काठमाडौं, साउन २६ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्नबाट रोक्न भारत खुला रुपमा षड्यन्त्र भएको
भनि पार्टी चर्को आलोचनामा उत्रिएको छ। राष्ट्रिय स्वाधिनताको आन्दोलन मुख्य बनाउँदा समेत भारतप्रति नरम नीति लिएको माओवादी पछिल्लो पटक दाहाललाई प्रधानमन्त्री हुन रोकेको खुला आरोपमा उत्रेको छ।
पछिल्लो पटक भारतीय प्रधानमन्त्री मनमोहन सिंहको विशेष दूत श्यामशरण नेपाल भ्रमण आएपछि दाहाल प्रधानमन्त्री बन्ने वातावरण बिग्रिएको टिप्पणी टिप्पणी माओवादी जिम्मेवार नेताहरूबाटै गरिएको छ। अहिले पार्टीमा अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले शरणलाई एक्लाएक्लै भेटेको भनि दुई पक्षबीच आरोप-प्रतिआरोप लगाउने काम भइरहेको छ।
शरणको भेट बारे पार्टीमा चलेको विवादसँगै भट्टराई निकट मानिने बुद्धिजीवी परिषद्ले मंगलबार 'वैदेशिक हस्तक्षेप र राष्ट्रिय स्वाधिनताको रक्षा'का बारे राजधानीमा एक छलफल गरेको छ।
उक्त छलफलमा विदेश विभाग प्रमुख कृष्णबहादुर महराले भने- 'प्रधानमन्त्री चुनावमा भारतको हस्तक्षेपका कारण प्रधामन्त्री चुन्न सकिएको छैन भन्ने प्रष्ट छ। यसले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको पक्षधरलाई नबनाउने भन्ने भारतको प्रष्ट धारणा छ। ३९१ पुग्दा झलनाथ खनाललाई समेत प्रधानमन्त्री स्वीकृत नहुनुमा त्यसैको कारण हो।'
दाहाल पक्ष भट्टराईले शरणसँग एक्लै भेटनु गलत भएको आरोपमा सार्वजनिक आलोचना गर्दै आएको छ। भारतीय पक्षधरको आरोप खेपिरहेका भट्टराईले कुटनीतिक भेटघाट अध्यक्ष दाहालले समेत गरेको बताउँदै आएका छन्।
पार्टीमा अहिले राष्ट्रियताको आन्दोलन प्रमुख भएको भनि विहीबारदेखि शुरु हुने बैठकमा छलफल हुने भएको छ। 'जनवादी क्रान्ति सफल पनि भएको छैन। अहिले राष्ट्रियताको कुरा पनि आएकाले मुक्ति आन्दोलनलाई समेत आवश्यक भएको छ। भारतबाटै राष्ट्रियतामाथि खतरा भयो भन्ने पुष्टि भएको छ', एक पोलिटव्युरो सदस्यले नागरिकसँग भने।
अहिले पार्टी राष्ट्रियताको आन्दोलन अघि बढाउने भनेर कहाँबाट हस्तक्षेप भएको छ भन्ने विषय गुमराहामा पारेको आरोप ती सदस्यले बताए। 'सभासद्लाई दूतावासबाटै फोन आएर धम्कि दिएको छ। खुला रुपमा विशष दूतहरु आएर माओवादी नागरिक पार्टी हुनपर्यो भनेपछि किन जनतालाई गुमराहमा राख्ने। भारतबाटै हस्तक्षेप भयो भन्न डराउनु हुँदैन', उनले भने।
भारतले त्यस्तो नीति हुनुमा पार्टीहरुभित्र भारतीय पक्षधरको पकड हुनु उनको तर्क छ। 'अरु पार्टीमा हावि छ। त्यो प्रभाव स्वतः माओवादीमा नहुने कुरा भएन', अर्का पोलिटव्युरो सदस्यले भने- 'धेरथोर भन्ने कुरा हो। माओवादीमा नहुने भन्ने प्रश्नै हुँदैन भारतको प्रभाव।'
शरणसँगको भेटघाटको बेला उनले भनेका शब्द उद्धृत गर्दै महराले भने- 'शरणले नागरिक पार्टी हुनु पर्यो भन्छन अन्य पार्टीहरूले भने। सशस्त्र हतियारसँग भएको पार्टी नेतृत्व मान्न सक्दैनौं भनेर दलहरुले भन्छन भने। त्यो उनको बाहना हो। उनले असली रुपमा भारतको धाराण भनेका हुन।'
source:nagarik