म्याड्रिड, साउन १ (एएफपी)- आफ्नो आर्थिक गतिविधिमा सुधार ल्याउन यसै साता बैकबाट १ सय ५५ मिलियन युरो
क्रृण स्विकृत गराएको स्पेनीस च्याम्पियन क्लब बार्सिलोनाले नयाँ खेलाडी अनुबन्धका लागि ५ करोड युरो खर्च गर्ने जनाएको छ।
'क्लबले यो सिजन नयाँ खेलाडी अनुबन्धका लागि लगभग ५ करोड युरो खर्चिनेछ', बार्सिलोनाको आर्थिक समितिका उपाध्यक्ष जाभियर फाउसले विज्ञप्ती प्रकासित गर्दे भनेका छन्।
बार्सिलोनाले गत मेमा यो विश्वकपका स्टार स्ट्राइकर स्पेनका डेभिड भिआलाई ४ करोड युरोमा क्लब भित्र्याएको थियो। यो सिजनमा बार्सिलोनाले आइभोरी कोस्टका डिफेन्डर याया टाउरे, फ्रेन्च स्ट्राइकर थियरी हेनरी र युक्रेनका डिफेन्डर डिमेट्रो च्युग्रानास्कीलाई अन्य क्लबलाई बेचेको छ।
टाउरे ३ करोड युरोमा इङलिस क्लब म्यानचेस्टर सिटी लागिसकेका छन्। च्युग्रानास्की १ करोड ५० लाख युरोमा युक्रेनको बलियो क्लब साख्टर डोनेस्कमा आवद्ध भइसकेका छन्। हेनरीको न्युयोर्क रेड बुल्ससंगको अनुबन्ध रकम अहिलेसम्म बार्सिलोना क्लबले खोलेको छैन। 'डेभिड भिआलाई क्लबमा भित्रयाउँदा लागेको रकम याया टाउरे र डिमेट्रो च्युग्रानास्कीको विक्रिबाट पूर्ती भएको छ', क्लबको विज्ञप्तीमा भनिएको छ।
बार्सिलोना हाल आर्सनलका कप्तान तथा स्पेनका मिडफिल्डर सेस फाब्रेगासलाई अनुबन्धित गर्ने अभियानमा सक्रिय छ। फाब्रेगासलाई अनुबन्धित गर्ने पहिलो प्रस्तावलाई आर्सनलले अस्विकार गरेपनि क्लबका नवनियुक्त अध्यक्ष सान्ड्रो रोसेल सक्रिय देखिएका छन्। तर, उनले फाब्रेगासलाई अनुबन्धित गर्ने योजनामा मंहगो रकम नतिर्ने बताइसकेका छन्। 'हामी अनावश्यक रकम तिर्ने छैनौ , ' सान्ड्रो भन्छन्। आर्सनलले फाब्रेगासको स्थानान्तरणको लागि बार्सिलोनासंग महंगो रकम माग गरेको थियो।
source:nagarik