निहिताको तमासा :

कुख्यात अपराधी चाल्र्स सोभराजको जन्मकैद सजाय सर्वोच्च अदालतले सदर गरेपछि उनकी पत्नी निहिता विश्वास न्यायाधीशहरूमाथि खनिएकी छिन् । स्वदेशी र विदेशी सञ्चारमाध्यमका अगाडि उनले न्यायाधीशहरूलाई भद्दा गाली गर्दै गम्भीर आक्षेपहरू लगाइन् 

अदालतको फैसलापछि निकै उत्तेजित मुद्रामा बाहिर निस्केकी निहिता तत्कालै सञ्चारमाध्यमहरूबाट घेरिएकी थिइन् । पत्रकारहरूको जिज्ञासा सुरु हुनासाथ उनले धाराप्रवाह गाली वषर्ाउन थालिन् । अदालत र न्यायाधीशप्रति निहिताले तीव्र रोष प्रकट गरिरहँदा उनकी आमा शकुन्तला थापाले पनि साथ दिएकी थिइन् 
शुक्रबार बिहान १० नबज्दै सर्वोच्च अदालतमा देशी तथा विदेशी सञ्चारकर्मीको भीड लागिसकेको थियो । सर्वोच्चले फैसला सुनाउने समय यकिन भइसकेको थिएन । करिब ११ बजेतिर सबैको आकर्षणको केन्द्र बन्न आइपुगिन्- निहिता विश्वास । आफूलाई चाल्र्स सोभराजकी श्रीमती भन्ने निहिता पहिले निकै हँसिलो मुद्रामा थिइन् । उनले सुरुमै सोभराज बिरामी परेकाले आउन नसक्ने जानकारी सञ्चारकर्मीलाई दिइन् 
शुक्रबार बिहान १० नबज्दै सर्वोच्च अदालतमा देशी तथा विदेशी सञ्चारकर्मीको भीड लागिसकेको थियो । सर्वोच्चले फैसला सुनाउने समय यकिन भइसकेको थिएन । करिब ११ बजेतिर सबैको आकर्षणको केन्द्र बन्न आइपुगिन्- निहिता विश्वास । आफूलाई चाल्र्स सोभराजको श्रीमती भन्ने निहिता पहिले निकै हँसिलो मुद्रामा थिइन् । उनले सुरुमै सोभराज बिरामी परेकाले आउन नसक्ने जानकारी सञ्चारकर्मीलाई दिइन् ।
त्यसपछि झन्डै १५ मिनेटजति फोटो पत्रकारले विभिन्न 'पोज'मा उनका फोटो खिच्न भ्याए । फोटो खिच्न दिएपछि हँसिलो अनुहारमा उनी अदालतभित्र छिरिन् । सवा ११ बजेदेखि तीन बजेसम्म सोभराजको फैसला हुने ५ नम्बर इजलासअगाडि बसेकी निहिता फैसला हुनुअघिसम्म निकै छट्पटाएकी थिइन् । निहिताको अनुहार न्यायाधीशले फैसला सुनाउन सुरु गर्दा मलिन भइसकेको थियो ।
निहिता दिउँसो चार बजे बाहिर निस्कँदा निकै आक्रोशित मुद्रामा देखिइन् । त्यसको एउटै कारण थियो- पति सोभराजसँगै बस्ने तीन वर्ष गरेको प्रतीक्षा शुक्रबार पूरा भएन । सोभराजलाई जन्मकैद गर्ने पुनरावेदनको फैसला सर्वोच्चले सदर गरेपछि उनी स्तब्ध बनिन् ।
न्यायाधीशलाई 'ब्लडी जजेज' भन्दै बाहिर निस्केकी निहिताले आफूलाई नेपालको न्यायालयप्रति विश्वास टुटेको बताइन् । 'नेपालको सरकार र अदालत सबै भ्रष्ट हुन्,' निहिताले भनिन्, 'घुस खाएर जसलाई जेल हाले पनि हुन्छ ।'
यसअघि ३० असारमा सोभराजको फैसला तोकिएको थियो । उनले त्यसदिन फैसला हुन नसकेपछि अदालत परिसरमा सञ्चारकर्मीसँग भनेकी थिइन्, 'मलाई न्यायालयप्रति एकदमै विश्वास छ, उनी -सोभराज) पक्कै जेलबाट रिहा हुनेछन्, मेरो सपना साकार हुनेछ ।'
तर, शुक्रबार उनले अदालतमाथि निकै विषवमन गरिन् । निहिताले आफू सर्वोच्चको फैसलाविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने बताइन् । न्यायाधीशले घुस खाएर सोभराजको विपक्षमा फैसला गरेको भन्दै उनले न्यायाधीशविरुद्ध मुद्दासमेत हाल्ने उल्लेख गरिन् ।
नेपालको न्यायालयमा भ्रष्टाचार मात्रै नभई ढिलासुस्तीसमेत अति रहेको बताउँदै निहिताले भनिन्, 'कोही गरिब न्याय माग्न आयो भने जीवनभर झुलाइन्छ, तैपनि उसले न्याय पाउँदैन ।' विपक्षी अधिवक्ता विश्वलाल श्रेष्ठले न्यायाधीशलाई घुस दिएकोसमेत दाबी उनको थियो ।
सञ्चारकर्मीले निरन्तर पछ्याएपछि उनी आफ्ना एक सहयोगीसँगै स्कुटर चढेर अदालतबाट बाहिरिएकी थिइन् । निहिता र सोभराजबीचको सम्बन्ध सार्वजनिक भएपछि निहितासँग देखिँदै आएका ती युवकलाई उनले 'आफ्नो सुरक्षा सहयोगी' बताउँदै आएका छन् ।
अदालतको फैसलापछि प्रतिक्रिया दिँदै निहिताकी आमा तथा सोभराजको तर्फबाट बहस गरेकी अधिवक्ता शकुन्तला थापाले समेत न्यायाधीशले घुस खाएर गलत फैसला गरेको दाबी गरिन् । उनी इजलासभित्रै न्यायाधीशलाई गाली गर्दै बाहिरिएकी थिइन् । फैसला सुनाएर न्यायाधीशद्वय बाहिरिएलगत्तै उनले इजलासभित्रै सोभराजको विपक्षमा बहस गरेका अधिवक्ता विश्वलाल श्रेष्ठलाई 'न्यायाधीश किन्नुभएछ होइन ?' भन्दै प्र्रश्न गरेकी थिइन् । तर, थापाको प्रश्नको कुनै उत्तर नदिई श्रेष्ठ बाहिरिएपछि उनले इजलासभित्रै 'पैसा खाएर यस्तो फैसला गरे, न्यायाधीशसमेत बिक्न थालेछन्' भन्दै आक्रोश व्यक्ति गरिन् । सोभराजलाई नक्कली कागजात बनाएर फसाइएको उनको दाबी थियो ।
थापाले बाहिर निस्केपछि पनि झन्डै आधा घन्टा न्यायाधीश र अदालत तथा सरकारलाई गाली गर्न खर्चिइन् । आक्रोशित हुँदै न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी हाल्ने, फैसलाविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने बताउँदै उनले न्यायाधीशद्वयले घुस खाएको प्रमाणसमेत आफूसँग भएको बताइन् । 'टुँडिखेलमा बोलाएर पत्रकार सम्मेलन गर्नुस्, म घुस खाएको प्रमाण दिन्छु,' थापाले भनिन् । २० साउनदेखि अवकाश पाउन लागेकी न्यायाधीश गौरी ढकालले 'जानेवेलामा' पैसा कमाएर जान यस्तो फैसला गरेको दाबीसमेत थापाले गरिन् ।
सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले भने थापा र विश्वासको भनाइ झुटो रहेको र मुद्दा हारेपछि दिइने अनावश्यक प्रतिक्रिया भएको बताए । 'उनीहरूको भनाइ आधारहीन हो,' रावलले सञ्चारकर्मीसँग भने, 'मुद्दा हारेपछि जे मन लाग्यो त्यही भनिएको हो ।'
को हुन् निहिता ?
तीन वर्षअघि चाल्र्स सोभराजसँगको अफेयर सार्वजनिक भएपछि चर्चामा आएकी निहिता विश्वास सोभराजको तर्फबाट बहस गर्ने अधिवक्ता शकुन्तला थापाकी छोरी हुन् । थापाका श्रीमान् भारतीय हुन् । भारतमै बसेर स्कुले शिक्षा सकेकी निहिता हाल काठमाडौंमै रहेको एउटा कलेजमा स्नातक तह दोस्रो वर्षमा पढ्छिन् ।
०६५ असोजमा विजयादशमीको दिन आफूले जेलभित्रै सोभराजसँग विवाह गरेको दाबी गरिन् । उनको दाबी सार्वजनिक भएपछि जेल प्रशासनले भने उनको दाबीको खण्डन गर्‍यो । १९ वर्षकै उमेरमा सोभराजसँग प्रेम गर्न थालेकी निहिताले सोभराजसँगको सम्बन्ध सार्वजनिक भएपछि आफूलाई ज्यानमार्ने धम्की आएको भन्दै पत्रकार सम्मेलनसमेत गरेकी थिइन् ।
त्यसलगत्तै एक युवासँग देखिन थालेकी निहिताले उनलाई आफ्नो सुरक्षा सहयोगी बताउने गरेकी छिन् । सोभराजकोे मुद्दाको बहस सुन्न आउँदा होस् वा सोभराजलाई भेट्न जेल जाँदा, निहितालाई तिनै युवाले लिएर हिँड्ने गरेका छन् । निहिता प्रायः ती युवाको स्कुटरमा पछाडि बसेर हिँडिरहेको भेटिन्छिन् ।
आफूले पैसाका लागि सोभराजसँग बिहे नगरेको दाबी गर्ने निहिता पछिल्लो समयमा सातामा दुईपटकसम्म सोभराजलाई भेट्न कारागार पुग्ने गरेकी छिन् । सोभराज बाहिर निस्केपछि सँगै जिन्दगी बिताउने सपना साँचेर बसेकी निहिताले भारतमा रहेका सोभराजका आफन्तलाई भेटेको र उनीहरूसमेत सोभराजसँगको सम्बन्धबाट खुसी भएको बताएकी छन् ।
'बिकनी किलर' लाई सर्वस्वसहित जन्मकैद
'बिकनी किलर' र 'सिरियल किलर' जस्ता उपनाम पाएका प|mान्सेली नागरिक चाल्र्स सोभराजलाई सर्वस्वसहित जन्मकैद हुने पुनरावेदन अदालत पाटनको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।
७ पुस ०३२ मा अमेरिकी नागरिक कोन्निजो ब्रान्चिजको हत्या सोभराजले नै गरेको ठहर गर्दै न्यायाधीशद्वय रामकुमारप्रसाद शाह र गौरी ढकालको संयुक्त इजलासले शुक्रबार पुनरावेदन अदालतको फैसला सदर गरेको हो । ३ असोज ०६० मा काठमाडौंको रोयल क्यासिनेमा पक्राउ परेका सोभराज जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदालत पाटनको फैसलापछि हाल केन्द्रीय कारागारमा बन्दीजीवन बिताइरहेका छन् । सर्वोच्चको शुक्रबारको फैसलापछि सोभराजले अझै १४ वर्ष जेल सजाय भोग्नुपर्नेछ । जन्मकैदस्वरूप २० वर्षको कैद सजाय पाएका ६६ वषर्ीय सोभराजले ६ वर्ष जेलजीवन बिताइसकेका छन् । यसैगरी उनले जाली राहदानी प्रयोग गरेको अभियोगमा पुनरावेदनले गरेको फैसलालाई समेत सर्वोच्चले सदर गरेको छ ।
सोभराज नेदरल्यान्डका नागरिक हिन्द्रीकस विन्टान्जाको नामको पासपोर्ट प्रयोग गरेर नेपाल आएका थिए । पुनरावेदनले जाली राहदानी मुद्दामा उनलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
सर्वोच्चले सोभराजले ब्रोन्चिजलाई मारेको देख्ने प्रत्यक्षदर्शी नभए पनि 'परिस्थितिजन्य प्रमाण'ले उनले ब्रोन्चिजको हत्या गरेको प्रमाणित भएको बताएको छ । सोभराजले बयानका क्रममा ब्रोन्चिजलाई नचिनेको र एकपटक पनि नभेटेको उनको दाबी झुटो भएको ठहर गरेको छ । 'सोभराजले गरेका दाबी झुटो देखिएको छ,' फैसला सुनाउँदै न्यायाधीश शाहले भने, 'परिस्थितिजन्य प्रमाणले उनले ब्रोन्चिजको हत्या गरेको प्रमाणित भएको छ ।'
अदालतले परिस्थितिजन्य प्रमाणका लागि भारतीय अदालतले सोभराजविरुद्धको मुद्दामा गरेको फैसलालगायतका कागजातलाई समेत आधारका रूपमा लिएको शाहले बताए । 'प्रमाण ऐनअनुसार भारतीय सुपि्रम कोर्टले गरेको फैसलालाई समेत प्रमाणका रूपमा लिएका छौँ,' न्यायाधीश शाहले भने ।
सोभराजले ०३२ मा अमेरिकी नागरिक ब्रोन्चिज र क्यानाडेली नागरिक लरेन अर्माेन्ड क्यारेरीको हत्या गरेका थिए । ब्रोन्चिजलाई मारेको अभियोगमा सोभराजविरुद्ध ०३२ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । अदालतमा मुद्दा दायर भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका सोभराज फरार भएपछि सो मुद्दालाई तामेलीमा राखिएको थियो ।
०६० असोजमा उनी काठमाडौंबाट पक्राउपरेपछि पुनः उनको मुद्दा सुरु गरिएको थियो । सोभराजलाई क्यारेरीको हत्याको अभियोगमा जिल्ला अदालत भक्तपुरमा समेत मुद्दा दायर गरिएको छ । सर्वोच्चमा ब्रोन्चिज हत्याको मुद्दा चलिरहेकाले सो मुद्दालाई भने तामेलीमा राखिएको छ ।
ब्रोन्चिजको हत्या सोभराजले नै गरेको ठहर गर्दै जिल्ला अदालतलले २८ साउन ०६१ मा पाँच वर्षअघि सोभराजलाई जन्मकैदको फैसला गरेपछि उनी त्यसलाई बदर गर्न माग गर्दै पुनरावेदन अदालत पुगेका थिए । पुनरावेदनले समेत जिल्ला अदालतको फैसलालाई सदर गरेपछि सोभराजले पुनरावेदन अदालतको फैसलाविरुद्ध २४ कात्तिक ०६२ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । पाँच वर्ष लामो सुनुवाइपछि सर्वोच्चले ३० असारमा उनको मुद्दाको फैसला गर्ने बताएको थियो । तर, सो दिनसम्म बहसनोट, प्रमाणका लागि पेस गरिएका कागजातलगायत अध्ययन गर्न नभ्याएको भन्दै शुक्रबारका लागि फैसलाको मिति तोकिएको हो ।
सर्वोच्चमा सोभराजको तर्फबाट कानुन व्यवसायीहरू शकुन्तला थापा, राजाराम ढकाल, रामबन्धु शर्मा, लक्ष्मीबहादुर निराला, लोकभक्तलगायतले बहस गरेका थिए । सरकारका तर्फबाट डा. रजितभक्त प्रधानांग, रमेशप्रसाद कोइराला र विश्वलाल श्रेष्ठले सर्वोच्च अदालतमा बहस गरेका थिए ।
चल्र्स सोभराजको ५८ वर्षे आपराधिक यात्रा
भारतीय बाबु र भियतनामी आमाबाट जन्मेका सोभराजको वास्तविक नाम ह्याचन्द भाओनानी गुरुमुख चाल्र्स सोभराज हो । सोभराजमाथि विभिन्न देशमा १२ जनाको हत्या गरेको अभियोग लागेको छ ।
६ अपि्रल १९४४ मा भियतनाममा जन्मिएका सोभराजविरुद्ध भारतलगायत एक दर्जन देशका मुद्दा दर्ता भएका छन् । आफ्नी भियतनामी आमाले भारतीय लोग्ने छाडेर प|mेन्च नागरिकसँग बिहे गरेपछि उनी आमासँगै प|mान्स पुगेका हुन् ।
उनले आठ वर्षको उमेरदेखि नै आपराधिक गतिविधि सुरु गरेका थिए । १९ वर्षको उमेरमै उनी पहिलोपटक चोरीको अभियोगमा उनी जेल परेका थिए । जेलबाट केही समयपछि छुटेपछि पनि उनी अपराधमा संलग्न भइरहे । उनले कार चोरीलाई मुख्य पेसा नै बनाएका थिए । प्रहरीले उनको व्यापक खोजी गरेपछि विभिन्न अपराधमा संलग्न भएपछि पुनः पक्राउ हुने डरले उनी सन् १९७० मा भारतको मुम्बई पुगेका थिए ।
भारतमा पनि उनले कार चोरी गर्ने कामलाई निरन्तरता दिए । सन् १९७३ मा होटल अशोकामा रहेको गहनाको पसलमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा उनी भारतमा पक्राउ परेका थिए । रिहा भएको केही समयपछि उनलाई भारतीय प्रहरीले नयाँदिल्लीको एक रेल्वे स्टेसनबाट पक्राउ गरेको थियो । अदालतको आदेशमा धरौटीमा रिहा भएका उनी अफगानिस्तानको काबुल पुगे ।
काबुलको एउटा होटलमा केही दिन बसेर पैसा नतिरी भागेका सोभराजलाई अफगानिस्तान र इरानको सिमानाबाट अफगान प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको फन्दामा परेपछि उनले बिरामीको बहाना गरी आफूलाई अस्पताल भर्ना गराए । अफगानिस्तानको 'बजिर अकबर खान' नामक अस्पतालबाट भागेपछि उनी इरान पुगेका थिए । इरानको गुप्तचर प्रहरीले उनलाई पक्राउ गरे पनि सजिलै उम्कन सफल भएका सोभराज केही समयपछि एथेन्समा पक्राउ परे । एथेन्सको सबैभन्दा पुरानो जेलमा रहेका वेला उनलाई जेलभित्रबाट सुरुङ खनेर बाहिर निस्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएर आइसल्यान्डमा रहेको विश्वकै सबैभन्दा सुरक्षित मानिएको जेलमा राखियो । उनी सो जेलसमेत तोडेर भागेपछि त्यतिवेलै इन्टरपोलमार्फत उनलाई विश्वका सर्वाधिक खोजीका अपराधीको सूचीमा राखिएको थियो ।
आइसल्यान्ड जेल ब्रेक गरेपछि सोभराजले लुटपाटका साथै हत्यामा समेत संलग्नता जनाए । उनी आइसल्यान्डबाट बैंकक पुगेका थिए । बैंककमा उनले एकैसाथ तीन महिलाको हत्या गरेका थिए । प्रहरीले बैंककको कान्ति हाउसबाट उनलाई पक्राउ गरेको थियो । तर, त्यहाँबाट समेत भाग्न सफल भएका उनी हङकङ पुगेर केही महिलाको हत्या गरेपछि नेपाल आए । नेपालमा दुई विदेशी नागरिकको हत्या गरेपछि उनी थाइल्यान्ड हुँदै पुनः भारत आइपुगे । प्रहरीले भारतीय नागरिकको हत्याको आरोपमा नयाँदिल्लीमा रहेको विक्रम होटलबाट पक्राउ गर्‍यो ।
सोभराज सन् १९७५ देखि १९८५ सम्म हत्या र जेलबाट भागेको आरोपमा पटक-पटक जेल परे । सोभराज जुन विदेशी नागरिकको हत्या गर्थे, उसैको पासपोर्ट प्रयोग गरेर हिँड्थे ।
हत्याको आरोपमा पुनः जेल परेका उनले मार्च १९८६ मा उनले जन्मदिनको अवसरमा भन्दै जेलभित्रै आफ्नो भव्य पार्टी दिए । पार्टीमा जेलमा रहेका सबैलाई नसालु औषधि खुवाएर लठ्ठ पारेपछि उनी फरार भए । त्यसपछि कतै नदेखिएका उनी २००३ सेप्टेम्बर १७ मा अचानक काठमाडौंमा देखिएका थिए । सोभराज याक एन्ड यतीबाट बाहिरँदै गरेको तस्बिर द हिमालयन टाइम्सले तस्बिरसहित छापेपछि सोभराज काठमाडौंमा रहेको खुलेको थियो । त्यसपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्‍यो । थुप्रै देशको जेल तोडेर भाग्न सफल सोभराजले नेपाली जेल तोड्ने प्रयास भने गरेनन् । बरु उनले आफ्नै वकिलकी छोरीसँग जेलभित्रैबाट विवाह गरे ।
नेपालमै जेल परेपछि शोभराजले जुनसुकै हालतमा पनि जेल तोड्ने काम छाडेर कूटनीतिक दबाबबाट निस्कने प्रयास भने गरेका थिए ।
यसरी भएको थियो ब्रोन्चिजको हत्या
शोभराजले डिसेम्बर १९७५ -२०३२ पुस) मा नेपाल भ्रमणमा आएका अमेरिकाको क्यालिफोर्नियाकी कोन्निजो ब्रोन्चिज र क्यानडाका लरेन अर्माेन्ड क्यारेरीलाई आफ्नो प्रभावमा पार्दै लगेका थिए । शोभराजको प्रभावमा परेपछि उनीहरू शोभराजका लागि जे गर्न पनि तयार हुन्थे । उनीहरूसँग निकै नजिक भएपछि शोभराजले उनीहरूको साथमा रहेको बहुमूल्य रुबी माग गरे । तर, सोभराजलाई उक्त रुबी दिन इन्कार गरेपछि शोभराजले दुवैको हत्या गर्ने योजना बनाए । आफ्नो योजनाअनुसार २१ डिसेम्बरमा शोभराजले ब्रोन्चिजको हत्या गरे । र उनकी साथी क्यारेरीलाई सोल्टी होटलको ४१५ नम्बरको कोठामा बन्धक बनाए । एक दिन बन्धक बनाएपछि उनको पनि हत्या गरे । दुवैको हत्या गरिसकेपछि सोभराजले सेतो कार भाडामा लिएर ब्रोन्चिजको शवलाई कारमा राखी मनोहरा खोलाको किनारामा फालेर भक्तपुरतर्फ लागे । भक्तपुर र काभ्रेको साँगामा क्यारेरीको शव फालेपछि क्यारेरीकै राहदानी प्रयोग गरेर उनी रुबी लुकाउन बैंकक गए । बैंककमा एक दिन बसेपछि उनी भोलिपल्टै नेपाल फर्किएका थिए ।

source:nayapatrika