पढ्न र कलाकार बन्न काठमाडौं छिरेका सीताराम कट्टेलले पाउनुसम्म दुःख पाए । हातमुख जोर्न उनले भारी
बोक्ने कामसम्म गरे । निरन्तर संघर्ष गरेर उनी कलाकारितामा जमेका हुन् । साधारण सीताराम आज टेलिभिजन सेलिबि्रटी धुर्मुस बनेका छन् । उनका केही स्मृतिः
हलो जोतेर क्यारिकेचर प्राक्टिस :
बाह्र/तेह्र वर्षको उमेरदेखि नै म घरको जिम्मेवारी सम्हाल्ने भइसकेको थिएँ । घरको सारा काम गर्थें म । बिहान ५ बजे हलो लिएर खेतमा जान्थेँ र साढे नौ बजेसम्म जोतेर स्कुल जाने गर्थें । पढ्नमा राम्रै थिएँ ।
स्कुलमा हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा मेरो क्यारिकेचर सुन्न्ा मेरा साथीहरू आतुर हुन्थे । मैले क्यारिकेचर प्राक्टिस गर्नुपर्ने हुन्थ्यो । बेलुका अरूको घरमा टिभी हेर्न जान्थेँ र बिहान हलो जोत्दा क्यारिकेचरको अभ्यास गर्थें । सन्तोष पन्त, शिवहरि पौडेललगायत धेरैको हुबहु क्यारिकेचर गर्थें । घरमा प्राक्टिस गर्यो भने छोरो बौलायो भन्थे । त्यसैले खेतमै प्राक्टिस गर्थें । स्कुलमा शुक्रबार हुने कार्यक्रममा मैले प्रस्तुत गर्ने क्यारिकेचरजति सबै हलो जोत्दै बनाउँथेँ । हुँदा-हँुदा, स्कुलका शिक्षकका पनि हुबहु क्यारिकेचर गर्न सक्ने भएँ । एक दिन स्कुलका एकजना शिक्षकको नक्कल गरेर प्रहसन बनाएँ । सबै मरी-मरी हाँसे । शिक्षक पनि हाँसे । प्रस्तुति सकिएपछि स्याबासी दिनुहुन्छ होला भन्ठानेको त 'मेरै नक्कल गर्नुपर्छ' भनेर मर्नेगरी पिट्नुभयो । म न रुन सकेँ, न हाँस्न ।
काठमाडौं आएकै दिन दरबार हत्याकाण्ड:
एसएलसी फस्ट डिभिजनमा पास गरे । क्याम्पस पढ्ने र कलाकारितामा केही गर्ने अठोट बोकी काठमाडौं आउने योजना बनाएँ ।
तर, मलाई काठमाडौं पठाउन सक्ने अवस्था थिएन । घरछेउमै रहेको क्याम्पस पढ् भन्थे । तर, मेरो मनले मानेन । बुबासँग बल्ल-बल्ल १७ सय रुपैयाँ फुत्काएँ । दाइ ऋषिराम र म नाइटबस चढेर काठमाडौं आयाँै । भोलिपल्ट बिहान काठमाडौं टेक्दा त इतिहासमै सबैभन्दा कहालिलाग्दो समाचार सुन्नुपर्यो- राजा वीरेन्द्रको सपरिवार हत्या भएको । हामीलाई त विश्वासै लागेन । कलंकीबाट गाडी अगाडि बढेन । पहिलोचोटि काठमाडौं आएका हामी, कहाँ जाने केही थाहा छैन ! त्यसदिन हिँडेर कोटेश्वरमा आफन्तकहाँ गएर बस्यौँ ।
सन्तोष पन्तको गाली र धाप:
सन्तोष पन्तले खेलेको वेस्टर्न युनियन मनि ट्रान्सफरको विज्ञापनको म हुबहु नक्कल गर्थें । त्यतिवेला सन्तोष दाइको कार्यक्रम 'हिजोआजका कुरा' सुपरहिट थियो । त्यस कार्यक्रममा खेल्ने ठूलो धोको थियो । ऋषिरामलाई लिएर म सन्तोष दाइको घर जान हिँडेँ । धापासी जाने गाडी चढ्यौँ । संयोगवश म हास्यकलाकार खेम शर्मा बसेको सिटमा बस्न पुगेछु । फिल्म र टिभीमा देखिने मान्छे
आफ्नैअगाडि हुँदा म त बोल्नै सकिनँ । ऋषिरामलाई इशारा गरेर खेम दाइसँग कुराकानी सुरु गर्न भनेँ । उसले बोल्न सुरु गरेपछि म पनि खेम दाइसँग बोल्न थालेँ । उनले भने- 'सन्तोष पन्तलाई खेम शर्माले पठाएको भन्नू ।' हामी खुसी हुदै धापासीस्थित सन्तोाष दाइको घर पुग्यौँ । उनको घरमा काम गर्ने मान्छेलाई सन्तोष दाइलाई बोलाइदिन आग्रह गर्याँै । तर, ऊ झर्कियो । एक/डेढ घन्टा बितिसक्दा पनि सन्तोष दाइसँग भेट्नै पाइएन । दुई घन्टापछि उनी घरबाहिर निक्लिए र सीधै गाडी चढ्न गए । हामी पछि लाग्यौँ । उनलाई 'हामी झापादेखि आएको र खेम शर्माले पठाउनुभएको' मात्रै के भनेका थियौँ, उनले हाम्राे सातो जानेगरी थर्काए । टाइम-कुटाइम आउने ? भन्दै छाडा पनि बोले । हामी त छाँगाबाट झरेभै"m भयौँ । कुरा के रहेछ भने हिजोआजका कुराका लागि सोमबार कलाकार छानिँदोरहेछ । हामी पुगेका थियौँ, बिहीबार । त्ौपनि, घरमै पुगेको मान्छेलाई त्यस्तो व्यवहार गर्छन् भन्ने लागेको थिएन । पछि, हिजोआजका कुराले ५ सय भाग पूरा गरेको उपलक्ष्यमा चितवनमा सन्तोष दाइलाई सम्मान गर्ने कार्यक्रममा हामीले एउटा प्रहसन गर्ने अवसर पायौँ । हाम्रो प्रस्तुतिमा सन्तोष दाइ यति हाँसे कि पछि ड्रेसिङ रुममै आएर मलाई धाप मारे । उनीसँग जोडिएका यी घटनालाई मैले प्रेरणाका रूपमा लिएको छु । म उनलाई सदा सम्मान गर्छु ।
जँड्याहाको कुटाइले फुटेको ज्वरो:
खेम शर्माको सहयोगमा झमेला नामक सिरियल खेल्ने अवसर जुर्यो । तर, सात दिन धाएर पुलिसको रोल पाएको थिएँ । भद्रकालीमा सुटिङ भएको थियो, राति । मलाई सबैभन्दा पछाडि राखियो । संवाद पनि केही थिएन । तैपनि, टिभीमा अनुहार त देखिने भयो भनेर खुसी नै थिएँ । तर, सिरियल प्रसारण हुँदा त मेरो नामोनिशान थिएन । अँध्यारोमा म देखिँदै देखिइनँ । टेलिफिल्म खेल्न धाउँदाधाउँदै खान र कोठाभाडा तिर्न धौ-धौ भयो । कलंकीमा एउटा कम्पनीमा काम गर्न थालेँ । बिहान ८ बजे थापाथलीबाट हिँडेर कलंकी पुग्थेँ । दिनभरि भाँडाकुँडा बोकेर बेच्न हिँड्थँे । कराई, मैनबत्ती स्ट्यान्ड र ग्यास-पाइप आदि बेच्ने गथेर्ं । दिनभरि हिँड्दा भोक लाग्थ्यो, पैसा हुँदैनथ्यो । एकदिन मैतीदेवीमा एउटा पसलमा मैनबत्ती स्ट्यान्ड बेच्न खोज्दै थिएँ, एकजना जँड्याहाले नक्कली सामान बेच्छस् भन्दै कुटपिट गर्यो । रातभरि ज्वरो आयो । भोलिपल्ट काम गर्दिनँ भनेर सामान बुझाउन कलंकी गएँ । त्यत्रो समय काम गरेको जम्मा ८ सय रुपैयाँ पाएको थिएँ ।
धनकुटे एक्सप्रेसमा केसी जोडी:
नेपाल आर्ट्स कलाकेन्द्र्र, पुतलीसडकमा जितु नेपालले गीताञ्जली कार्यक्रमका लागि स्त्रिmप्ट लिएर आऊ भनेका थिए । केदार घिमिरे(मेरी बास्सैका माग्नेबुढा) लाई पनि त्यसै भनिएको रहेछ । म त्यहाँ पुग्दा केदार आइसकेका रहेछन् । मलाई देख्नेबित्तिकै अलिकति झस्किए, उनी । कारण- केही दिनपहिले उनले कीर्तिपुरमा मेरो सडक नाटक हेरेका रहेछन् । त्यहाँ मैले बेस्सरी हँसाएको थिएँ । हाम्रो कुराकानी भयो । उनले जोडीको प्रस्ताव राखे । तर, मैले तत्कालै निर्णय दिइनँ । हाम्रो भेट निरन्तर हुन थाल्यो । एकदिन जितु दाइले फोन गरेर 'भृकुटीमण्डपमा कार्यक्रम छ, तिमी र अरू कोही भएर प्रहसन गर्नू' भने । मैले केदारलाई खबर गरे । 'धनकुटे एक्सप्रेस' नामक प्रहसन मन्चनसँगै 'केसी (केदार, सीताराम) जोडी' को घोषणा गरियो । त्यसपछि हाम्रा गुरु जितु दाइले हामीलाई गीताञ्जली लेख्ने र खेल्ने काम दिए । दमन रूपाखेती दाइको नेपाल वानको कार्यक्रम लोकलहरीमा पनि काम गर्ने मौका पायौँ । त्यसपछि टेलिफिल्म जिरेखुर्सानीमा पनि ६८ भागसम्म काम गर्यौँ । र पछि, दमन दाइसँग मिलेर तीनजनाले 'मेरी बास्सै' सुरु गर्यौँ । केदार मभन्दा उमेरले मात्र जेठो होइनन्, हरेक कुरामा पाका छन् । हाम्रो जोडी बनेको सात वर्ष भइसक्यो । यस अवधिमा हामीबीच कहिल्यै नराम्रो भएन ।
'कान्तिपुर'ले कमेडियन बनायो:
राष्ट्रिय नाचघरमा अभिनय कक्षा सञ्चालनका लागि नेपालभरिबाट विद्यार्थी मागिएको थियो । मैले पनि अभिनय सिक्न र्फम भरेँ । ४ सय हाराहारीका अभिनय सिक्न चाहनेबाट २० जना छान्न अशेष मल्ल, मदनदास श्रेष्ठ, भुवन चन्दले अन्तर्वार्ता लिएका थिए । मेरो अभिनय, क्यारिकेचर देखेर सबै प्रभावित भएका थिए । अझ मदनदास दाइ त अत्यन्तै प्रभावित ! उनले मलाई रेडियो नेपालमा जागिर लगाइदिने आश्वासन दिए । उनले मेरो दुइटा फोटो मागे र आफ्नो घरको नम्बर दिए । एक सातापछि तिम्रो जागिर पक्का ! भने । म खुसीले गद्गद् भएँ । साता बित्यो, उनले फोन गरेर 'तिम्राे नियुक्तिपत्र बनिसक्यो, सही गर्ने मान्छे पन्जाव गएको छ, एक सातापछि सम्पर्क गर्नू' भने । यता नाचघरमा पनि मेरो नाम निस्केन । मदनदास दाइलाई फेरि फोन गरेँ । उनले 'तिम्रो रेडियोमा जागिर पक्का छ, नाचघरमा जागिर किन चाहियो ?' भने । १५ दिनपछि उनलाई फेरि फोन गरेँ, उनले फेरि 'अर्को साता' भने । भानुभक्तको भोलि-भोलि भन्ने कविताझैँ पो भयो, गाँठे ! यसरी धेरै साता बिते । पछि, उनले 'मैले तिम्रो ठेक्का लिएको छु र ?' भनेर हपारे । साह्रै नरमाइलो लाग्यो । तैपनि, मैले मदनदास दाइलाई आफ्नो प्रेरणा-स्रोत मानेको छु ।
मेरा आदर्श हरिवंश र मदनकृष्ण:
मैले जीवनमा पहिलोचोटि हेरेको टेलिसिरियल हो- महद्वारा निर्देशित/अभिनीत 'कान्तिपुर' । हाँस्दा-हाँस्दा आँसु नै आएको थियो । त्यही सिरियलले मलाई हास्य-व्यंग्यतिर लाग्ने प्रेरणा मिलेको थियो । त्यसअघि गाउँमा धेरै नाटकमा भिलेनको अभिनयमा जमेको थिएँ । 'कान्तिपुर'ले मलाई पूरै कमेडियन बनाउन मद्दत गर्यो । हरिवंश दाइको वडाध्यक्षको भूमिकाको मेलै पहिलोचोटि क्यारिकेचर गरेको थिएँ । हरिवंश दाइले ८ वटा टेलिसिरियलमा गरेका ८ भूमिकाको मैले 'मेरी बास्सै'मा क्यारिकेचर गर्ने कोसिसा गरेको थिएँ । धेरै मिहिनेत गरेर एउटै प|mेममा ८ जनाको भूमिका गरेको थिएँ । ३ भाग प्रसारण भइसकेपछि हरिवंश दाइले आफँै फोन गरेर मलाई बधाई दिनुभयो । त्यो क्षण म कहिल्यै भुल्दिनँ । हरिवंश र मदनकृष्ण दाइ हास्य सम्राट् हुन् । उनीहरू मेरा आदर्श हुन् ।
हिट भएपछि पनि गुमनाम:
मेरी बास्सै लोकपि्रय भइसकेपछि धेरै जिल्लामा कार्यक्रम गर्यौँ, हामीले । बुटवल महोत्सवमा केदार, कुन्जना, बान्दे्र र म गएका थियौँ । ५० हजारजतिको भीड थियो । आयोजकले हामीलाई कार्यक्रमस्थलतिर लैजाँदै थिए । कुन्जना र केदार आयोजकसँगै भित्र छिरिहाले । म र बान्द्रेचाहिँ रोकियौँ । पुलिसले नचिनेर जानै दिएन । वास्तविक जीवनमा म आफूले अभिनय गर्ने चरित्र धुर्मुसभन्दा विल्कुल भिन्न छु । त्यसैले मलाई बाहिर कमैले मात्र चिन्छन् । मैले पुलिसलाई म कलाकार हुँ भनेँ । उनीहरू 'को कलाकार ? ठोक्' भन्न थाले । मैले हजुर 'म धुर्मुस हु' भन्दै धुर्मुसको अभिनय गरेपछि मात्रै मलाई बल्ल चिने । र कार्यक्रमस्थलमा छिर्न दिए ।
रिलमा मात्रै होइन, रियलमै एकसाथ:
लौन सतायो सिरियलमा दमन रूपाखेतीले केदार र मलाई प्रोडक्सनको जिम्मा दिएका थिए । सुटिङको सामान गाडीमा हाल्न जाँदा कुन्जना मेकअप गर्दै रहेछिन् । उनको र मेरो पहिलो भेट त्यहीँ भएको थियो । त्यसपछि, हाम्रो भेटघाट बाक्लिन थाल्यो । दमन र केदारले मलाई जिस्क्याउन थाले । म पनि उनीप्रति मनमनै प्रभावित भइसकेको थिएँ । पछि, 'मेरी बास्सै' निर्माणको कुरा उठ्यो । उनी मेरै प्रेमिकाको भूमिकामा चयन भइन् । सँगै काम गर्ने अवसर मिल्यो । धुर्मुस र सुन्तलीको भूमिका हिट भयो । कार्यक्रममा सँगै हिँड्न थालियो । सबैले जिस्क्याउन थाले । कहीँ-कहीँ त दाजु नमस्कार, भाउजू नमस्कार पनि भन्थे, मान्छेहरू । अति भएपछि मैले प्रेम-प्रस्ताव राखेँ । केही समय उनले यत्तिकै टारिन् । तर, पछि कुरा मिल्यो । हाम्रो बिहे भयो ।
सानोमा सबैभन्दा लद्दु:
सानोमा म जतिखेर पनि रोइरहने भएकाले बुबा मलाई टिपेर कैयौँपटक फालिदिन्थे रे ! अलि-अलि बुझ्ने हुदासमेत मलाई बुबाले टिपेर फालेको याद छ । सोलुखुम्बुको नेचाबेतघारी- ५ मा जन्मेको हुँ । त्यहाँ रहँदा म एकदमै लद्दु थिएँ । पढाइमा पनि लद्दु, अरूमा पनि लद्दु । असाध्यै सोझो र डरपोक थिएँ । साथीले मेरो निधारमा ब्लेडले चिरिदिँदासमेत उसलाई गाली गर्ने हिम्मत हुँदैनथ्यो ।
source:nayapatrika