्रेसको समर्थन जुटाउन दिनभर कूटनीतिक तवरको भेटघाटमा ब्यस्त छन्। यही क्रममा एमालेभित्र भद्र चरित्रका मानिने प्रदीप ज्ञवालीले माओवादी नेताहरुसँग भेट गरेकाबाहेक अन्य नेताको भेटघाटको खबर बाहिर आएको छैन।

उता मधेशवादी चार दल प्रधान मन्त्रीको चुनावमा कसलाई सघाउने वा आफ्नै तर्फबाट उम्मेद्‍वारी खडा गर्ने भन्नेबारे बैठक गरिरहेका छन्। मधेशी जनअधिकार फोरमको संसदीय दलको कार्यालयमा बसेको बैठकले भोलिको चुनावबारे एउटै धारणा बनाउने अनुमान गरिएको छ। तर बैठक जारी रहेकाले निष्कर्ष वा बैठकको धारणा सार्वजनिक भएको छैन।

उता नेकपा माले, राप्रपा, जनमोर्चालगायतका दल पनि रणनीति तय गर्न दौडधूपमा लागेका छन्। खासगरी विचार मिल्ने दलहरुसँग सल्लाह गरेर अघि बढ्ने सोच उनीहरुको पाइन्छ। कसलाई समर्थन गर्दा के फाइदा हुन्छ भनेर साना दल सोचमग्न देखिन्छन् भने मधेशवादी दलचाहिँ यही बेला मधेशका मुद्दामा ठूला दललाई प्रतिबद्ध गराउने अवसरका रुपमा लिएका छन्। र, उनीहरुको चाल यही दिशामा केन्द्रित देखिन्छ।

source:nagarik