खनाललाई माओवादीले दिएको समर्थन 'नक्कली' थियोः भूमिसुधार मन्त्री :

श्रावण १३ - भूमिसुधार मन्त्री डम्बर श्रेष्ठले प्रधानमन्त्री निर्वाचनमा माओवादीले दिएको भनिएको समर्थन 'नक्कली' भएको
टिप्पणी गरेका छन् ।
'वास्तविक रुपमा खनाललाई माओवादीले समर्थन दिएको भए माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री उमेदवारी फिर्ता हुन्थ्यो,' सुकुम्बासीहरुलाई पुर्जा वितरण गर्न बिहीबार यहाँ आएका मन्त्री श्रेष्ठले भने, 'तर त्यस्तो नक्कली समर्थन गर्ने खेल माओवादीको एमालेलाई झुक्याउने खेल मात्र थियो ।' उनले प्रधानमन्त्रीका उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका नेता रामचन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरे ।
बहुमतीय सरकारले संविधान निर्माण र शान्ति प्रक्रिया सफल पार्न नसक्ने भएकाले सहमतीय सरकार बनाउन दुवै नेताले उम्मेदवारी फिर्ता लिनुको विकल्प नभएको उनको भनाइ थियो । उनले ठूला दलमा सहमति नभए साना दललाई सरकारको नेतृत्व दिन सुझाव दिए ।
नेकपा मालेका नेतासमेत रहेका भूमिसुधार मन्त्री श्रेष्ठले माओवादीले वाम-लोकतान्त्रिक गठबन्धन फुटाउने षड्यन्त्र गरेको आरोप लगाए । माओवादी राष्ट्रिय निकासको सट्टा बाम र लोकतान्त्रिक ध्रुवीकरण गराउने खेलमा लागेको जनाउँदै उनले बाम र लोकतान्त्रिक छुट्टा छुट्टै ध्रुवीकरण बनेमा देशमा ठूलो दर्घटना हुन सक्ने भएकोले बर्तमान गठबन्धन कायम राख्नु पर्ने बताए ।   

source:kantipur