काठमाडौं, भदौ ४ - अमेरिकासँग ५५ रनले पराजित भएपछि नेपालको आइसिसी पेप्सी विश्व क्रिकेट लिग
डिभिजन-४ बाट बढुवा हुने सम्भावना लगभग सकिएको छ। बिहीबारको पराजय इटालीको बोलिनियामा भइरहेको प्रतियोगितामा नेपालको दोस्रो हो। यसअघि नेपाल दोस्रो खेलमा तान्जेनियासँग पराजित भएको थियो।
गत फेब्रुअरीमा नेपालले काठमाडौंमा अमेरिकालाई फाइनलमा ५ विकेटले पराजित गर्दै डिभिजन-५ को उपाधि जितेर डिभिजन-४ मा उक्लिएको थियो। तर अमेरिकासँगको हारले शीर्ष दुई टोलीमा अटाई डिभिजन-३ मा उक्लिने सम्भावना सकिसकेको अवस्थामा नेपालका लागि शुक्रबार क्यामन आइल्यान्डविरुद्धको खेल रेलिगेसन जोगाउन निकै महत्त्वपूर्ण हुनेछ। नेपालले खेल जितेमा डिभिजन-४ मा अडिने छ।
अमेरिकाले अन्तिम खेलमा अर्जेन्टिनालाई पराजित गरेमा डिभिजन-३ मा उक्लिने छ। लगातार चार खेल हार्दै अर्जेन्टिनाले रेलिगेसनलाई स्वीकारिसकेको छ। अर्जेन्टिनाले अमेरिकालाई ठूलो अन्तरमा पराजित गरेमा मात्र नेपालको झीनो सम्भावना बाँकी रहन्छ। आयोजक इटाली र तान्जेनियाबीचको विजेता फाइनलमा पुगेर बढुवा हुने छन्। इटालीले बिहीबार क्यामन आइल्यान्डलाई ४७ र तान्जेनियाले अर्जेन्टिनालाई ३ विकेटले पराजित गरे। अमेरिका, इटाली र तान्जेनियाले ३/३ खेल जितेका छन्। हारसँगै २०१५ को विश्वकपमा छनोट हुने नेपालको सपना पनि सकिएको छ। विश्वकपमा छनोट हुन यस पटक नेपाल कम्तीमा डिभिजन-३ मा पुग्नुपर्ने थियो।
पिएनारोमा २ सय ४ रनको चुनौतीपूार्ण लक्ष्य लिएर आएको नेपाल तीन बलअगाडि १ सय ४८ रनमा सीमित भएको थियो। कप्तान पारस खड्काले नेपालका लागि सर्वाधिक ४४ रन बनाए। अनिल मण्डल (१) दोस्रो ओभरमै आउट भएपछि आएका शक्ति गौचनले ३६ बल खेलेर एक रनमात्र बनाउन सकेपछि नेपाल दबाबमा आएको थियो। त्यसमा महेश क्षेत्री पनि आउट भए।
पारसले उपकप्तान ज्ञानेन्द्र मल्लसँग चौथो विकेटमा १९.२ ओभरमा ६९ रन जोडेर नेपाललाई आशा देखाएका थिए। तर ठूलो शट खेल्नेक्रममा स्टेप आउट गर्दा स्टम्पआउट भएपछि नेपालको आशा पातलिएको थियो। पारसले ७३ बल खेल्दै ५ चौका प्रहार गरे। अमेरिकाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै आएका ज्ञानेन्द्रले ७२ बलमा २ चौकासहित ३४ रन बनाए।
त्यसपछि आएका प्रदीप ऐरी २, बसन्त रेग्मी ११, विनोद दास ६ र अमृत भट्टराई ६ रन बनाई आउट भए। राहुलकुमार बिक ११ रनमा अविजित रहे। अमेरिकाका ओसमान सुजा र मुहम्मद घोषले ३/३ विकेट लिए।
यसअघि सुशील नाडकर्णीको अविजित ६४ रनमा टस जितेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ३ रन बनायो। भारतबाट यु-१९ खेलिसकेका नाडकर्णीले ८५ बलको सामना गरी ३ चौका र दुई छक्का प्रहार गरे। उनको सो प्रदर्शनमा अमेरिकाले अन्तिम ५ ओभरमा ३७ रन बनाएको थियो। बिहीबारसहित डिभिजन-४ मा अमेरिकाले जितेको सबै तीन खेलमा उनी म्यान अफ द म्याचमा चुनिएका छन्।
गत फेब्रुअरीमा नेपाललाई डिभिजन-५ को समूह चरणमा ५ विकेटले पराजित गर्दा पनि अविजित ५७ रन बनाउँदै म्यान अफ द म्याचमा चुनिएका नाडकर्णी बिहीबार पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका थिए। उनले इनिङको अन्तिम बलमा पारसलाई छक्का प्रहार गरे।
अमेरिकाले पहिलो खेलमा तान्जेनियालाई पराजित गर्दा अविजित ६८, दोस्रोमा क्यामन आइल्यान्डलाई ९ विकेटले पराजित गर्दा अविजित ८४ रनसहित अघिल्लो दिन इटालीसँग पराजित हुँदाको खेलमा पनि नाडकर्णीले ओपनिङ ब्याटिङ गरेका थिए। तर नेपालका तीन देब्रे हाते स्पिनरलाई मध्यनजरलाई राख्दै अमेरिकाले उनलाई तल राखेर लुक राइट र लेनोक्स कुसजस्ता आक्रमक खेलाडीलाई अगाडि पठाएको थियो।
देब्रे हाते सिमर अमृत भट्टराईले इनिङको दोस्रो बलमा ओर्लान्डो बेकरलाई खाता नखोली पवेलियन फर्काएर अमेरिकालाई सुरुवाती झट्का दिएका थिए। तर अर्का ओपनर राइटले टोलीमा फिर्ता आएका विनोद दासलाई दोस्रो ओभरमा छक्का प्रहार गरी अमेरिकाको उद्धेश्य प्रष्ट पारे। तिनै विनोदले राइटलाई १६ रनमा एलविडब्लु आउट गरेका थिए।
अर्को महिना दक्षिण अफ्रिकामा हुने च्याम्पियन्स लिग ट्वान्टी-२० मा गुएनाबाट खेल्ने तयारीमा रहेका कुसले आक्रामक इनिङ खेल्दा अमेरिकाले १८ ओभरमा ८१ रन जोडिसकेको थियो। १८औं ओभरमा कुसले बसन्तलाई चौका र छक्का प्रहार गरे। अर्को बलमा बसन्तले कुसलाई आफ्नै बलमा क्याचआउट गरी मीठो बदला लिए।
त्यसपछि नेपाली स्पिनरहरूले आफ्नो प्रभाव देखाउन सुरु गर्दा अमेरिका २८ ओभरमा १११-६ को स्थितिमा पुगेको थियो। तर नाडकर्णीले अमेरिकाको मध्यक्रमलाई थेगे। नेपालका अमृत, बसन्त र कामचलाउ अफ स्पिनर शरदले २/२ विकेट लिए।
source:nagarik