'अग्नीको दुर्घटना अहिलेसम्मकै अनौठो' :

काठमाडौं, भदौ ११- अग्नी एयरको जहाज दुर्घटनालाई अनुभवी पाइलट, उड्डयन अधिकारी र प्राविधिकहरूले अनौठो
मानेका छन्। उनीहरूले यो दुर्घटनालाई नेपाली उड्डयन इतिहासमै 'सर्वथा नौलो' को संज्ञा दिएका छन्।

अग्नीको ९एन एएचई डोर्नियर जहाज गत मंगलबार मकवानपुरको बस्तीपुर-२ शिखरपुरमा दुर्घटना भएको थियो। वरिष्ठ पाइलटहरूका अनुसार उक्त जहाज उडिरहेकै अवस्थामा अगाडिको भाग (नाक) भुइँतिर सोझिएर सिधै झरेको थियो। जहाज यसरी झर्दा नाकले टेकेको थियो। त्यसरी टेक्दा भुइँमा १० मिटर गोलाइ र करिब आठ फिट गहिरो खाल्डो परेको छ।

'नेपालमा हालसम्म भएकामध्ये अधिकांश जहाज दुर्घटना पहाडमा ठोक्किएर भएका थिए,' नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारीले बिहीबार नागरिकसँग भने, 'साठी वर्ष लामो हाम्रो उड्डयन इतिहासमा यस्तो खालको दुर्घटना भएको जानकारी छैन।'

दुर्घटना हुनुअघि आकासमा उडिरहेको अग्नी एयरको जहाजका क्याप्टेन लक्ष्मणप्रकाश विक्रम (लक्की) शाह र काठमाडौं विमानस्थलमा रहेको अग्नीकै अर्को जहाजभित्र रहेका क्याप्टेन तेन्जिङ लामाबीच कुराकानी भएको जानकारीमा आएको सम्बद्ध स्रोतले बतायो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत मंगलबार बिहान ७ः०६ मा लुक्लाका लागि ११ यात्रु लिएर उडेका शाहसँग लगत्तै यहाँबाट लुक्ला उड्न तयार रहेको अग्नीकै अर्को डोर्नियर ९एन एआइईमा क्याप्टेन लामा सवार थिए।

'शाह उडेदेखि लामाले उनीसँग कुराकानी गरेको टावरको फ्रिक्वेन्सीमा बेला-बेलामा सुनिएको थियो,' विमानस्थल उच्च स्रोतले भन्यो, 'तर, के विषयमा कुरा भएको थियो, त्यसबारेमा जहाजको ब्ल्याक बक्सबाट मात्र थाहा पाउन सकिन्छ।'

जहाज कम्पनीका अधिकारीले पनि आकासमा उडिरहेका शाह र विमानस्थलमा रहेका लामाबीच कुराकानी भएको पुष्टि गरेका छन्। 'दुवै पाइलटबीच लुक्लाको मौसमका बारेमा वा अन्य व्यक्तिगत कुराकानी भएको हुनसक्छ,' अग्नीका प्रमुख कार्यकारी अधिकृत गणेशचन्द्र बानियाँले भने, 'तर, उनीहरूबीच उडिरहेको जहाजको जेनेरेटर बिग्रिएको बारेमा कुनै कुराकानी भएको थिएन। यसबारेमा कम्पनीलाई जानकारी छैन।'

विमानस्थलले जहाज कम्पनीलाई पनि छुट्टै फ्रिक्वेन्सी दिएको हुन्छ। यो फ्रिक्वेन्सीमा कम्पनीका जहाज-जहाजबीचमा पाइलटहरू कुराकानी गर्न सक्छन्। तर, यस्तो कुराकानी टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले सुन्न सक्दैनन्। टावरमा फ्रिक्वेन्सी परिवर्तन गरेका बेलामा मात्र केहीछिन सुन्न सकिने प्राविधिकहरू बताउँछन्।

लामा अग्नीका प्रशिक्षक पाइलट हुन्। उता दुर्घटनामा ज्यान गुमाएका शाह पनि दुई दशकभन्दा बढी अवधि जहाज उडाइसकेका वरिष्ठ पाइलट हुन्। लामाले कम्पनीका अरु पाइलटलाई तालिम दिने गरेका छन्।

जेनरेटरमा खराबी आएको बारेमा शाहले टावरलाई जानकारी गराएको सम्बद्ध अधिकारीले बताए। उनका अनुसार दुवै पाइलटबीच भएको कुराकानी दुुर्घटनामा परेको जहाजमा रहेको 'ककपिट भ्वाइस रेकर्डर' (सिभिआर) मा रेकर्ड भएको हुन्छ। त्यसबेला जहाजको अवस्था के थियो भन्ने सबै जानकारी 'फ्लाइट डाटा रेकर्डर' (एफडिआर) मा रेकर्ड भएको हुन्छ। दुर्घटनास्थलबाट यी दुवै उपकरण हालसम्म फेला पर्न सकेको छैन।

जहाजलाई लुक्लातर्फ ३५ माइल पुर्‍याएपछि त्यहाँको मौसम खराब भएको खबर पाउनासाथ शाहले जहाज मोडेर काठमाडौंतर्फ ल्याएका थिए। काठमाडौं एटिसीहरूले जहाज यतै आइरहेको बुझे।

यहाँ टावरको निर्देशन र भुइँमा रहेका उपकरणका सहायताबाट अवतरण गर्नुपर्ने 'इन्स्ट्रुमेन्ट फ्लाइट रुल' (आइएफआर) भएका कारण उक्त जहाज आइएफआर अन्तर्गत एप्रोच गर्न काठमाडौं छिर्नु करिब आठ मिनेटअघि दक्षिणतर्फ गएको स्रोतले जानकारी दियो। 'तर, उसलाई सिमरा अवतरण गर्न भनिएको थिएन,' स्रोतले भन्यो, 'काठमाडौं विमानस्थल बन्द भएमात्र सिमरा वैकल्पिक हुन्छ, तर सिमरा खुलेको भने हुनुपर्छ।'

पाइलटले हेरेर र टावरको निर्देशनअनुसार अवतरण गर्नुपर्ने 'भिजुअल फ्लाइट रुल' (भिएफआर) सम्भव नभएपछि शाहको जहाजलाई
आइएफआर एप्रोच गर्न भनिएको स्रोतले बतायो। भिएफआर विमानस्थलको उत्तर र दक्षिण दुवैतर्फबाट गर्न सकिन्छ।

सम्बद्ध प्राविधिकका अनुसार काठमाडौं विमानस्थलमा आइएफआर एप्रोच गर्ने अन्तिम बिन्दु मकवानपुरस्थित 'नोपेन' हो। यहीँबाट शाहले जहाज मोडेर काठमाडौ. फर्किनुपर्थ्यो। तर, जहाज त्यो बिन्दुभन्दा दुई माइल पर दुर्घटनामा परेको थियो। नोपेन बिन्दु यहाँबाट १६ माइल पर छ। सिमरा भने ३९ माइल पर छ।

'शाहले आफ्नो जहाजको ब्याट्रीले काम नगरेपछि जेनेरेटर बन्द गरेर पुनः खोल्न खोजेको हुनसक्छ, तर जेनेरेटर नखुलेपछि जहाज सम्पर्कबाहिर गएको अनुमान गरेका छौं,' सम्बद्ध स्रोतले भन्यो, 'दुर्घटना टार्न जहाज ग्लाइड गरेर बसाल्न खोजेको देखिन्छ, तर सफल भएन।'

उक्त जहाजलाई १२ हजार फिट उचाइमा उड्न टावरले भने पनि त्यति उचाइमा जहाज पुग्यो वा पुगेन भन्ने अहिलेसम्म खुल्न नसकेको स्रोतले बतायो।

दुई वटै इन्जिन, ब्याट्री र जेनेरेटर एकैपल्ट फेल हुँदैन
डोर्नियर जहाजका एक वरिष्ठ इन्जिनियरले यस्ता जहाजमा रहेका दुई-दुईवटा इन्जिन, ब्याट्री र जेनेरेटर एकैपल्ट फेल हुने तर्क 'असम्भव' रहेको बताए। 'जहाजमा रहेका दुवै इन्जिन यति शक्तिशाली हुन्छन कि एउटा फेल भए पनि अर्कोले जहाजलाई पूरै नियन्त्रणमा लिन सक्छ,' उनले भने।

उनका अनुसार जहाजमा रहेका होराइजन्टल स्ट्याबलाइजरले जहाजको अगाडिको भाग (नाक) लाई उचाल्छ र बसाल्छ। त्यो उपकरण नै बन्द भएर जहाज सिधै झरेर नाकले टेकेको हुनसक्छ। डोर्नियर जहाजमा ब्याट्री, जेनेरेटर र इन्जिन सबै दुई-दुईवटा हुन्छन्। दुवै इन्जिनले एक्लाएक्लै काम गर्छन्।

आइएफआर एप्रोच गर्ने अन्तिम बिन्दु नोपेनबाट सात मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गर्न सकिने उनले बताए। 'दुवै जेनेरेटरले काम नगरेको भए पनि त्यो जहाजलाई यहाँ अवतरण गराउन सकिन्थ्यो,' ती इन्जिनियरले भने, 'नोपेनबाट एउटामात्र इन्जिन, जेनेरेटर र ब्याट्रीबाट पनि सुरक्षित अवतरण गराउन सकिन्छ। तर कसरी दुर्घटना भयो, हामी अचम्भित छौ।'

के हो ब्ल्याक बक्स?
सम्बद्ध प्राविधिकका अनुसार जहाजको पुच्छरमा 'ककपिट भ्वाइस रेकर्डर' (सिभिआर) र फ्लाइट डाटा रेकर्डर' (एफडिआर) राखिएका हुन्छन्। जहाज दुर्घटना हुँदा पनि सुरक्षित राख्नका लागि यीनलाई पुच्छरमा राख्ने गरिएको हो। यीमध्ये एफडिआरलाई 'ब्ल्याक बक्स' भनिन्छ। यो असाध्यै महत्वपूर्ण हुन्छ। यो फेला नपरेसम्म जहाजको दुर्घटनाका कारण रहस्यकै गर्भमा हुन्छ।

सिभिआरले ककपिटमा पाइलट र कोपाइलटबीच तथा पाइलटले टावरसँग गरेका कुराकानी स्वतः रेकर्ड गर्छ। ककपिटभित्र जे शब्द बोले पनि त्यसमा रेकर्ड हुन्छ। ककपिट नजिकै बसेका यात्रुले ठूलो स्वरमा बोलेको समेत रेकर्ड हुने गर्छ।

त्यसै गरी एफडिआरले जहाजको उचाइ, दिशा, दुरी, इन्जिन फेल भए वा नभएको, इन्जिनको अवस्थालगायत रेकर्ड गर्छ। ब्ल्याक बक्स डेढ फिट लम्बाइ, आधा फिट चौडाइ र एक फिट उचाइको हुन्छ। यो अति बलियो धातुबाट बनेको हुन्छ। यो जस्तोसुकै विष्फोटमा परे पनि पनि नष्ट हुँदैन। यसको भित्र ट्रान्समिटर र रेकर्ड गर्ने क्यासेट हुन्छन्। यो सुन्तला
रंगको हुन्छ। सिभिआर पनि सुन्तला रंगकै हुन्छ।

इन्जिन, जेनेरेटर र ब्याट्री
डोर्नियर जहाजका इन्जिनियरका अनुसार यस्ता जहाजमा इन्जिन, जेनेरेटर र ब्याट्री दुई-दुईवटा हुन्छन्। जेनेरेटले जहाजको सम्पूर्ण
विद्युतीय प्रणालीमा शक्ति आपूर्ति गर्छ। यिनले ब्याट्रीलाई चार्ज गर्छ। जेनेरेटर पानी तान्ने पम्प जस्तोे अलि ठूलो हुन्छ। यसको तौल १० देखि १५ किलो हुन्छ।

दुईटै जेनेरेटर एकैपल्ट फेल भए दुईवटा ब्याट्रीले आधा घन्टासम्म इन्जिनलाई शक्ति आपूर्ति प्रदान गर्छ। त्यति समयमा नजिकको कुनै विमानस्थलमा अवतरण गर्न सकिन्छ। डोर्नियर जहाजमा रहेका ब्याट्री २४ भोल्टका हुन्छन्। यिनले ४३ एम्पेयर प्रतिघन्टाको शक्ति दिन्छन्।


ब्ल्याक बक्स पाउनेलाई नगद पुरस्कार:
जहाज दुर्घटना भएदेखि ब्ल्याक बक्स खोजी भइरहे पनि भेटिएको छैन। बिहीबार पनि प्राधिकरण नायबमहानिर्देशक रतीशचन्द्रलाल सुमनको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोलीले घटनास्थलमा खोजी गरे पनि ब्ल्याक बक्स भेट्न सकेन। जहाज ठोक्किएर बनेको आठ फिट गहिरो खाल्डोबाट टोलीले एउटा इन्जिन भने निकालेको छ।

यता सरकारले ब्ल्याक बक्स नभेटिएका कारण भेट्नेलाई ५० हजार नगद पुरस्कार दिने तयारी गरेको छ। 'जति ढिलो भयो, त्यत्ति गाह्रो हुने भएकाले ब्ल्याक बक्स भेट्नेलाई पुरस्कार दिने अनौपचारिक छलफल भएको छ,' सम्बद्ध स्रोतले भन्यो, 'सिभिआर र एफडिआर दुवै भेट्नेलाई ५० हजार र एउटामात्र भेट्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिनेछौं। यसको निर्णय दुर्घटना छानविन आयोगले शुक्रबार गर्नेछ।'

ब्ल्याक बक्स भेट्नेलाई पुरस्कार दिने लागिएको यो पहिलोपल्ट हो। यसअघि जहाज दुर्घटना भएका ठाउँ पत्ता लगाउनमात्र नगद पुरस्कार दिइएको थियो। २०४९ सालमा थाई एयरवेज र केही वर्षअघि लुम्बिनी एयरवेज दुर्घटना हुँदा ठाउँ पत्ता नलागेपछि यस्तो पुरस्कार घोषणा गरिएको थियो।

source:nagarik