कांग्रेस-एमाले सम्बन्ध चिसिँदो :

काठमाडौ, भाद्र १ - कांग्रेसले एमाले संसदीय दलको सोमबारको निर्णयप्रति आपत्ति जनाउँदै उसँगको सम्बन्धमा
पुनर्विचार गर्ने संकेत गरेको छ । एमाले संसदीय दलले तटस्थै बस्ने निर्णयमा अडिग रहन केन्द्रीय कमिटीलाई आग्रह गरेको थियो ।
'जिम्मेबार दलले मुलुकलाई शून्यतामा राख्नु संसदीय अभ्यास विपरीत हो,' कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले भने, 'एमालेको निर्णयले निकास दिन सक्दैन ।'
एमालेको संसदीय दलको बैठकलगत्तै कांग्रेसका पदाधिकारी र केही केन्द्रीय सदस्यको अनौपचारिक बैठकमा एमालेको निर्णयप्रति असन्तुष्टि व्यक्त भएको एक पदाधिकारीले बताए ।
एक वर्षदेखि सहयात्रा गर्दै आएका यी दुई दल सरकार निर्माणको विषयमा फरक-फरक अडानमा छन् । कांग्रेस शान्ति प्रक्रिया र संविधान निर्माणमा सहमति नजुटेसम्म राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने अडानमा छ भने एमाले राष्ट्रिय सहमतिको सरकार निर्माणपछि मात्रै शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढ्नसक्ने
अडानमा छ ।
बिहान प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि कांग्रेसले तटस्थ बस्ने निर्णयको निरन्तरताप्रति असन्तुष्ट जनाएको थियो । कार्यवाहक सभापति सुशील कोइराला, प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेल, प्रवक्ता केसी, केन्द्रीय सदस्य कृष्ण सिटौला सामेल प्रतिनिधिमण्डलले प्रधानमन्त्री नेपाललाई भेटेर आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग नगर्ने हो भने माओवादीलाई सहयोग गरेर भए पनि सरकारविहीनताको अवस्था हटाउन आग्रह गरेका थिए ।
 'कित माओवादीलाई समर्थन गर्नुहोस्, कि कांग्रेसलाई सहयोग गर्ने निर्णय गर्नुहोस् तर संसद्लाई लामो समय अनिर्णयको बन्दीमा राख्न हुँदैन भनेर हामीले कुरा राख्यौं,' केसीले भने । केसीका अनुसार जवाफमा प्रधानमन्त्री नेपालले शान्ति प्रक्रिया र संविधान निर्माणप्रतिको दृष्टिकोणमा समान रहे पनि प्रतिस्पर्धाको विकल्पमा पनि सोच्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री उम्मेदवार मैदानमा रहेकाले तत्कालै एमालेप्रतिको दृष्टिकोण सार्वजनिक नगरे पनि एमालेसँग कांग्रेसले अब निणर्ायक वार्ता गर्ने जनाएको छ । सोमबार दिउँसो तीन बजे एमाले संसदीय दलका दुई दलको बस्ने भनिएको बैठकसमेत अन्तिम अवस्थामा स्थगित भएको थियो । केसीले अन्तिम बेलामा एमालेले 'कार्यव्यस्तता' कारण जनाउँदै उपस्थित हुन नसक्ने जनाएपछि बैठक स्थगित भएको बताए । एमाले महासचिव ईश्वर पोखरेलले भने, दुवै पार्टीका नेताहरूको व्यस्तताका कारण बैठक बस्न नसकेको बताए । बिहान ११ बजेका लागि तोकिएको बैठक एमाले संसदीय दलको बैठक लम्ब्याएपछि दिउँसो राखिएको थियो । दिउँसो पनि पूर्वनिर्धारित कार्यक्रममा भाग लिनुपर्ने भएको भन्दै एमाले अध्यक्ष झलनाथ खनालले नभ्याउने जानकारी गराएपछि बैठक स्थगित भएको थियो ।

source:kantipur