नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीबाहेकका उम्मेदवारलाई समर्थन गर्न सकिने बताएका छन्। ओलीले नागरिकन्युजकर्मी गुणराज लुँइटेलसित गरेको कुराकानीको संक्षेप-
नागरिक : प्रधानमन्त्री निर्वाचनका दुईवटा निर्वाचनको असफलतापछि अब प्रतिक्षा साउन १७ को छ। के यसले कुनै परिणाम ल्याउला?
ओली : एमालेले ५ गतेको निर्वाचनका लागि एउटा निर्णय गरेको थियो। एमालेले बहुमत पुर्याउन होइन सहमति बनाउनका निम्ति दुई तिहाइ पुर्याउने र दुई तिहाइबाट प्रारम्भ गरेर सहमति तर्फ जाने निर्णय गरेको थियो। त्यो निर्णय यथावत् छ। यसको अर्थ विद्यमान अवस्थामा हामीले अहिले कसैलाई भोट नदिने भन्ने जुन निर्णय त्यतिबेला गरेको थियो त्यो हेरफेर भएको छैन। हामीले भोट दिने स्थिति यथावत् अवस्थामा छैन। त्यसको अर्थ परिस्थिति जस्ताको तस्तै रहने बढी सम्भावना रहन्छ।
नागरिक : सबैले एमालेलाई हेरिरहेका छन् केही निर्णय गर्छ कि भनेर। नयाँ स्थितिमा नयाँ निर्णय गरेर जान सक्ने स्थिति छैन?
ओली : अझै छ दिन बाँकी छन्। हामीबीच यस सम्बन्धमा परामर्श भएको छैन। १७ गते भोटिङ छ। आज बल्ल १० गते भयो। यसबीचमा केन्द्रीय कमिटीको चालु बैठक चालु हुन सक्छ। परिस्थिति जेसुकै भए पनि केन्द्रीय कमिटीको बैठक चालु छ र त्यो बैठक बिलम्ब नगरीकन बस्ने हिसाबले नै चालु राखिएको हो। जेसुकै गर्दा पनि केन्द्रीय कमिटीको बैठक छलेर होइन त्यसबाट जे निर्णय गर्नु पर्ने हो त्यो गर्नु बाञ्छनीय हुन्छ। बैठक बस्ने सम्भावना पनि नभएको होइन। बैठक नबसी रहेको अवस्थामा पहिलेकै निर्णय यथावत् छ भन्ने कुरा मैले गरेको हुँ।
नागरिक : अब निकासका लागि के गरे ठीक हुन्छ?
ओली : अहिलेसम्म हामीले राष्ट्रिय सहमति भनेका हौं। तर राष्ट्रिय सहमति बनेन भन्ने स्पष्ट छ। अब राष्ट्रिय सहमति बन्न पुष्पकमल दाहालजीले उम्मेदवारी फिर्ता लिने एउटैमात्र बाटो छ। बलजफ्ती सत्ताकब्जा गर्ने उद्देश्य बोकेको, हिंसाको नीतिको निरन्तरतामा रहेको र हतियार र लडाकु छोड्न तयार नभएको अथवा नागरिक राजनीतिक पार्टीमा रुपान्तरण हुन आफूलाई तयार नराखेको वा नभएको माओवादीलाई सरकारको नेतृत्वमा जान नदिने, त्यसलाई समर्थन नगर्ने भन्ने एमालेको नीति हो। त्यसकारणले माओवादीको नेतृत्वमा राष्ट्रिय सहमति हाललाई सम्भव छैन। त्यसो भएपछि पुष्पकमल दाहालजीले उम्मेदवारी फिर्ता लिएर उहाँहरूसमेत लागेर प्रयास गर्नुले राष्ट्रिय सहमतिको एउटा आधार बन्न सक्छ वा त्यस दिशामा प्रस्थान हुन सक्छ। रासका निम्ति त्यो मात्रै एउटा अवस्था देखिन्छ। अथवा यस प्रक्रियालाई अन्त्य गरेर राष्ट्रिय सहमतिको नयाँ प्रक्रिया प्रारम्भ गर्नु पर्यो। एमालेको एउटा सुस्थिर नीति छ, माओवादीको नेतृत्वमा सरकार बन्ने कुरामा समर्थन नगर्ने, स्वीकार नगर्ने। अरुको नेतृत्वमा नबन्ने भन्ने त्यस्तो होइन। अस्ति ५ गतेको निर्वाचनको हकमा हामीले दुई तिहाइ पुर्याएर जाने कुरामा प्रयास गर्ने, भएन भने कसैलाई मतदान गर्ने भन्ने हो। त्यो त्यतिबेलाका लागि हो। जुनसुकै व्यवधान जेसुकै परे पनि कुनै हेरफेर हुन नसक्ने भन्ने कुनै त्यस्तो निर्णय होइन। त्यसकारण निर्णय परिवर्तन गर्ने स्थिति पनि बन्न सक्छ। तर हतियारधारी माओवादीलाई नेतृत्व दिने कुरा पोहोर साल नै एमालेले चेतिसक्यो। त्यो सम्भव छैन। त्यति एमालेको सुस्थिर निर्णय छँदैछ।
नागरिक : अस्तिको चुनावमा झण्डै दुई तिहाइ मत पुगिसकेका आफ्ना अध्यक्षको प्रस्ताव फिर्ता गराएपछि पार्टीभित्र चिसोपन आएको देखिन्छ नि?
ओली : बिल्कुलै भ्रमपूर्ण कुरा हो त्यो। किनभने त्यो माधव नेपालको प्रस्ताव होइन। केपी ओलीको प्रस्ताव होइन। त्यो अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेलकै प्रस्ताव हो। त्यो सम्भव छैन भन्ने देख्दा देख्दै पनि किन असहमत देखिने भनेर चुप लागेको स्थिति हो र सर्वसम्मत ढंगले निर्णय गर्न अनुकुल वातावरण प्रदान गरिएको हो। त्यसपछि त्यस निर्णयलाई कार्यान्वयन गर्न समन्वयात्मक हिसाबले काम हुन सकेन। तर पनि आफ्नो ठाउँबाट प्रयास गरियो। त्यो सफल हुन नसकेपछि पार्टी निर्णय अनुसार काम भयो। त्यसमा कसले के गर्यो भनेर कसैलाई आरोप लगाउने, दोषारोपण गर्ने कुनै ठाउँ छैन। कसैको कारणले दुई तिहाइको सर्त राखिएको वा दुई तिहाइ पुगेपछि पनि फिर्ता लिइयो वा पुग्न लाग्दा फिर्ता लिइयो भन्ने होइन, त्यस्तो अवस्था नरहेर नै फिर्ता लिइएको हो। अब अर्को कुरा जस्तो हल्ला चलेको छ कि लगभग दुई तिहाइ भन्ने, त्यो कुरा साँचो होइन। माओवादीले जुन किर्ते समर्थन दिएको नाटक रचेको थियो, प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि नै आएर उसले आफ्नो समर्थन फिर्ता लिइसकेको थियो। त्यसबाहेक अरु दलहरूले संसदमा जेजे बोले त्यो सार्वजनिक ढंगले रेकर्ड गराएका छन्। कति भोट थियो स्पष्ट छ।
नागरिक : त्यहाँ ३९१ भोट थिएन?
ओली : एमाले बाहेक सरिता गिरी एकजनाले चाहिँ डल्लै समर्थन गर्नु भएको स्थिति थियो। म भित्र पसेको थिइँन। मैले टेलिभिजनमा हेर्दा त्यस्तै देखिन्थ्यो। हाम्रो निर्णय बमोजिम ४०१ पुग्ने स्थिति थिएन। जुन समर्थन भनिएको थियो, त्यो पनि कपटपूर्ण, धोकापूर्ण थियो, त्यो समर्थनै होइन। त्यो पनि प्रक्रियाभन्दा अगाडि नै फिर्ता लिएको अवस्था थियो।
नागरिक : अब कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने गरी निर्णय हुने अवस्था छ?
ओली : केन्द्रीय कमिटी सार्वभौम सत्ता सम्पन्न छ। त्यसले निर्णय गर्न सक्छ। त्यसले निर्णय गर्न नसक्ने भन्ने होइन। र, त्यसले माओवादी नेतृत्वमा हुन सक्दैन भन्ने कुरा दोहोर्याइतेहेर्याइ भनेको छ। अरु कसैको सम्बन्धमा समर्थन गर्न नसकिने भनेको छैन। जब हामी राष्ट्रिय सहमितिको कुरा गर्छौं भने सबै ठाउँमा निषेध गरेर माओवादीको जस्तो आफ्नै नेतृत्वमा मात्रै सहमति हुन्छ भन्ने कुराले राष्ट्रिय सहमतिलाई विथोल्छ। त्यसकारण हतियारसहितको माओवादीलाई हुँदैन बाँकीका सम्बन्धमा निषेध र नकारको स्थिति छैन।
नागरिक : उसो भए चारपाँच दिनमा तपाईंहरूको पार्टीले यससम्बन्धमा बैठक गरेर निर्णय गर्न सक्छ?
ओली : हुन्छ नै भन्न सक्दिन हुन पनि सक्छ।
नागरिक : त्यस्तो निर्णय भए फ्लोर क्रस हुनसक्छ भन्ने छ नि?
ओली : त्यो सम्भव छैन। त्यो एमालेलाई नबुझेको कुरा हो। जेसुकै जस्तोसुकै निर्णय भए पनि एमाले सभासदहरूले फ्लोरक्रस गर्दैनन्। त्यति अनुशासनहिन र अराजक र पार्टी निर्णयप्रति होइन अरुप्रति त्यस्तो बफादारिता एमाले सभासदहरूमा छैन। माओवादीले समर्थनको नाटक गरेको आन्तरिक फाटो पार्नका लागि हो। त्यसमा केही मात्रामा सफल पनि भएको छ। यो कुनै रणनीतिक हिसाबले थिएन, यो त इमानदार प्रयास थियो भन्ने भाषण पनि सुनियो। तर कति इमान्दार प्रयास थियो भन्ने कुरा संसदका अभिव्यक्ति, अघिपछिका अभिव्यक्तिबाट स्पष्ट भएको छ र खुदै माओवादी अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्ति र अन्तर्वाताले पनि स्पष्ट पारेको छ।
नागरिक : एमालेमा दुई पक्ष देखियो, एउटा माओवादीसँग जाने र अर्को त्यसलाई नकारेर जाने हो?
ओली : त्यो गलत कुरा हो। एकाध मान्छेको माओवादीका सम्बन्धमा भ्रमपूर्ण दृष्टिकोण होला। तर, एमालेभित्र त्यस्तो भ्रमपूर्ण दृष्टिकोण छैन। कोहीकोही पछि कुदन सक्छन्।
नागरिक : पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुअघि तपाईंलाई सभासद र कार्यवाहक अध्यक्ष बनाउनुपर्ने शर्त अघि सारेको हो?
ओली : त्यो साह्रै घटिया मनोवृत्तिको अराजनीतिक कुरा हो। राजनीतिक तर्क बहस नगर्ने अनि भारतले अह्राए अनुसार गर्दैछन् पनि भने। ती खालका छिचरा, गैरजिम्मेवार, निराधार, हावादारी, बेइमान तत्वहरूका सम्बन्धमा मलाई केही भन्नु छैन। ती तत्वहरूले यस्तो यस्तो बार्गेन गरेका थिए भनेर हल्ला चलाइदिन सक्छन्। न मैले त्यस्तो कुरा केही भनेको छु। म सोह्र बर्ष सभासद सांसद भएकै हुँ। अनेक निर्वाचनमा निर्वाचित भएकै हुँ। बिमारी भएका अवस्थामा हाटहुट लाटलुटका बेला मैले उम्मेदवारी दिएर मुकदर्शक रहने खालको स्वास्थस्थिति रहेको बेला परिणाम कसरी त्यस्तो भयो, त्यो आफ्नो ठाउँमा होला। मलाई सभासद हुनु कुनै रहरको विषय भएको होइन। अर्को म अध्यक्षको उम्मेदवार भएको हुँ। अनि कसैले अधिकार प्रत्यायोजन गरिदिएर, कुनै लियन पदमा, कुनै निमित्त भएर, कसैको कार्यवाहकका रुपमा काम गर्ने इच्छा बोकेर हिड्ने मान्छे होइन। म त अध्यक्षमा लडेको थिएँ, मैले हुन खोजेकै हो भने पनि अध्यक्ष हो। कार्यवाहक हुन खोज्यो के हुन खोज्यो भन्ने बेकारको कुरा हो। मैले त्यस्तो कुरा कहिँ उठाउँदै उठाइन।
नागरिक : कुनै साथीमार्फत् गरिदिएको हो कि?
ओली : त्यस्ता बेइमान तत्व छँदैछन्, त्यस्ताले हल्ला चलाउँछन्। खासगरी पदलोलुप तत्वले यस्तो खेती गर्छन्। यो पदलोलुपहरूको काम हो।
नागरिक : खनालले त दुई घण्टा पनि समय पाइन भन्नुभयो नि?
ओलीः दुई घण्टा होइन एघार बजे सुरु हुने भनेको पाँच बजे सुरु हुनु भनेको दुई घण्टा हो र?
नागरिक : मलाई दुई घण्टा बढी दिएको भए पुगिसक्ने थियो भन्ने छ नि?ओलीः (हाँस्दै) म यस्ता एजम्सनमा छलफल गर्न चाहन्न। एउटा मान्छेले यति समय भएको भए हुन्थ्यो भनेको भए निर्वाचन प्रक्रिया कहाँकहाँ बिलम्ब हुन्छ। धन्य, अरु पार्टीले त्यति बिलम्ब गर्न उदारता देखाएको हो। समझदारी देखाएको हो। त्यो भन्दा बढी दुई दिन अरु थपिदिएको भए, दुई हप्ता थपिदिएको भए, दुई महिना मैले खेल्न पाएको भए भन्ने कुराको के अर्थ हुन्छ?
नागरिक : १७ गते अघि बैठक बोलाउन तपाईंहरूले प्रस्ताव त गर्नुपर्दैन?
ओलीः हामी छलफल गर्छौँ।
नागरिक :अहिले भइरहेको छ?
ओलीः अहिलेसम्म त्यस्तो छलफल भएको छैन, अब हुन्छ।
नागरिक :तर, १७ गते अगाडि नै गर्नुहुन्छ?
ओलीः बैठक बस्ने नबस्ने कहिले बस्ने भन्ने कुरा छ।
नागरिक :तर, तपाईंले यो बैठक निरन्तर हो भन्नुभयो नि?
ओलीः निरन्तर हो। म पनि छक्क छु के भने चुपचापसँग बैठक टाल्ने, बैठकबाट तर्किने कुरा किन आइरहेको छ? बैठक बोलाउनका लागि मुस्किल पर्ने खालको स्थिति किन हुँदैछ, त्यो मैले बुझिरहेके छैन।
नागरिक : तपाईंहरूले माग गर्न मिल्दैन?
ओलीःमिल्छ। तर, निरन्तरको बैठक मागै गर्नुपर्ने विषय होइन।
नागरिक :कति जनाले माग्न मिल्छ?
ओलीःमिल्न त बहुसंख्यकले माग्न मिल्छ।
नागरिक :१७ गतेअघि बैठक नबोलाए बहुसंख्यकले माग्न सक्नुहुन्छ?
ओलीःत्यो धारणा बनाइएको छैन। त्यसमा विचार गर्नुपर्छ। छलफल गर्नुपर्छ।
नागरिक :पाँच गतेको बैठकपछि तपाईंहरूको कुनै आन्तरिक बैठक, छलफल, कुराकानी भएको छैन?
ओलीःअचम्म त के भने चार गते निर्णय भयो। वार्ता समितिको संयोजक हटाइयो भन्ने जुन हल्ला थियो, त्यसलाई सच्याइयो त्यहाँ त्यो भ्रमपूर्ण प्रचार हो, त्यस्तो होइन भनेर। कसले समापन मन्तव्यमा के मनसाय व्यक्त गर्छ, त्यो निर्णय हुँदैन। त्यसकारण त्यो निर्णय होइन भनेर सच्याइयो। फेरि वार्ता समितिको संयोजक फलानै हो भनेर। तर, विल्कुलै अरु अरु प्रकारका मान्छे परिचालन गरेको पाइयो।
नागरिक :वार्ता संयोजकलाई जिम्मेवारी दिइएन?
ओलीःवार्ता संयोजकलाई त जिम्मेवारी पनि दिइएन। त्यो कुनै सम्पर्क सम्बन्ध राखिएन। र मैले पनि अनौठो महसुस गरे। तर, पनि आफ्नो काम आफूले आफ्नो ढंगले गरियो।
नागरिक :तपाईंले अरु पार्टी र नेतासँग कुरा गर्नुभयो?
ओलीःपार्टीहरूसँग कुरा गरे। सहयोग मागेँ।
नागरिक :तर, तपाईंले सहयोग मागेको भए दुई तिहाइ पुग्थ्यो कि?
ओलीःमैले माग्दैखेरी खुरुखुरु दिन्थे भने त शायद आफ्नै लागि प्रधानमन्त्री माग्थेँ कि? त्यति सजिलो पनि होला र? मैले त्यति ठूलो कुरा नमागेर मतैसम्म मागेको थिए। के कारणले हो, मत दिन अरु पार्टीले दिएनन्।
नागरिक :के कारणले होला?
ओलीःअब त्यसमा खै मन नलागेर त होला नि। अरु के भन्नु।
नागरिक :कांग्रेससँग केही भेटघाट छलफल वा यो गठबन्धनको निरन्तरताको कुरा भएको छ?
ओलीःखास कुरा भएको छैन। कुरा त बाटो हिड्दा पनि भेट हुन्छ।
नागरिक :अहिलेको गठबन्धनलाई निरन्तरता दिने हो?
ओलीःत्यस्तो पनि भनेको छैन।
नागरिक :तर, माओवादी पार्टीको नेतृत्वमा सरकार बन्नु हुँदैन?
ओलीःत्यो त हो। त्यो त बटम लाइन हो। तर, प्रतिवद्धताजस्ता कुराले सहमति जस्ता कुराले हस्ताक्षरजस्ता कुराले हुँदैन। यो त २०६५ असार एघार गते पुष्पकमल दाहाल प्रधानमन्त्री हुनभन्दा अगाडि गरेका बाचाकबुलको कार्यान्वयन नभएको कारणले पछिल्लोपटक जेठ १४ गते भएको सहमति कार्यान्वयन नभएकोबाट। माओवादीले गर्नुपर्ने कुनै पनि काम नगर्ने। आफूले शब्दका मायाजाल बुनेर अघि बढ्नुपर्ने कारणले उसको विश्वास गर्न सकिन्न। उसको काम हेरर कामको परिणामपछि मात्र नेतृत्व दिन सकिन्छ।
नागरिक :मधेसी दलको सहयोगमा सरकार बने के हुन्छ?
ओलीःहाम्रो साथ हुँदैन। सहयोग हुँदैन। हामी स्वीकार गर्दैनौं। समर्थन गर्दैनौं।
नागरिक :संविधान निर्माणमा त्यसले असर पार्छ?
ओलीःसंविधान निर्माण हुन माओवादीले दिँदैन। अहिलेसम्म शान्तिप्रक्रिया सफल हुने र संविधान लेख्ने बाटो समातेकै छैन। माओवादी त्यसका निम्ति तयारै छैन।
नागरिक :माओवादी त धेरै फेरिएको छ, खालि तपाईंहरूले मात्र त्यो देख्न नसकेको भन्ने छ नि?
ओलीः(हाँस्दै) त्यसो भए त भइहाल्थ्यो। लडाकु किन चाहिन्थ्यो? हतियार किन चाहिए। समायोजन गर्न तयार हुनु पर्ने। जागिरै ख्वाउने हो, सेनै किन चाहियो उसलाई?
नागरिक :अहिलेसम्म माओवादी त्यता नलाग्नुको कारण के हो?
ओलीःसत्ता कब्जाको उद्देश्य। हिंसाको नीतिको निरन्तरता। त्यही हतियार र लडाकु देखाएर, भजाएर त्यसकै प्रयोग गरेर सत्ता कब्जा गर्न सक्नु भन्ने उसको मान्यता हो। त्यसकारण शान्ति प्रक्रिया सफल किन भएन, माओवादीले हुन दिएन। संविधान किन लेखिएन माओवादीले लेख्न दिएन। हतियार उठाउने ऊ हतियार नछोडुञ्जेल शान्ति कसरी हुन्छ?
नागरिक :त्यसो भए १७ गते अघि एउटा निर्णय निकासको निर्णय हुन पनि सक्छ?
ओलीः- यदि एमालेले कुनै निर्णय गर्यो भने त्यसले निकासको बाटोतर्फ डोहोर्याउँछ।
नागरिक :तर, त्यो निर्णय भनेको माओवादी नागरिक पार्टी हुनुपर्छ भन्ने हो?
ओलीःमैले धेरै अघि माओवादीलाई भनेको हो। तपाईंहरूले हतियार छोड्नु पर्छ। विसाएर हुँदैन। विसाएको त उठाइहाल्छ नि। कम्मरमा तरबार छ, निकालिहाल्छ नि। प्रतिवद्धताको अर्थ छैन। कार्यान्वयनको आवश्यकता छ।
नागरिक :एमालेमै पनि एकथरी नेतालाई दिएको आश्वासन उसो भए यही थियो?
ओलीःकुशलतापूर्वक गरिएको ढाटको खेती।
source:nagarik