सरकार निर्माणमा विदेशी हस्तक्षेप अस्वीकार्यः माओवादी :

काठमाडौं, श्रावण १९ - माओवादीले सरकार निर्माणमा विदेशी हस्तक्षेप भए त्यसलाई स्वीकार गर्न नसकिने
जनाएको छ । भारतीय प्रधानमन्त्रीको दूत बनेर पूर्व विदेश सचिव श्याम शरण आएलगत्तै माओवादीको यस्तो प्रतिक्रिया आएको हो ।
बुधबार अध्यक्ष पुष्पकमल दाहालको नयाँ बजारस्थित निवासमा बसेको पदाधिकारी बैठकले विदेशी हस्तक्षेप अस्वीकार्य हुने निर्णय गरेको हो । 'हामीलाई विदेशी हस्तक्षेप स्वीकार्य छैन, हामी नेपाली जनताको आत्मनिर्णयको अधिकार प्रयोग गर्छौं,' बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने । उनले शान्ति र संविधान निर्माणका लागि विदेशीले पनि सुभेच्छा र सदभाव भने प्रकट गर्न सक्ने बताए । श्याम शरणले माओवादी अध्यक्ष दाहाललाई पनि भेट्ने कार्यक्रम छ ।
माओवादीले शुक्रबार हुने प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी फिर्ता नलिने दोहोर्‍याएको छ । बैठकले आफ्नो दललाई सहयोग गर्न संविधानसभामा रहेका दलहरुलाई आग्रह गरेको छ । 'यदि कांग्रेस र एमाले अलिकति पनि इमान्दार छन् भने सहमतिका लागि पहल गर्न सक्छन्,' उनले भने, 'त्यसका लागि कांग्रेसले उम्मेदवारी फिर्ता लिएर हाम्रा अध्यक्षलाई सहयोग गर्नुपर्छ ।' एमालेले उम्मेदवारी फिर्ता लिएर सहमतीय सरकार गठनका लागि अग्रसरता देखाउन माओवादीलाई आग्रह गरेको थियो ।
माओवादीले 'पैसा दिएर फोरमका सभासदलाई भोट लगाउन किनेको' भन्ने समाचारप्रति खण्डन गरेको छ । मधेसी जनअधिकार फोरमका ११ सभासदले पार्टी निर्णयविरुद्ध माओवादीलाई भोट लगाएका थिए ।

source:kantipur