मुरलीको कीर्तिमान कहिले तोडिँदैनः शेन वार्न :

लन्डन, साउन ७ - अस्ट्रेलियाका महान शेन वार्नले मुथैया मुरलीथरनको ८ सय विकेटको कीर्तिमान कहिल्यै
नतोडिने दाबी गरेका छन्। मुरलीथरनले आफ्नो अन्तिम टेस्टमा हात पारेको उपलब्धिबाट खुशी छन् वार्न। मुरलीथरनपछि सर्वाधिक विकेट लिने सूचीमा वार्न नै आउँछन्।

‘मलाई लाग्दैन मुरलीथरनको कीर्तिमान नजिक कोही पुग्छन्, त्यसैले मुरलीथरनलाई ८ सय विकेट लिएकोमा बधाई छ,' वार्नले स्काई स्पोर्टसलाई भने, ‘उनले जसरी सफलता हात पारे त्यो आश्चर्य नै छ, उनको बलिङ एक्सनलाई लिएर थुप्रै विवाद भए, तर उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सफाइ दिँदै खेल्न स्वीकृति दियो, बलिङबाट जुन सफलता उनले पाए, त्यो आश्चर्य नै छ।'

वार्नले श्रीलंकाको स्पिन बलिङ मैत्रीपूर्ण विकेटमा मुरलीथरनको सामना गर्नु निकै कठिन चुनौती भएको बताए। पछिल्लो दुई दसकमा वार्न र मुरलीथरन विश्वका दुई उत्कृष्ट स्पिनरका रूपमा रहे, जहाँ यी दुईको भेट शीर्षताको लडाईंजस्तै हुने गरेको वार्नले बताए।

‘हामी सँधै एक अर्का प्रदर्शन केलाइरहेको हुन्थ्यौं, मुरलीको मनपर्ने कारणहरू धेरै छन्, उनी जहिल्यै पनि हाँसिरहेका हुन्छन्, उनको अनुहार सधैँ क्रिकेटमा रमाइरहेको हुन्छ,' वार्नले भने, ‘म उनलाई टाढाबाटै सम्मान गर्थे, जतिखेर हामी सँगै खेल्थ्यौं, त्यतिखेर हामी कसले राम्रो खेल्नेमा केन्द्रित हुन्थ्यौं, अस्ट्रेलिया र श्रीलंकाको खेल भए पनि हामी दुईबीचको प्रतिस्पर्धाले माहौल रमाइलो बन्थ्यो।'

source:nagarik